पुरन साह/हिटा
जनकपुरधाम । मधेश प्रदेश सरकारको गौरवको आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा. रामकेवल साहको निधन भएको छ । क्यान्सर रोगको उपचारको क्रममा ६९ वर्षीय उहाँको भारतको एनसिआरमा पर्ने गुडगाउँस्थित नारायणा अस्पतालमा उपचारकै क्रममा बिहीबार बिहान ३ बजे निधन भएको हो ।
करिब दुई दशकदेखि मधेशको मुद्दा र मधेश आन्दोलनको पक्षमा थिंक ट्यांकका रूपमा काम गर्दै प्रथम मधेश सरकार बनेपछि मधेशको स्वास्थ्य क्षेत्रको विकासका लागि मधेश सरकारको स्वास्थ्य सल्लाहकार हँुदै प्रतिष्ठानको उपकुलपति बनेर सेवा गरिरहनुभएका उहाँको निधनले मधेश शोकमा डुबेको छ । मधेश मुद्दाका अगुवाहरूले उहाँको निधनमा शोक ब्यक्त गरिरहेका छन् ।
केही समययता कलेजोसम्बन्धी रोगका कारण स्वास्थ्यस्थिति गम्भीर भएपछि उहाँको उपचारका लागि भारत लगिएको थियो ।
नेपाल मेडिकल कलेजमा लामो समय अध्यापन गराउनुभएका प्राध्यापक डा. साह सेवानिवृत्त भएलगत्तै प्रतिष्ठानका उपकुलपतिमा नियुक्त हुनुभएको थियो । त्यसअघि अर्थोपेडिक्स सर्जन डा.साह केही वर्ष सरकारी सेवामा संलग्न रहनुभएको थियो । २०२६ सालमा जनकपुरधामस्थित सरस्वती माविबाट प्रवेशिका परीक्षा उत्तीर्ण गर्नुभएका डा. साह सो परीक्षामा देशभरिमै तेस्रो स्थान प्राप्त गर्न सफल हुनुभएको थियो ।
कक्षा आठसम्म भने उहाँ आफ्नो जन्मथलो धनुषाको सबैला छेउ रघुनाथपुरको फकिरचन्द गामी उच्चा मावि बरकुर्वास्थित विद्यालयमा अध्ययन गर्नुभएको थियो । अमृत साइन्स क्याम्पसबाट आएससी अध्ययन गर्नुभएका डा.साहले भारतको मेरठ मेडिकल कलेजबाट एमबिबिएस र एमएस पढ्नुभएको थियो । बेलायतको लिभरपुलबाट एमसिएचमा स्वर्णपदक प्राप्त गरेका उहाँ पछिल्लो समय मधेशको हकहितको विभिन्न सन्दर्भमा थिंक ट्यांकका रूपमा काम गर्दै आएका थिए ।
कांग्रेस नेता निधिद्वारा शोक व्यक्त
साहको निधनमा उहाँका मित्र नेपाली कांग्रेसका पूर्वउपसभापति तथा पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले शोक व्यक्त गर्नुभएको छ । एक ट्वीट गर्दै निधिले डा. साहको निधनको खबरले स्तब्ध भएको उल्लेख गर्नुभएको छ । २०४६ सालको आन्दोलनमा डा. साहकै घरमा भूमिगत रूपमा बसेर ई. सत्यनारायण साह, बिन्देश्वर महासेठ परिवार र साथीहरूसँग मिलेर आन्दोलन सञ्चालन गरेको स्मरण गर्दै निधिले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच