काठमाडौं । चारदिने औपचारिक भारत भ्रमणको क्रममा दक्षिण छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज महत्वपूर्ण राजनीतिक भेटवार्ता गर्दै हुनुहुन्छ । भ्रमणको दास्रो दिन आज प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुनेछ । प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे १० बजे महात्मा गान्धीको समाधिस्थल राजघाटमा पुष्पगुच्छा अर्पण गर्न पुग्नुहुने छ । लगत्तै प्रचण्ड भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न ११ बजे हैदराबाद हाउस पुग्नुहुने छ । हैदराबाद हाउसको नीलगिरि कक्षमा मोदीसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता हुनेछ । दुई नेताबीच एक्लाएक्लै भेटवार्ता हुनेछ । त्यसका लागि बिहान ११ बजेर पाँच मिनेटदेखि ११ बजेर ३५ मिनेटको समय छुट्याइएको छ । त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्रीसहित द्विपक्षीय भेटवार्ता हुनेछ ।
मध्यान्ह १२ बजे ‘एक्सचेन्ज अफ एग्रिमेन्ट’को कार्यक्रम र त्यसपछि १२ बजेर २० मिनेटमा केही परियोजनाको संयुक्त उद्घाटन र लगत्तै संयुक्त पत्रकार सम्मेलन हुनेछ । त्यसपछि प्रचण्डको सम्मानमा भारतीय समकक्षी मोदीका तर्फबाट हैदराबाद हाउसमा दिइएको दिवाभोजमा नेपाली डेलिगेसनको सहभागिता रहनेछ । २ बजे हैदराबाद हाउसबाट प्रधानमन्त्री प्रचण्ड आफू बसेको होटलका लागि प्रस्थान गर्नुहुने छ ।
भ्रमणको क्रममा दीर्घकालीन ऊर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कनेक्टिभिटी र कृषिमा सहयोगलगायत विषयमा सम्झौता र सहकार्यका लागि छलफल हुने परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभएको छ । त्यस्तै, प्रधानमन्त्री तहमा सीमा समस्याका सवालमा कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले उपराष्ट्रपति जगदीप धनखडसँग ४ बजे र राष्ट्रपति द्रौपदी मुर्मूसँग साढे ४ बजे शिष्टाचार भेट गर्ने कार्यसूची छ । बेलुका साढे ५ बजे नेपाल र भारतका उद्योगी व्यवसायीको संयुक्त कार्यक्रममा दाहाल केहीबेर उपस्थित हुनुहुने छ । त्यहीदिन औपचारिक कार्यक्रमबाहेक प्रधानमन्त्री प्रचण्डले आफू बसेको होटलमै विभिन्न व्यक्तिसँग भेटघाट गर्ने कार्यक्रम छ ।
भारतीय राज्यमन्त्री लेखीद्वारा स्वागत
चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको छ । लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो । प्रधानमन्त्री प्रचण्डको भ्रमणबारे औपचारिक जानकारी दिँदै भारतका लागि नेपाली राजदूत शंकर शर्माले विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गर्नुभएको ट्वीटरमार्फत औपचारिक जानकारी दिनुभएको छ । यसअघि २०७८ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गर्नुभएको थियो । बुधबार अपराहृन २ बजेर ५० मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएका प्रधानमन्त्री प्रचण्ड विमानस्थलमा स्वागत कार्यक्रमपछि साढे ३ बजे सरदार पटेल मार्गमा रहेको होटल आइटिसी मौर्यमा पुग्नुभएको थियो । प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो १ः२५ बजेको नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत जानुभएको हो । प्रधानमन्त्री प्रचण्डलाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो ।
चारदिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग भ्रमणको पहिलो दिन भारत सरकारका विदेश सचिव विनयमोहन क्वात्रा र सुरक्षा सल्लाहकार अजित डोभालले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीलाई भेट्न क्वात्रा र डोभाल नयाँदिल्लीस्थित मौर्य होटल पुग्नुभएको थियो । भेटमा दुई देशको सम्बन्धलगायत विविध विषयमा छलफल भएको बताइएको छ । भारतका विदेशमन्त्री एस जयशंकर भने अहिले भारतबाहिर रहनुभएको छ । प्रधानमन्त्रीको सम्मानमा दिल्लीस्थित नेपाली दूतावासले बुधबार रात्रिभोज आयोजना गरेको छ । रात्रि भोजमा प्रधानमन्त्री दाहाल साँझ ७ बजे पुग्नुभएको थियो । रात्रि भोजमा त्यहाँ रहेका नेपाली समुदाय, नेपालसँग सरोकार राख्ने केही भारतीय राजनीतिज्ञ, कूटनीतिक क्षेत्र र मिडियाकर्मी सहभागी भएका थिए । प्रधानमन्त्री नियुक्त भएको पाँच महिनापछि प्रधानमन्त्री प्रचण्डले बुधबार चारदिने भारत भ्रमणको तय गर्नुभएको हो । गत पुस १० मा तेस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । भ्रमण टोलीमा पाँचजना मन्त्री, सरकारी ४७, निजी उद्योग व्यवसाय क्षेत्रका ४१, मिडिया प्रतिनिधि, डेढ दर्जन सचिव तथा सहसचिव सहभागी छन् ।
भारत भ्रमणको तेस्रो दिन शुक्रबार प्रधानमन्त्री प्रचण्ड मध्यप्रदेशको उज्जैन र इन्दोर जाने कार्यक्रम छ । बिहान साढे ८ बजे प्रचण्ड विमानबाट इन्दोर प्रस्थान गर्नुहुनेछ । अपराहृन १ बजे प्रधानमन्त्रीको टोली इन्दोरको होटल मेरियट पुग्नेछ । अपराहृन ४ बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग प्रधानमन्त्रीको भेटघाट हुनेछ । प्रधानमन्त्री प्रचण्डले इन्दोरमा रहेको फोहोर व्यवस्थापन प्लान्ट हेर्ने कार्यक्रम छ । भारतमा इन्दोर सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट सहरका रूपमा चिनिन्छ । त्यही दिन मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले दिएको रात्रि भोजमा प्रधानमन्त्री प्रचण्ड सरिक हुने कार्यक्रम छ । त्यहाँ भारतीय जनता पार्टी र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का नेताहरूसँग प्रधानमन्त्रीको भेटघाटको सम्भावना छ ।
चौथो दिन शनिबार प्रधानमन्त्री दाहालले इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ । शनिबार अपराहृन १ बजेको विमानबाट प्रधानमन्त्री नयाँदिल्ली प्रस्थान गर्नुहुनेछ । दिल्लीस्थित इन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टाभन्दा बढी समय व्यतित गरेर प्रधानमन्त्री प्रचण्ड अपराहृन ४ बजेर २० बजे नेपाल एयरलाइन्सको विमानबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यसूची रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच