पशुपतिनाथको जलहरी प्रकरणमा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित होइनः प्रधानमन्त्री दाहाल

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसदमा अभिव्यक्ति दिनु उचित नभएको बताउनु भएको छ ।

पार्टीका सांसद लेखनाथ दाहालले सो प्रकरणबारे ओलीलाई जोडेर संसदमा दिएको अभिव्यक्ति उचित नभएको प्रधानमन्त्री दाहालको स्विकारोक्ति थियो । शनिबार प्रतिनिधिसभा बैठक सूरु हुने वित्तिकै एमाले सांसदहरुले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले त्यसबारे जवाफ दिन प्रधानमन्त्री दाहाललाई समय दिनु भएको थियो ।

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसदका रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराउनु भयो । उहाँले सो प्रकरणबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको र स्वतन्त्र तथा निष्पक्ष छानविन हुने आश्वासन समेत दिनु भयो ।

प्रधानमन्त्री दाहालले भन्नु भयो, ‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ । पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानविन, अनुसन्धान भईरहेको छ । यस विषयमा अख्तियार दूरपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानविन गर्नेनै छ । यसमा सरकारको सहयोग रहनेछ । पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धि उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम आज नै रहेको छ । बाँकि विस्तृत रुपमा म त्यतिबेला नै कुरा राख्नेछु ।’

प्रधानमन्त्री दाहालले सो प्रकरणबारे छानविन गर्न अख्तियार दूरुपयोग अनुसन्धान आयोगलाई सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । उहाँको सो जवाफ दिएपछि अहिले संसद बैठक सूचारु भएको छ । एमालेले सो प्रकरणमा पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता ओलीलाई मुछेको भन्दै शुक्रबार (हिजो) प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?