छोटो समयका लागि प्रधानन्यायाधीश बन्दै हरिकृष्ण कार्की, अनुमोदनको तयारी

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं। आगामी साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की छोटो समयका लागि प्रधानन्यायाधीश बन्नुहुने भएको छ ।

जेठ ३२ गते संसदीय सुनुवाई गरेर का.मु प्रधानन्यायाधीश कार्कीलाई अनुमोदन गर्न लागिएको हो । सघीय संसद संयुक्त संसद नियमावलीमा भएको व्यवस्था अनुसार प्रश्तावित प्रधानन्यायाधीश कार्की अनुमोदन हुने पक्का छ । संसदीय सुनुवाईमा प्रश्ताव अनुमोदनको लागि बहुमत भए पुग्ने र अनुमोदन नगर्न दुई तिहाई सदस्यको मत चाहिने भएकाले समितिमा रहेको मतको आधारमा कार्की छोटो समयको लागि प्रधानन्यायाधीश बन्नुहुने भएको संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रश्तावित व्यक्ति अनुमोदन हुने/नहुने भन्ने विषय समितिले निर्णय गर्ने विषय हो । प्रश्तावित व्यक्तिसँग समेत छलफल गरिसकेपछि समितिको बैठकले नियमावली बमोजिम दुई तिहाईबाट अस्वीकृत भएन भने अनुमोदन भएको मान्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।’

संसदीय सुनुवाई विशेष समितिको संरचनामा सत्तापक्षका सांसदहरुको बहुमत भएकाले का.मु. प्रधानन्यायाधीश कार्की प्रधानन्यायाधीशमा अनुमोदन हुन लाग्नुभएको हो । अनुमोदनपछि प्रधानन्यायाधीश कार्कीले आफ्नो काम नियमित रुपमा असार २० गतेसम्म मात्र गर्नुहुनेछ । प्रधानन्यायाधीश अनिवार्य अवकाशमा जानुभन्दा १ महिनाअघि बिदामा बस्ने चलन छ ।

संसदीय सुनुवाई हुनुअघि समितिले कार्कीबिरुद्ध उजुरी आह्वान गरेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा संघीय संसद सचिवालयका प्रवक्ता गिरीले समितिमा २९ वटा उजुरी परेको र त्यसको छानबिन र अनुसन्धान भइरहेको बताउनु भयो । का.मु. प्रधानन्यायाधीश कार्कीलाई एक बहालवाला जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले प्रधानन्यायाधीशको लागि अयोग्य भनेर उजुरी गर्नुभएको छ । बहालवाला न्यायाधीशले प्रधानन्यायाधीशबिरुद्ध उजुरी दिएको यो पहिलो घटना हो । प्रधानन्यायाधीशमा प्रश्तावित कार्कीलाई उजुरी दिनेमध्ये केही व्यक्ति संसदीय सुनुवाईको लागि सिफारिस हुने सबै व्यक्तिलाई निरन्तर उजुरी दिने व्यक्तिहरु पनि रहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । संसदीय सुुनुवाई समितिले जेठ ३१ गते उजुरी कर्ताहरुसँग छलफल गर्ने भएको छ । यसपछि प्राप्त उजुरीमध्ये योग्य उजुरीलाई सुनुवाईको समयमा प्रश्नको रुपमा लगिने प्रवक्ता गिरीले बताउनु भयो ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई भावि प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । संसदीय सुनुवाई शुरु गर्न संसदबाट सुनुवाई समिति गठन नहुँदा लामो समय सुनुवाई प्रभावित बनेको थियो । गत जेठ १४ गते संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली पारित भएसँगै सुनुवाई समिति गठनको बाटो खुलेको थियो । सदनले सोही दिन समिति गठन गरेसँगै समितिले जेठ १७ गते सार्वजनिक सूचनामार्फत १० दिनको समय दिइ कार्कीबिरुद्ध उजुरी आह्वान गरेको थियो ।

उजुरी आह्वानपछि कार्कीलाई प्रधानन्यायाधीश बनाउन नहुने भन्दै २९ वटा उजुरी दर्ता भएका छन् । कसैले व्यक्तिगत र कसैले संयुक्त रुपमा उजुरी दिएको समिति सचिवालयले जनाएको छ । जसमध्ये ५ उजुरी इमेलमार्फत आएका छन् भने २४ वटा उजुरी लिखति छन् । उजुरीमा कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति हुन अयोग्य रहेको दाबी गरिएको छ । प्रधानन्यायाधीशमा सिफारिस भएका व्यक्तिबिरुद्ध जो कोहीले पनि उजुरी दिनसक्ने व्यवस्था छ । तर बहालवाला न्यायधीश नै आफैँ उजुरी बोकेर संसदीय सुनुवाई समितिमा पुगेको यो पहिलो घटना हो ।

प्रश्तावित प्रधानन्यायाधीश कार्कीबिरुद्ध बहालवाला जिल्ला न्यायाधीश डा.श्रीकृष्ण भट्टराईले सुनुवाई समिति सचिवालयमा उजुरी दिनुभएको छ । रोलक्रममा जुनियर कार्कीलाई राजनीतिक आडबाट बनाइ सर्वोच्च प्रवेश गराएको र अहिले प्रधानन्यायाधीशमा सिफारिस गरिएको उजुरीकर्ताहरुको आरोप छ । उनीहरुले कार्कीमा कार्य क्षमताको अभाव रहेको प्रश्न उठाएका छन् । कार्कीबिरुद्ध संसद विघटन मुद्दामा स्वार्थ बाझिने गरी सुनुवाई गरेर बदनियत देखाएको आरोप छ । साथै कार्कीमा न्यायिक विचलन देखिने गरी काम गरेको आरोप समेत छ । कार्कीको शैक्षिक योग्यता कमजोर रहेको उजुरीकर्ताको आरोप छ ।

केही उजुरीकर्ताले भने संवैधानिक परिषद् सम्बन्धी कानून नै रिक्त रहेको अवस्थामा प्रधानन्यायाधीशमा सिफारिस गर्नु गैरकानूनी रहेको उजुरी सचिवालयमा दिएका छन् । संवैधानिक परिषद्सम्बन्धी संशोधन विधेयक संसदमा विचाराधीन रहेको र कानूनी रिक्तता रहेको बेला परिषद्बाट भएको सिफारिस गैरकानूनी रहेको उनीहरुको ठहर छ । अवैध सिफारिसलाई समितिले सुनुवाई गर्न नमिल्ने पनि उजुरीकर्ताको उजुरीमा रहेको छ । न्याय परिषद् ऐनको दफा ३१ अनुसार ६० दिन पहिला नै पदमा नरहेको जानकारी सम्बन्धित व्यक्ति र निकायलाई दिनुपर्ने व्यवस्थाको स्मरण गराउँदै नियमअनुसार जेठ १९ गते नै कार्कीले न्यायपरिषद्बाट पदमा नरहेको जानकारी पाइसकेको र सर्वोच्च प्रशासनलाई पनि जानकारी दिइएको जिकिर उजुरीमा गरिएको छ । ऐनअनुसार पदमा नरहने चिठी पाइसकेको व्यक्ति त्यो भन्दा माथिको पदमा जान नमिल्ने कतिपय उजुरीकर्ताको भनाइ छ । १९ साउनदेखि उमेरहदका कारण अनिवार्य अवकाशमा जानुपर्ने कार्कीलाई सिफारिस गरिएको भन्दै उजुरी गरेका छन् ।

गत वैशाख २५ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रश्ताव गरेको थियो । संसदीय सुनवाई समितिले प्रश्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । संसदीय सुनुवाई समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा प्रश्तावित कार्कीको सुनुवाई जेठ ३२ गते गर्ने र र त्यसै दिन सो प्रश्तावलाई अनुमोदन गर्ने लगायतको कार्यतालिका परिमार्जनसहित पारित गरेको छ । कार्यतालिकामा उजुरीकर्ताहरुसँग छलफलका लागि जेठ ३१ गते बुधवार बिहान ११ बजेको समय तोकिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?