सावित्रा र मन्देकाजी सम्मानित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । पोखराको मदरल्याण्ड विद्यालयले नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी (सम्बा) लाई नगदसहित सम्मान गरेको छ । भण्डारीलाई पश्चिम पृतना हेडक्वाटर विजयपुरका पृतनापति दीपककुमार बानियाँ, विद्यालयका निर्देशक डा. त्रिभुवन बराल, प्रिन्सिपल नारायण बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिनानाथ बरालले नगद २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मानित गर्नुभयो ।

२६ वर्षीया सावित्रा लमजुङमा जन्मिनुभएको हो । २०७० सालबाट फुटबल खेल्न सुरु गर्नुभएकी उहाँले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गर्नुभएको थियो । सन् २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उहाँले देशको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनुभयो । त्यसपछि हालसम्म उहाँले देशको प्रतिनिधित्व गर्दै एक दर्जन अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसक्नुभएको छ । उहाँको योगदानको कदर गर्दै विद्यालयले सम्मान गरेको विद्यालयका प्रिन्सिपल नारायण बरालले बताउनुभयो ।

मदरल्याण्ड विद्यालयको आयोजनामा शनिबारदेखि भर्खरै एसइई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दीपककुमार बानियाँले उद्घाटन गर्नुभएको थियो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा गण्डकी प्रदेशभरिबाट ६६ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ३० हजार, २० हजार र १० हजारका साथ मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । विद्यालयका निर्देशक त्रिभुवन शर्माको सभापतित्वमा सम्पन्न समुद्घाटन कार्यक्रमको सञ्चालन विद्यालयका अंग्रेजी विभागीय प्रमुख तथा करियर परामर्शदाता बामनकुमार घिमिरेले गर्नुभएको थियो ।

यस्तै, १३औँ दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी तथा हाल प्रशिक्षक रहनुभएका मन्देकाजी श्रेष्ठ सम्मानित हुनुभएको छ । नवौँ उपत्यकाव्यापी कराँते तथा किकबक्सिङ प्रतियोगिता-२०८० अन्तर्गत केन्द्रीय शाखा डोजोद्वारा आयोजित प्रतियोगिताका दौरान उहाँलाई शुक्रबार सम्मानपत्रले सम्मान गरिएको हो ।

उहाँलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सम्मानपत्र प्रदान गर्नुभयो । केन्द्रीय डोजोका प्रमुख प्रशिक्षक साइला गमालले खेलाडीहरूको वृत्ति र विकासका लागि यस प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । यस प्रतियोगितामा विभिन्न डोजो तथा विद्यालयबाट करिब ५५० जना खेलाडीहरूको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?