बालउद्धार माविको ३४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल सरकारको नमुना विद्यालयका रूपमा छनोट भएको बुढानीलकण्ठ-१० कपनस्थित बालउद्धार माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार भव्यरूपमा सम्पन्न भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगनकुमार थापा, नेपालका लागि चीनका राजदूत चेन सोङ, प्रदेशसभा सदस्यहरू जयराम थापा, मिना पराजुली, राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटी, बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडाध्यक्षहरू नवराज भट्टराई एवं शम्भुप्रसाद भट्टराई, स्थानीय तहका विभिन्न जनप्रतिनिधिहरू, विभिन्न पार्टीका प्रतिनिधिहरू, अक्षयकोष दाताहरू, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरूलगायत पूर्वप्रधानाध्यापकहरू, शिक्षासेवी, समाजसेवी, विद्यालयका अभिभावकहरू, विद्यार्थीहरू तथा शिक्षकशिक्षिकाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सभामुख घिमिरेले देशमा राजनीतिक परिवर्तनसँगै स्थापना भएको बालउद्धार माध्यमिक विद्यालयले समयक्रमसँगै नमुना विद्यालयमा छनोट भई शैक्षिक गुणस्तरमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा बधाई एवं आगामी दिनमा अझै शैक्षिक उन्नयनमा अगाडि बढ्न शुभकामना दिनुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘नेपालमा बालबालिकालाई सही ढंगबाट गुणस्तरीय शिक्षा प्रदान गरेर त्यसलाई व्यवहारमा लागू गर्न सकेको खण्डमा बालबालिकाको उद्धार र विकास हुनेमा कुनै शंका छैन ।’

सो कार्यक्रममा काठमाडौं क्षेत्र नं. ४ का संघीय सांसद गगनकुमार थापाले विद्यालयले छोटो अवधिमा गरेको दु्रत प्रगतिका लागि विद्यालय परिवारलाई बधाई दिँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुको विकल्प नभएको बताउनुभयो । सांसद थापाले भन्नुभयो, ‘सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा एक्लो प्रयासले मात्र सम्भव छैन, त्यसैले सबै एकजुट भई अगाडि बढ्नुको विकल्प छैन ।’ कार्यक्रममा नेपालका लागि चीनका राजदूत सोङले विद्यालयले ३४ वर्षे अवधिमा यस क्षेत्रमै गुणस्तरीय शिक्षा प्रदान गरेकोमा बधाई दिँदै खुसी व्यक्त गर्नुभयो ।

सो कार्यक्रममा बुनपाका नगरप्रमुख मिठाराम अधिकारीले विद्यालयको शैक्षिक उन्नयनका लागि नगरपालिका सदैव चनाखो रहेको र आफ्नै घरआँगनको विद्यालयको उन्नति, प्रगतिमा सदैव साथ सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । वार्षिकोत्सव कार्यक्रममा बुनपाका नगरप्रवक्ता एवं १० नं. वडाका वडाध्यक्ष नवराज भट्टराईले विद्यालयको भौतिक, शैक्षिकलगायत विकासमा विगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा अझ बढी सहयोग रहने बचनबद्धता व्यक्त गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले विद्यालयको भौतिक, शैक्षिकलगायत चौतर्फी विकास गर्न योगदान गर्ने विभिन्न सामाजिक संघसंस्था, शुभेच्छुक एवं शिक्षकहरूप्रति आभार प्रकट गर्दै आर्थिक अभावका कारण बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन विद्यालय व्यवस्थापन समिति प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यालयको भौतिक, प्रशासनिक र शैक्षिक गुणस्तर सुधारमा आफू अहोरात्र लाग्ने बताउनुभयो ।

कार्यक्रममा विद्यालयको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान दिनुहुने आठजना शिक्षकहरूलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको थियो । त्यसैगरी अक्षयकोष दाताहरूलगायतलाई पनि सम्मान गरिएको थियो ।

दुई सत्रमा सञ्चालित सो कार्यक्रमको औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका विज्ञान शिक्षक सन्तोष लुइँटेलले गर्नुभएको थियो भने अनौपचारिक कार्यक्रमको सञ्चालन शिक्षक अनामिका अधिकारी र विद्यार्थीहरू रञ्जित तामाङ र प्रयुषा पोखरेलले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न गीत तथा नृत्यमार्फत् अतिथिहरूलाई मनोरञ्जन प्रदान गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?