ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा १९४औं कविता यात्रा सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ज्योति साहित्य प्रतिष्ठानको आयोजनामा १९४औं कविता यात्रा कार्यक्रममा ‘चिया कविता’को (शृंखला-२) ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका-३ इमाडोलस्थित बोझेपोखरीमा शिखर कवि शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गजल माली ज्ञानुवाकर पौडेलका साथै कवि, उपन्यासकार, निवन्धकार निर्मोही व्यास विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा वरिष्ठ कविहरू कृष्ण प्रधान, दिव्य गिरी, महेश प्रसाईं, नारायण तिवारी, श्रीराम पौडेलको पनि गरिमामय उपस्थिति थियो ।

चियाको चुस्कीसँगै सुधा मिश्रले सञ्चालन गरेको कार्यक्रममा नेपाली साहित्याकाशका जल्दाबल्दा कविहरू भवानी खतिवडा, यमुना प्रधानांग, पवित्रा अधिकारी, रञ्जु दाहाल, श्रीराम पाण्डे, नानीमैयाँ अधिकारी, लक्ष्मीदास मुस्कान, कृष्णबहादुर विष्ट, सनोज श्रेष्ठ, राजेश्वरी काफ्ले, सुधा शर्मा, बुद्धिमान महर्जन, विमुन्स पौडेल र सुधा मिश्रसहित दुई दर्जन कविहरूले कविता वाचन गर्नुभएको थियो ।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहको सभापतित्वमा सम्पन्न उक्त चिया गोष्ठीमा प्रमुख शिखर कवि शैलेन्द्र साकारले कविता उपदेशात्मकभन्दा पनि सन्देशमूलक र प्रभावकारी हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो ।

यसैक्रममा साकारले ‘सडक कविता क्रान्ति’, ‘बूट पालिस आन्दोलन’, गन्तान्त्रिक आन्दोलनको सम्झना गर्दै कविता वाचन गर्नुभयो । विशिष्ट अतिथि गजल माली ज्ञानुवाकर पौडेलले कार्यक्रम उपस्तिथि र कविता वाचन दुवै दृष्टिले उत्कृष्ट रहेको र अग्रज शैलेन्द्र साकारको उपस्थितिले ३०/४०को दशकको साहित्यिक वातावरणको सम्झना ताजा गराएको कुरा सुनाउँदै गजल वाचन गर्नुभएको थियो ।

सभापति मणिराज सिंहले यस प्रकारको ‘चिया कविता’ सिक्किमतिर सञ्चालन हुनेगरेको र ज्योति प्रतिष्ठानले पनि साहित्यलाई गाउँस्तरसम्म लैजानको निम्ति सिक्किमका चिया कविता आयोजकहरूको सहमतिमा नेपालमा ‘चिया कविता’ शृंखलाको आयोजना गरिएको जानकारी गराउनुभयो । सुधा मिश्रले सञ्चालन गर्नुभएको कार्यक्रमको प्रायोजन स्थानीय कविद्वय बुद्धिमान महर्जन र कृष्णबहादुर विष्टले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?