एक्सन एड नेपाल ४० औँ वर्षमा

Read Time = 5 mins

काठमाडौं । सामाजिक न्याय तथा गरिबी निवारणमा क्रियाशील संस्था एक्सन एड इन्टरनेसनल नेपालले आफ्नो ४०औँ स्थापना दिवस र १९औँ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच एक्सन एड इन्टरनेसनल नेपालको ४० वर्षे यात्राको समीक्षा र २०२२ को आर्थिक आयव्यय सार्वजनिक गरेको हो ।

एक्सन एड इन्टरनेसनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमाले एक्सन एडले नेपालमा काम सुरु गरेको ४० वर्षमा धेरै कुरा सिकेको बताउनुभयो । एक्सन एड परिवर्तनशील समय र परिस्थितिअनुसार आफ्ना अवधारणा र दृष्टिकोण समयानुकूल र लचिलो बनाउँदै सामाजिक न्याय र गरिबी निवारणमा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

एक्सन एड फेडेरेसनका सेक्रेटरी जर्नल आर्थर लारकले १९९७ मा युके र केन्याबाट सुरु भएको यात्रा हाल ७२ देशमा पुगेको जानकारी दिँदै एक्सन एड नेपालले महिला र युवालाई प्राथमिकतामा राखेर समयअनुसार लचिलो भएर काम गरी सफल उदाहरण प्रस्तुत गरेको भन्दै प्रशंसा गर्नुभयो ।

स्वतन्त्र मूल्यांकनकर्ता राजेश हमालले मानिसको जीवनमा महिला अधिकार, शिक्षा, जीविकोपार्जन, विपद् व्यवस्थापन तथा उत्थानशीलतामा एक्सन एडले गरेका क्रियाकलापबारे जानकारी गराउनुभयो । उल्लेखित क्षेत्रमा काम गर्दा एक्सन एड नेपालले स्थानीय तहसँग समन्वय, आर्थिक तथा सामाजिकरूपमा पछि रहेकाको संगठनसँग समन्वय, प्राविधिक तथा जिन्सी सहयोग, नागरिक तथा सम्बन्धित निकायबीच समन्वय गर्ने कार्यशैली निकै राम्रो रहेको उहाँको भनाइ थियो । आन्तरिक परीक्षक योजना सिंह क्षेत्रीले संस्थाको २०२२ मा आयव्यय विवरण प्रस्तुत गर्दै ३३ करोड २२ लाख ४७ हजार आय र ३६ लाख ३५ करोड ३५ लाख ३० हजार व्यय भएको जानकारी दिनुभयो । जसमा ८३ प्रतिशत प्रत्यक्ष कार्यक्रम परियोजनामा, तीन प्रतिशत कोष अभिवृद्धिमा एक प्रतिशत सुशासनमा र १३ प्रतिशत प्रशानिक खर्च भएको थियो ।

पटेर्वा सुगौली गाउँपालिका ४ की पुतलीदेवी चौधरीले एक्सन एड इन्टरनेसनलको सहयोगमा महिला समूहमा आबद्ध भएर आफ्नो परम्परागत ढकिया बुन्ने र बिक्री गरेर आत्मनिर्भर भएको बताउनुभएको थियो भने तेह्रथुमको लालीगुँरास गाउँपालिकाकी डम्बरकुमारी कार्कीले एक्सन एड र स्थानीय दलित सचेतना केन्द्रको सहयोगमा दलित र अन्य समुदायका महिलाहरू आर्थिकरूपमा सक्षम भएको बताउनुभएको थियो ।

पूर्वकर्मचारी यमुना घलेले लैंगिक उत्तरदायी बजेट, जलवायु न्यायका लागि सरकारले नै बजेट छुट्याएको अवस्थामा एक्सन एडको पनि आफ्नो अडान, योजना र कार्यक्रम आउनुपर्ने बताउनुभयो । समाज कल्याण परिषद्का सदस्य-सचिव मनोज भट्टले एक्सन एडले गरिरहेको जलवायु न्यायलगायतका अभियानले दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुगेको बताउनुभयो । कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्य, एक्सन एड बोर्ड चेयर निर्मला केसीलगायतले पनि बोल्नुभएको थियो । एक्सन एड इन्टरनेसनल नेपाल विभिन्न ४५ देशमा क्रियाशील एक्सन एड इन्टरनेसनल फेडेरेसनको सदस्य हो । एक्सन एडले आफ्नो फेडेरेसनमार्फत् एक करोड ५० लाख मानिससँग प्रत्यक्ष काम गरिरहेको छ । एक्सन एड १९७२ स्थापना भए पनि नेपालमा १९८२ स्थापना भएको भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?