सधैंको हाहाकार बिउ र मल किन ?

हिमालय टाइम्स
Read Time = 7 mins

अहिले खेतीको मुख्य समय छ । हुन त अरू बेलामा पनि खेती लगाउने गरिन्छ तर त्यस बेलाका खेतीहरू मुख्य खेती बाली नभएर सहायक बालीमात्र हुन् । नेपालमा चैत-वैशाखतिर मकै रोपिन्छ भने त्यही बेला चैते धान पनि रोपिन्छ । गहुँ हिउँद महिनामा लगाउने गरिन्छ । आलु जुनसुकै महिनामा रोप्ने-खन्ने गरिन्छ, तरकारीखेती पनि विभिन्न समयमा लगाउने गरिन्छ । तर, मुख्य बाली भनेकै धानलाई मानिन्छ । यो जेठ–असार महिना धानखेती गरिने बेला हो । हुन त कोदो खेती गर्ने बेला पनि यही हो तर यसले धानखेती जति प्राथमिकता पाउने गरेको छैन ।

कोदोलाई गरिबले खाने हेय अन्न मानिने भएका कारण यसको चर्चा हुनेगरेको छैन भने दोस्रो कोदो रूखा-सुख्खा भिरालो तथा पाखो बारीमा लगाइन्छ, यसलाई मल र पानीको धेरै जरुरत नहुने भएकाले त्यति महत्व/मान्यता दिइँँदैन । उपयोगिता र प्रयोगका दृष्टिले चाहिँ नेपालका अधिकांश पहाडी क्षेत्रमा कोदाको पनि खेती गरिन्छ, त्यहाँका धेरैजसो बासिन्दाले कोदो खाने गर्दछन् । जे भए तापनि धानका तुलनामा कोदाको मान्यता र महत्व कम छ । अहिले धान रोप्ने समय हो, प्रयोग र महत्व दुवै दृष्टिकोणबाट धानखेती प्राथमिकतामा पर्छ । नेपालको अन्न भण्डार भनेर तराई क्षेत्रलाई चिनिन्छ । तराईमा व्यापक रूपमा धानकै खेती हुन्छ । धानखेती नै नेपालको प्रमुख खेतीबालीका रूपमा परिचित हुँदै आएको छ । प्रमुख खेतीबालीको सिजन भएर पनि हाल मलको अभाव भइरहेको छ । एकातिर खेतीका बेला मल नपाइने र पाइएका खण्डमा पनि नक्कली मल पाइने भएकाले खेती गर्न किसानलाई प्रत्येक वर्ष असहज भइरहेको छ ।

मल आयातमा व्यापक कमिसनको खेल हुनेगरेको छ । नेपालले यस्तै प्रकारको हविगत विगतदेखि भोग्दै आइरहेको छ । जेमा पनि र जसरी भए पनि कमिसन खानै पर्ने संस्कार विकास हुँदै गएकाले सहज रूपमा किसानले उपभोग्य सामग्री प्राप्त गर्न नसकिने र पाइएको सामग्री पनि नक्कलीको भय रहने गरेका कारण पहिलो मारमा त किसान नै पर्ने गरेका छन् । तर प्रत्यक्ष रूपमा किसान प्रभावित भएको जस्तो देखिए तापनि प्रकारान्तरले तिनै किसानले गरेको खेतीबालीबाट प्राप्त उब्जनी अरू सबै वर्गले उपभोग गरेर जीविकोपार्जन गर्नुपर्ने भएको हुँदा यसको मार सबैमा पर्छ भन्न नसकिने होइन । केही दशक पहिलेसम्म खेतीका लागि किसानले सरकरको मुख ताक्नु पर्दैनथ्यो । खेतीका लागि आवश्यक कृषि औजार, मल, बिउ, सबै नै किसान आफैंले तर्जुमा गरेका हुन्थे ।

प्रांगारिक मल प्रयोग गर्थे । जसले गर्दा बालीनालीमा रोगको प्रकोप पनि त्यति धेरै हुने गर्दैनथ्यो र सामान्य प्रकोपमा किसान घरायसी उपायबाटै समाधान खोज्थे । निम, खरानी, पोटासलगायतलाई कीटनाशक औषधिका रूपमा प्रयोग गर्थे । हलो, जुवा, कुटो, कोदालो आफैं तर्जुमा गर्थे भने बिउ आफैं छनौट गर्थे । पातपतिंगर र गोबरबाट प्रांगारिक मल तयार पर्थे तर विस्तारै उनीहरूलाई परनिर्भर बनाउँदै लगियो र हाल उनीहरूले खेतीका लागि आवश्यक सबै सामग्रीमा सरकराको मुखापेक्षी बन्नुपरेको छ । सरकारले किसानलाई अत्यावश्यक मल, बिउ उपलब्ध गराउन सकिरहेको छैन, लगनपछिको पोते भने झैँ खेतीको समय समाप्त भएपछि बल्लतल्ल त्यो पनि सीमित मात्र उपलब्ध गराउने गरेको छ । आपसी आरोप, प्रत्यारोप र दोषारोपण गर्दागर्दै त्यसै समय व्यतीत गरिरहेको छ ।

किसानलाई समयमै मल, बिउ उपलब्ध गराउनुपर्छ भन्ने मान्यताबाट सम्बन्धित पक्ष डोहोरिने गर्दैन र जरुरी ठान्दैन÷मान्दैन । कहाँबाट सामग्री झिकाउँदा वा कसलाई यसको ठेक्का दिँदा आफूलाई बढी कमिसन प्राप्त हुन्छ त्यसतर्फ अधिकार प्राप्त निकाय र व्यक्तिको सोच गढेर रहने गरेको हुन्छ । किसानलाई फसलका लागि आवश्यक आधारभूत सामग्री समयमै उपलब्ध गराउनुपर्छ भन्ने सोच सरकारलाई हुँदैन । ऊ बन्द कोठाभित्र कमिशनको खेती गर्न व्यस्त छ । किसानको खेती जेसुकै होस् ।

यिनै विविध कारणले जहिल्यै पनि किसानको आँखामा आँशु टिलपिलाई मल र बिउको प्रतीक्षा गरिरहेका हुन्छन् । उत्पादन घट्दा माग बढ्छ अर्थशास्त्रको नियमहो । त्यसको प्रभाव प्रत्येकको भान्सामा आई पुग्छ भन्ने सबैले सोच्नुपर्ने हो । यो त राष्ट्रकै उत्पादनसमेत प्रभावित बन्ने विषय हो तर यसतर्फ ध्यान दिएको देखिँदैन । सबैभन्दा दुर्भाग्य र चिन्ताको विषय यही नै हो । एउटा कृषिप्रधान देशमा कृषिबाट हुने उत्पादन घट्नु भनेको राष्ट्रिय आयमा समेत प्रभाव पर्नु हो भनेर सबैले सोच्नु आवश्यक छ । कृषि उपजविना हाम्रो जीवनयापन हुनै सक्दैन भन्ने शाश्वत मान्यतालाई कुनै पक्षले पनि बिर्सनु हुँदैन । सरकार कृषकका समस्यामा दर्शक होइन सचेत बनोस् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?