नयाँ पुस्ताको अग्रणी साहित्यकार : नेत्रबहादुर कुँवर

विनोद दाहाल वत्स
Read Time = 30 mins

उहाँ भरखरकै देखिनुहन्छ तर भाषा साहित्यसम्बन्धी काम उमेरभन्दा निकै नै बढी गरेको कुरा थाहा पाउँदा केही अचम्म लाग्यो । हामी कपनको फैका क्षेत्रमा बसोवास गर्दै आएका छौं । नारायण नेपालको बसोबास पनि यतै नै हो । उहाँ कहिलेकाहीँ हाम्रो वरिपरि आएर हामीलाई फोन गर्नुहुन्छ र बाहिर बोलाउनुहुन्छ । कतै बसेर हामी चिया खाने गर्छौं । त्यसरी उहाँले बोलाएका बेला हामी प्रायः फैकाको कुनै होटलतिर बस्ने गर्छौं । त्यस्तो बेलामा उहाँसँग कोही नयाँ मानिस पनि हुने गर्छन् ।

उहाँको यस्तो बेलाको अभिप्राय हामीसँग तिनै नयाँ मानिससँग परिचय गराउने रहेको हुन्छ । यसरी उहाँका माध्यमबाट हाम्रो धेरै मानिससँग परिचय भइसकेको छ । यसरी परिचय भएकाहरूमा नेत्रबहादुर कुँवर पछिल्लो हुनुभयो । कुरा गर्दै गइयो । उहाँले आफू बाराको हुँ भन्नुभयो अनि उहाँको पुख्र्यौली थलोबारे जान्ने जिज्ञासा भयो । उहाँ काभ्रे भुम्लु चौबास पुख्र्यौली भएको मानिस हुनुहुँदो रहेछ । त्यसपछि फेरि केही चासो थपिँयो नै । भुम्लुका तारबहादुर कुँवर हाम्रा पूर्वपरिचित र ‘अन्तरंग’ शीर्षकमा आइसकेको मानिस, उहाँका बारेमा केही बताएर नेत्रबहादुर कुँवरसँग यो प्रसंग जोड्न खोजियो ।

उहाँहरू एउटै भाइबृन्दालोका हुनुहुँदो रहेछ । तत्काल ताराबहादुरसँग त्यहीबाट फोन सम्पर्क गरेर एकछिन रमाइलो गफ पनि गरियो । यही क्रममा नेत्रबहादुर कुँवरलाई हाम्रो प्रकाशोन्मुख पुस्तकमा जोड्ने योजना बन्यो । हामीले राखेको यस प्रस्तावमा उहाँको पनि सहमति भयो । कपन फैकाको एउटा कफी हाउसमै बसेर उहाँसँग अन्तरसंवाद गरियो । उहाँ, नारायण नेपाल अनि हामी लेखकद्वय तिलक लुइँटेल र विनोद दाहाल वत्स ।

वर्तमान शिक्षा प्रणालीमा रहेभएका कमजोरीलाई हटाउन व्यावहारिक ढंगले योजनाबद्ध किसिमले सिकारुमैत्री, सिकारुकेन्द्री शिक्षाविधिको प्रयोग र शिक्षामा भएको संकटकालीन अवस्थाको अन्त्य गर्दै प्रष्ट धारणा कार्यान्वयन गर्नुपर्ने सुझाब दिनुहुन्छ उहाँ । उहाँ अन्य शिक्षाविद्ले भनेजस्तै त्रिआयामिक जिम्मेवारीसहित सिकाइविधि प्रयोग गरिनुपर्छ भन्नुहुन्छ ।

चैतको पहिलो हप्ता भइसकेको थियो । शहरमा त्यति हरियाली देख्न पाइँदैन र ऋतुकालीन चराहरूको तान सुन्न पनि पाइँदैन तैपनि वसन्त ऋतु भएको हुँदा एकातिर मानिसको मन त्यसै पनि चञ्चल हुने नै भयो अर्कातिर जे जति बोटबिरुवा देखिन्थे तिनमा वसन्त ऋतु जनाउने पालुवाहरू पलाउँदै थिए । २०७९ सालमा हिउँदे झरी परेन । पुस, माघ र फागुन त्यत्तिकै बितेका थिए । चैत महिनामा भने पानी पर्‍यो । बाहिर त्यस्तै झम्केझरी परिरहेका बेला हामीले फैकाको एउटा कफी हाउसमा मिठो कफी खाँदै अन्तरसंवाद गरेका थियौं ।

नारयायण नेपालले सधैंझैँ फोन गरेर बोलाउनु भएपछिको जमघट थियो त्यो । सधैँको झैँ नारायण नेपालसँग त्यहाँ एकजना मानिस हुनुहुन्थ्यो । औपचारिक परिचय भएपछि थाहा भयो उहाँ नेत्रबहादुर कुवँर हुनुहुँदो रहेछ । त्यसपछि उहाँसँग धेरै कुराको सोधखोज गरियो । कुवँरहरू राणा खलकका हुने नै भए । उहाँ पनि राणा खलककै हुनुहुँदो रहेछ । पारिवारिक र राजनीतिक किचलो अनि हत्याहिंसाको राजनीतिका कारण रणेद्दिप सिंहको हत्या भएको थियो । धीरशमशेरका १७ भाइ छोराहरूले माहिलाबा रणेद्दिपको हत्या गरेर शासन आफ्ना हातमा लिएका थिए । १९४२ सालमा सुरु भएको शमशेर खलकको शासन साठी वर्षसम्म चलेको थियो ।

धीरशमशेरका १७ जना छोरामध्ये वीरशमशेर, देवशमशेर, चन्द्रशमशेर, भीमशमशेर र जुद्धशमशेरले शासन गरे । त्यसपहिले पहिलो पुस्ताका जंगबहादुर राणा र रणोद्दिप अनि जुद्धशमशेरपछि तेस्रो पुस्ताका पद्मशमशेर र मनोहनशमशेर गरी जम्मा नौजना राणाहरूले १०४ वर्षसम्म नेपालमा शासन गरेका थिए । कुँवर भनेपछि यतैकतै जोडिने रक्तसमूह हो भन्ने ठान्दा निश्चय अन्यथा हुनेछैन । त्यतै कतै भेटिनु होला नेत्रबहादुर कुँवर पनि । ऐस, आराम, भोग, विलास र छलकपट राणाशासनका विशेषता हुन् । शासनभित्र पर्न नसकेका अथवा शासकको बक्र दृष्टिबाट जोगिने क्रममा धेरै मानिस लाखापाला लाग्नु स्वाभाविक हो ।

यसरी नै काभ्रेको भुम्लु पुग्नुभएको हो उहाँका पूर्वजहरू तर मानिस एकै ठाउँमा बसिरहँदैन बसाइँ सरिरन्छ । कहिले अवसरको खोजीमा कहिले गरिबीको चपेटामा परेर त कहिले धनीहरू आफ्नो सम्पत्ति थान्को लाउने क्रममा । यसैगरी काभ्रेपलाञ्चोकको भुम्लु छोडेर उहाँका बाउबाजे मधेस झर्नुभयो बारा जिल्लाको सिमरा । त्यहीँ जन्मिनुभयो नेत्रबहादुर कुँवर । बाराको सिमरा हाल निकै चर्चामा रहेको ठाउँ हो तर पहिले यो ठाउँ सुगम थिएन । दुर्गम भए पनि मधेसमा प्रसस्त उब्जनी हुने खेत हेरेर पहाडबाट मानिस बसाइँ झर्ने गर्थे । यही हालको जितपुर सिमरा उपमहानगरपालिका वडा नं-१६ मा २०४४ साल असार २८ गते नेत्रबहादुरको जन्म भयो ।

अहिले सिमरा राष्ट्रिय चासो र चर्चामा छ । त्यहाँ बन्ने भनिएको अन्तर्राष्ट्रिय विमनस्थलका कारण र समय क्रममा हुने परिवर्तन दुबै कारणले यसो भएको हो । केशरबहादुर कुँवर र नानीमैयाँ कुवरका दुई जना छोरामध्ये नेत्रबहादुर जेठा हुनुहुन्छ । उहाँका भाइ नरबहादुर कुँवर वैदेशिक रोजगारीका सिलसिलामा हाल युएई दुवैमा हुनुहुन्छ । शिक्षण र लेखनलाई आफ्नो रुचिका कारण यिनैलाई पेशाका रूपमा अपनाउँदै आउनु भएका कुँवर हाल रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारी काठमाडौंमा अध्यापनरत हुनुहुन्छ ।

‘विद्यार्थीलाई कोरा किताबी ज्ञानभन्दा नैतिक शिक्षा दिनु जरुरी छ । व्यवसाय र सीपमात्र होइन, ज्ञान र नैतिकता पनि महान् कुरा हुन् भन्ने चेतना घरैबाट विकसित गरिनुपर्छ । अभिभावकले पनि बालबालिकालाई आफ्ना मान्यजन, गुरुजन, आफन्त, अनुजप्रतिको कर्तव्यबारे सचेत गराउनुपर्छ’ उहाँ भन्नुहुन्छ ।

विवाह लेखेअनुसार हुन्छ भनेर हाम्रा धर्मशास्त्रले भनेका छन् । मनुस्मृतिले पनि यसै भनेको छ । हुनसक्छ धेरैको यस्तै देखिएको छ । नेत्रबहादुरको पनि विवाह यसरी नै भएको हो भन्दा फरक नपर्ला । ओखलढुंगाकी बिन्दा खड्कासँग उहाँको विवाह भएको कारण यसो भन्न सकिन्छ । जन्मदै सूर्य भगवानले जोडाजोडी तोकिदिएका हुन्छन् भनिएको छ धर्मशास्त्रहरूमा । त्यसैले बारा जितपुरका कुँवर र ओखलढुंगा ज्यामिरेकी बिन्दा खड्काका बीच २०७० सालमा वैवाहिक सन्बन्ध कायम हुनपुग्यो । उहाँहरूका एकजना छोरा अंशुमनजंग कुँवर र नवजात छोरी युवराज्ञी हुनुहुन्छ ।

नेपालका ४० वटा जति जिल्ला पुग्नुभएको छ कुँवर । कुँवर बाराकै जितपुर सिमरामा जन्मिनु हुर्किनुभयो । त्यहाँको माटो र फाँटहरूमा खेल्नुभयो । त्यहीँका विद्यालयहरूमा पढ्नुभयो । जीवनज्योति इंग्लिस बोर्डिङ स्कुल बाराबाट उहाँले प्राथमिक तह पूरा गर्नुभयो भने जनजागृति माध्यमिक विद्यालय बाराबाटै उहाँले माध्यमिक तहको पढाइ पनि पूरा गर्नुभयो । त्यसपछि उहाँ विस्तारै राजधानी काठमाडौं उपत्यका प्रवेश गर्नुभयो । ललितपुरको बुङ्मती एउटा पुरानो र ऐतिहासिक बस्ती हो । त्यहाँ नेवारहरूको बाहुल्य छ । त्यहीँको आदर्श सौलः युवक उच्च माविबाट उहाँले कक्षा १२ को पढाइ पूरा गर्नुभयो । त्यसपछि उहाँ विस्तारै काठमाडौंको चाबहिलतर्फ अघि बढ्नुभयो । पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलबाट उहाँले मानविकी र शिक्षाशास्त्रबाट स्नातक गर्नुभयो भने त्यही कलेजबाट नेपालीमा स्नातकोत्तर पनि पूरा गर्नुभयो ।

त्यसपछि कुँवरले पत्रकारिता, लेखन, शिक्षणलगायत काम गर्दै आफ्नो प्रतिभालाई तिखार्दै अगाडि बढ्नुभयो । काभ्रेपलाञ्चोक जिल्लामा पाँच वर्ष उच्च मावि तहमा पढाउनुभयो । त्यसपछि सैनिक आवासीय महाविद्यालय सल्लाघारी भक्तपुरमा पढाउनुभयो । उहाँ हाल रिपुमदिएनी सैनिक महाविद्यालयमा अध्यापन गरिरहनु भएको छ । त्यसो त उहाँले आफ्नो जीवनमा शिक्षणको सुरुवात चाहिँ काठमाडौँको फुटुङस्थित एउटा निजी विद्यालयबाट गर्नुभएको हो ।

नेत्रबहादुर आफू मध्यम वर्गीय ग्रामीण किसान परिवारको सदस्य भएको कताउनुहुन्छ । उहाँ अहिले पनि अध्यापन गरिरहनु भएको छ । यसका साथै उहाँले लेखन र सम्पादनका कामसमेत गर्दै आउनु भएको छ । उहाँले विभिन्न पत्रपत्रिकाको सम्पादन गर्नुभयो । त्यसभन्दा पनि अनौठो कुरा के छ भने उहाँका हालसम्म मौलिक र पाठ्यपुस्तक गरी १२० वटाभन्दा बढी पुस्तक प्रकाशित छन् । ३५ वर्षको मानिसले मैले यति काम गरेको छु भन्दा झट्ट त पत्याउन पनि मुस्किल हुने तर यथार्थ नै यही भएपछि त पत्याउनै पर्छ ।

उहाँ शिक्षण क्षेत्रको मानिस त्यसैले उहाँको पेशासंबद्ध नेपालको वर्तमान शिक्षा प्रणाली कस्तो पाउनुभएको छ भनेर गरिएको प्रश्नमा उहाँ व्यवहारवादी र जीवनोपयोगी हुन खोजिरहेको छ भन्नुहुन्छ । यस्ता प्रश्नको उत्तर धेरैबाट सकारात्मक पाइँदैन तर कुवँरले भने सकारात्मक उत्तर दिनुभयो । तर यसलाई उपलब्धिमूलक बनाउन सकिरहेको छैन, उद्देश्य एकातिर र प्रयोग अर्कातिर भइरहेको छ भन्नुहुन्छ उहाँ ।

वर्तमान शिक्षा प्रणालीमा रहेभएका कमजोरीलाई हटाउन व्यावहारिक ढङ्गले योजनाबद्ध किसिमले सिकारुमैत्री, सिकारुकेन्द्री शिक्षाविधिको प्रयोग र शिक्षामा भएको संकटकालीन अवस्थाको अन्त्य गर्दै प्रष्ट धारणा कार्यान्वयन गर्नुपर्ने सुझाब दिनुहुन्छ उहाँ । उहाँ अन्य शिक्षाविद्हरूले भनेजस्तै त्रिआयामिक जिम्मेवारीसहित सिकाइविधि प्रयोग गरिनुपर्छ भन्नुहुन्छ ।

नेपालका शिक्षण संस्थाहरूमा अधिक राजनीतिक हुनेगरेको कुरा उहाँलाई पनि लागेको छ । यस्तो नहोस् भन्नका लागि शिक्षा क्षेत्र नै विद्यार्थी, शिक्षक र अभिभावकहरूको जिल्म्मा लगाउनुपर्ने धारणा छ उहाँको । शिक्षण संस्थामा राजनीति हुनुलाई उहाँ अराजक मान्नुहुन्छ । यो वर्जित छ भन्ने उहाँलाई लाग्छ । हाम्रो शिक्षण प्रणाली परनिर्भर छ हामी स्वनिर्भर हुन सकिरहेका छैनौं । नेत्रबहादुर कुँवर आत्मनिर्भर बन्नुपर्ने विचार व्यक्त गर्नुपर्छ । नत्र उनीहरूको उद्देश्यानुसार हामी चल्नुपर्ने बाध्यता रहन्छ भन्ने उहाँलाई लाग्छ । उहाँ नेपाली भाषा तथा साहित्यको विद्यार्थी त्यसैले आफ्नो विषयमा प्रतिबद्ध हुनुहुन्छ ।

उहाँ अबका दिनहरूका पनि आपूm शिक्षा क्षेत्रमै लागिरहने बताउनुहुन्छ । ‘म बाँचुन्जेल नेपाली र साहित्यको सेवामै लाग्छु नेपालकै लागि बाँच्छु’ उहाँ भन्नुहुन्छ । शिक्षा र लेखन दुईमध्ये एउटालाई रोज्नुपर्दा कुन रोज्नुहुन्छ ? भनेर सोधेको प्रश्नको उत्तरमा उहाँ यी दुईलाई छुट्याउन मिल्दैन, लेखनबाट नै शिक्षाको विकास हुन्छ, त्यसकारण लेखन प्रमुख हो भन्नुहुन्छ । उहाँ नेपालको इतिहासका बहुमुखी व्यत्तित्व शिक्षाविद् तथा शिक्षासेवी जयपृथ्वीबहादुर सिंहको दृष्टान्त अघि सार्दै उहाँले प्राकृत व्याकरण लेख्दा तत्कालीन शिक्षाको अवस्थालाई हेरेर खाँचो टार्न लेखेका थिए भन्नुहुन्छ ।

राजनीतितर्फको आकर्षण छैन उहाँमा । सचेत नागरिक भएका नाताले रुचि राख्नुलाई उहाँ जरुरी नै ठान्नुहुन्छ तर वर्तमानको अस्वस्थ राजनीति देखेर उहाँलाई राजनीतिमा लाग्न चाहिँ रुचि छैन । उहाँ विभिन्न संघसंस्थामा आबद्ध हुनुहुन्छ । जनसांस्कृतिक महासंघको वागमती प्रदेश सचिव, जन लेखक संघका केन्द्रीय सचिवालय सदस्य, प्रगतिशील लेखक संघको केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघको केन्द्रीय पार्षद्, श्री जनजगृति पूर्वविद्यार्थी समाजको अध्यक्षलगायत विभिन्न संस्घसंस्थामा उहाँको संलग्नता छ । साहित्यमा अशोक कुवँर ‘नेत्र’ भनेर चिनिन चाहने नेत्रबहादुर कुवँरको ‘घनश्यामलाई चिठी’ निकै प्रसिद्ध गद्यकवितासंग्रह हो । नेपालीमा प्रथम श्रेणीमा स्नातकोत्तर तथा शिक्षामा स्नातक कुवँरले शिक्षा र साहित्यको सेवा गरेबापत विभिन्न मान, सम्मान र पुरस्कार पनि प्राप्त गर्नुभएको छ । यीमध्ये उहाँ पशुपति प्रज्ञा पदक २०७४ बाट विभूषित भएको क्षणलाई भने विशेष उल्लेख्य मान्नुहुन्छ ।

हामी हाल विकासे शिक्षाको चपेटामा छौं । वर्तमान शिक्षा प्रणालीभन्दा हाम्रो पारम्पारिक गुरुकुलीय शिक्षा प्रणालीस्तरीय थियो भनेर केहीले आफ्नो धारणा राख्ने गरेका छन् । उहाँको धारणा यसबारेमा यस्तो पाइयो ‘हामीले पूर्वीय सभ्यताको शिक्षण विधिलाई आत्मसात गर्नु जरुरी छ । यसले संस्कारसहितको शिक्षालाई विकास गराउँछ । अहिले नेपाली साहित्य विकसित अपवस्थामा छ । विदेशी साहित्यलाई हेरेर नेपाली साहित्य रचना गर्ने होइन नेपाली साहित्य आफैंमा आदर्श बन्नुपर्छ ।’

वर्तमान समयमा विभिन्न साहित्यिक संघसंस्थाबाट दिइने पुरस्कारका बरेमा उहाँको धारणा जान्न चाहँदा उहाँ नेपालमा पुरस्कार वितरणको परम्परा लेनदेन जस्तो देखिन गएको छ । कुवँर सम्मानले सिर्जना जन्माएन सिर्जनाले सम्मान हकदाबी गर्नुपर्छ भन्नुहुन्छ । उहाँका जीवनका अविष्मरणीय क्षणहरू धेरै छन्, उहाँ त जीवन प्रत्येक क्षण अविष्मरणीय नै हुन्छ भन्ने ठान्नुहुन्छ । तीमध्ये गाउँबाट उच्च शिक्षा अध्ययनका लागि राजधानी आउँदाको पहिलो यात्रालाई अविष्मरणीय ठान्नुहुन्छ उहाँ ।

अनेकौं कौतुहल, अनेकौं रोमाञ्चक क्षण, अनेकौं जिज्ञासा आदि मनमा लिएर आउँदाको क्षण उहाँ कहिल्यै पनि भुल्न सक्दिन भन्नुहुन्छ । जीवन यात्रा हो । आफ्नो यात्रालाई पछाडि फर्किएर हेर्दा उहाँ आपूmले निकै लामो यात्रा गरेको छु भन्नुहुन्छ । तर उहाँले गरेको यात्रालाई कसैले पनि नियालेर हेरिदिएको छैन भन्ने उहाँलाई लाग्छ । उहाँ भन्नुहुन्छ, ‘जति मैले संघर्ष र सेवा गरेको छु त्यसको मूल्यांकन चाहिँ भएको छैन ।’

हाम्रो वर्तमान शिक्षा प्रणालीलाई बेरोजगार उत्पादन गर्ने कारखाना जस्तो देखिन्छ भन्ने आक्षेप लगाउने छन् । यसबारे उहाँको विचार यस्तो छ, ‘वर्तमान शिक्षा प्रणालीमा समस्या होइन । समस्या हाम्रो दरिद्र मानसिकतामा छ । शिक्षालाई व्यवहार र जीवनसँग जोड्नुपर्ने कुरामा दुई मत छैन । यसलाई क्रमिक सुधार गर्न सकिन्छ तर चारैतिरको नातावाद र कृपावादले जनशक्ति पलायन हुने अवस्था आउन नदिनु चाहिँ आजको मुख्य चुनौती हो । तपाईं हामी जत्तिकाले शिक्षा प्रणालीलाई दोष दिनुभन्दा पनि राजनीतिक अराजकताका विरुद्धमा बोल्न जरुरी भइसक्यो । दीक्षित प्रतिभालाई हेयका दृष्टिले हेर्ने वर्तमान हेराइमै सुधार ल्याउनु जरुरी छ ।’

उहाँले हालसम्म जे जति कामहरू गर्नुभएको छ तिनलाई हेर्दा आपूmबाट पश्चाताप मान्नुपर्ने कुनै नराम्रा काम भएका छैनन् भन्नुहुन्छ कुँवर । ‘जीवनमा मैले पश्चात्ताप गर्नुपर्ने काम गरेजस्तो त लाग्दैन । म भौतिकवादी भइकन पनि मानवतावादी चिन्तन प्रस्तुत गर्छु । यसर्थ, सकेसम्म अरूलाई दुःख दिनुभन्दा बरू आफैंले त्यो दुःख भोगूँ भन्ने लाग्दछ’ उहाँ भन्नुहुन्छ ।

नयाँ पुस्ता अत्यन्त अनुशासनहीन र शिक्षमकहरूप्रति प्रतिशोध राख्ने किसिमले आइरहेको छ, तिनलाई सुधार्न कसरी सकिएला भन्दा उहाँ यसलाई मौन रूपमा स्वीकार्नु हुन्छ र यसको समाधानको उपाय पनि बाउनुहुन्छ । ‘विद्यार्थीलाई भौतिक र कोरा किताबी ज्ञानभन्दा पनि नैतिक शिक्षा दिनु जरुरी छ । व्यवसाय र सीपमात्र होइन, ज्ञान र नैतिकता पनि महान् कुरा हुन् भन्ने चेतना घरैबाट विकसित गरिनुपर्छ । आफ्ना अभिभावकले पनि बालबालिकालाई आफ्ना मान्यजन, गुरुजन, आफन्त, अनुजप्रतिको कर्तव्यबारे सचेत गराउनुपर्छ’ उहाँ भन्नुहुन्छ ।

चर्चित हुनु र स्थापित हुनु दुई भिन्न कुरा हुन् । नग्न तस्वीर सामाजिक सञ्जालमा हालेर पनि चर्चित हुन सकिन्छ । स्थापित हुन कठिन समाधिको अवस्था तय गर्नुपर्छ । हल्ला क्षणिक छ, चर्चा बटुल्न सक्छ तर कोहिनुरको स्थान काँचका टुक्राले लिन सक्दैनन् भन्नुहुन्छ उहाँ ।

पौर्वत्य शिक्षा हाम्रो मौलिक सम्पदा हो । यसलाई जगेर्ना गर्नु हामी पौरस्त्य दर्शनका अनुयायी सबैको दायित्व हो । क्षणिक अनुदानका लोभमा हाम्रो सभ्यता, दर्शन र संस्कृतिमाथिको प्रहार निन्दनीय छ भन्ने उहाँको धारणा छ । प्राचीन पौर्वत्य शिक्षा प्रणाली पाश्चात्य शिक्षा प्रणालीभन्दा स्तरीय थियो र अगाडि पनि थियो तर अहिले पश्चिमीहरू आफ्नो शिक्षा प्रणाली विश्वव्यापी बनाइरहेका छन् । सिद्धान्तहरू सबै हाम्रा हुन् । तर, हाम्रा सिद्धान्तहरू लगेर प्रयोग गर्ने र हामीलाई नै तिनको अभ्यास गर्न लाउने काम तिनीहरूबाट भइरहेको छ ।

यससम्बन्धी उहाँको धारणा यस्तो छ, ‘कमजोरी पश्चिमामा होइन, कमजोरी त हाम्रो दरिद्र मानसिकतामा छ । हामीले नै तिनलाई रजाइँ गर्नका निम्ति क्रीडास्थल दिएपछि खेल्न खोज्नु उनीहरूको स्वभाव हो । हामीले हाम्रो भाषा, सभ्यता, संस्कृति, दर्शन, साहित्य, मौलिकता जोगाउनुपर्छ । आफूलाई यी जम्मैको ठेकेदार सम्झने मुठीभरका केहीको लोलुपताले गर्दा हामी दुःख भोग्दै छौं ।’ अब हामी सचेत हुने बेला आएको छ । ताप्के नताती बिँडमात्र तातेर हुने केही छैन । यसबारे हामी त सचेत नै छौं । हामी हामीजस्तै बन्नुपर्छ, अरूजस्ता भयौं भने हाम्रो मौलिकता र पृथकता खोइ त भनी आफैंमाथि प्रश्न गर्नुपर्छ । यसपछि मात्र समस्याको चुरो समाधान हुन्छ । हामी बोक्रे कुरामै दिन कटाइरहेका छौं’ उहाँ यसरी आफ्नो विचार व्यक्त, गर्नुहुन्छ । यसका लागि आत्मदर्शन र आत्मज्ञानसहितको स्वत्वबोध यसको समाधानको आधार हो भन्ने उहाँलाई लाग्छ ।

वर्तमान संसारमा बोल्नेको पिठो विकिरहेको हो कि अथवा हल्ला र चर्चा गर्नेहरूले नै बजार पाएका हुन् ? उहाँ यसबारेमा यसरी आफ्नो धारणा राख्नुहुन्छ, ‘भूपि शेरचनले भनेझैँ यो हल्लैहल्लाको देश हो । हल्ला गर्नेले नै प्रभाव पारिरहेका छन् । मलाई चाहिँ चर्चित हुनु र स्थापित हुनु दुई भिन्न कुरा हुन् भन्ने लाग्दछ । नग्न तस्बिर सामाजिक सञ्जालमा हालेर पनि चर्चित हुन सकिन्छ । स्थापित हुन कठिन समाधिको अवस्था तय गर्नुपर्छ । हल्ला क्षणिक छ, चर्चा बटुल्न सक्छ तर कोहिनुरको स्थान काँचका टुक्राले लिन सक्दैनन् ।’ हल्लाले गुणस्तर खस्किएको जस्तो लाग्छ ? भन्दा उहाँ ‘हल्लाका पछि लाग्नेहरू गुणस्तरतिर ध्यान दिँदैनन् । जसले गुणस्तर खोज्छ उसले हल्लामा विश्वास गर्दैन । बर्खाको खहरे र हिउँदको नारायणीबिच तुलना गर्नुजस्तै हो यी दुईको तुलना ? लाग्छ बर्खाको खहरे तुफानी बेग उराल्ने सदावहार जलप्रवाह हो तर त्यसको हालत हिउँदमा थाहा हुन्छ, पर्खनुपर्छ ।’

हुन त कुवँर नै नयाँ पुस्ताको व्यक्ति हुनुहुन्छ भन्दा अन्यथा नहोला तैपनि उहाँभन्दा पनि अजुज पुस्ता हुर्किंदै छ । त्यसैले नयाँ पुस्तालाई केही भन्न चाहनुहुन्छ भन्दा उहाँ ‘नयाँ पुस्ताले देशबारे सोच्नुपर्‍यो । विदेशमा पलायन हुने अनि नेताले नेपाल बिगारे भन्नुभन्दा पनि नेपालमै बसेर यिनका कर्तुतबारे बोल्ने हिम्मत गर्नुपर्‍यो । नेपालमा रहेका युवाले पनि क्षमता बढाउने काम गर्नुपर्‍यो । झोलेप्रवृत्ति घातक हो भन्ने कुरा तपाईंहामी अवसर पाउँदासम्म बुझ्दैनौं । सोचौं त हामीले झोला बोकेको दल भोलि सत्तामा नभए हाम्रो चुलाको हालत के होला ?

नेत्रबहादुर कुवँर एक प्रकारले भन्ने हो भने पछिल्लो पुस्ताको व्यक्ति हुनुहुन्छ तर उहाँमा निकै परिपक्वता देखिन्छ । उहाँको प्रश्नोत्तरको शैली पनि केही भिन्न पाइयो । उहाँमा दार्शनिक सोच छ र पौरश्त्र्य संस्कार, संस्कृति, शिक्षा र परम्पराप्रति सकारात्मक धारणा र अपनत्व पनि देखापर्दछ । नयाँ पुस्ताका ऊर्जाशील लेखक साहित्यकार तथा शिक्षासेवी नेत्रबहादुर कुवँरलाई उज्ज्वल भविष्यका लागि शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?