टोखा-छहरे सुरुङ प्रक्रिया यसै वर्षः अर्थमन्त्री

Read Time = 6 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्यीय टोखा-छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रक्रिया अघि बढ्ने बताउनुभएको छ । नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा मन्त्री महतले भन्नुभयो, ‘टोखा-छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यसको बहुआयामिक उपयोगिता छ ।’

सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भए पनि ठोस पहल नभएको उल्लेख गर्दै उहाँले अहिले सरकारले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेको बताउनुभयो । उक्त सुरुङमार्गका लागि विदेशी सहयोग आउने सम्भावनासमेत रहेको मन्त्री महतले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘विदेशी सहयोग आउने सम्भावना पनि छ तर विदेशी सहयोग आओस्, नआओस्, यो सुरुङमार्ग निर्माण प्रक्रिया हामी अघि बढाउँछौँ । यो नुवाकोटको आवश्यकतामात्र होइन, यो देशको आवश्यकता हो ।’

सुरुङमार्ग निर्माण गर्दा धेरै प्राविधिक कुरा पूरा गरेरमात्र अघि बढाउनुपर्ने भएकाले यसै वर्ष निर्माण सुरु नभए पनि बन्छ भन्ने सन्देश दिन बजेट पहिलोपटक विनियोजन गरिएको उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘अब यसले नुवाकोटको कृषि, उद्योग व्यवसाय, पर्यटनलाई ठूलो सहयोग पुर्‍याउँछ । यो निर्माण सम्पन्न हुन हामीले केही वर्ष पर्खिनुपर्ने हुन्छ । बजेटका विषयमा धेरै चर्चा-परिचर्चा भएका छन् । स्रोत जुटाउन कठिन छ, राजस्व कम उठेको थियो, विदेशी सहयोग, आन्तरिक ऋण जोडेर बजेट बनाउनुपर्ने हाम्रो बाध्यता थियो । अझ ठूलो बजेट बनाउन प्रधानमन्त्री स्वयं चाहनुहुन्थ्यो, जनताका आवश्यकतालाई बढीभन्दा बढी पूर्ति गर्न सकौँ, बाटो गाउँ-गाउँमा पुर्‍याउन सकौँ भन्ने सबैको चाहना हो । आम्दानी नभई खर्च गर्न सकिँदैन ।’

उहाँले धेरै समययता नुवाकोटमा अत्यन्तै न्यून बजेट परिरहेको भन्दै धेरै वर्षपछि ती आवश्यकता पूर्तिका लागि सरकारले सकेको जति बजेट विनियोजन गरेको जानकारी गराउनुभयो । मन्त्री महतले भन्नुुभयो, ‘स्थानीय, प्रदेश पनि छ, त्यसैले सबै काम केन्द्रले गर्दैैन, टोल-टोलमा पुग्ने बाटो केन्द्रले बनाउन सक्दैन, त्यसका लागि स्थानीय तह र प्रदेशले आफ्नो बजेटबाट प्रबन्ध गर्नुपर्छ । प्रदेशको बजेट पनि आउँदै छ, केन्द्रले राख्न नसकेको ठाउँमा प्रदेशले पनि राख्छ । म नुवाकोटकै अर्थमन्त्री परेका कारण बजेट यो जिल्लामा थोरै बढी परेको छ । त्यो नुवाकोटको आवश्यकता हो । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा धेरै बजेट गयो भनेर संसद्देखि सडकसम्म चर्चा–परिचर्चा र बहसको विषय बनेको छ । यद्यपि देशभरि हामीले बजेट पुर्‍याउने प्रयास गरेका छौँ ।’

उहाँले गंगटेदेखि समुन्द्रटारमात्र नभई थोर्पुभञ्ज्याङसम्म सडक निर्माणका लागि बजेट विनियोजन भएको र विभिन्न शीर्षकमा विभिन्न ठाउँलाई त्यहाँको विकासलाई केन्द्रित गरेर बजेट छुट्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘जे जायज छ, जे आवश्यक छ, जे न्यायोचित छ, हामीले बजेट विनियोजन गरेका छौँ, ककनीको बाटोको कुरा पनि समेटिएको छ, त्यहाँबाट पिपलटार-त्रिशूली जाने बाटोको निर्माण व्यवसायी अदालत गएका कारण हामीले बजेट विनियोजन गर्न सकेनौँ ।’

मन्त्री महतले कृषिको सम्भावना ठूलो रहेकाले सरकारले अब उत्पादनमा अनुदान नीति लिएको जानकारी गराउँदै उत्पादनमा अनुदानले उद्यम व्यवसायलाई सिर्जनशील ढंगबाट अघि बढाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जसले उत्पादन गरेर देखाउँछ, उसले अनुदान पाउँछ । अब कृषि अनुदान दुरूपयोग हुने प्रवृत्ति समाप्त हुन्छ, वास्तविक कृषक उत्साहित हुन्छन् ।’

बजेटको मूल लक्ष्य भनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउने, राजस्वको आकार बढाउने, त्यसमार्फत् अर्को वर्ष धेरै बजेट विनियोजन गर्न सक्ने भन्दै उहाँले आवश्यकताका आधारमा नुवाकोटले पाउनुपर्ने बजेट यस वर्ष सुनिश्चित भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?