घट्यो खोटाङको जनसंख्या, दश वर्षमा ३१ हजार १४ जना घट्यो

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । २०६८ सालको जनगणनापछि २०७८ कात्र्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म ‘मेरो गणना, मेरो सहभागिता’ नारासहित नेपालमा १२ औं राष्ट्रिय जनगणना भएको थियो ।

खोटाङमा २९० जना गणकले ७० वटा प्रश्न सोध्दै जनगणना गरेको थियो । स्वभाविक रुपमा दश वर्षमा जनसंख्या बढ्ने आँकलन थियो । तर, सार्वजनिक भएको जनगणनाको तथ्यांकले २०६८ सालदेखि २०७८ सालमा आईपुग्दा खोटाङको जनसंख्या ३१ हजार १४ जना अर्थात १५.०३ प्रतिशत घटेको देखिन्छ ।

२०६८ सालमा खोटाङको कूल जनसंख्या दुई लाख ६३ हजार १२ जना थियो । २०७८ सालमा गरिएको जनगणनमा त्यो घटेर १ लाख ७५ हजार २९८ मा झरेको बुधबार दिक्तेलस्थित समिक्षालय हलमा जनगणना सार्वजनिक कार्यक्रममा जानकारी दिईएको छ ।

२०७८ को जनगणनाको कुल १ लाख ७५ हजार २९८ मध्ये पुरुष ८६ हजार ६३७ जना अर्थात ५०.५८ प्रतिशत र महिलाको जनसंख्या ८८ हजार ६६१ जना अर्थात ४९.४२ प्रतिशत रहेको छ । जनसंख्या घट्नुको कारण बसाईसराई, मृत्यु, विदेशमा रहनुलाई मुख्य कारण मानिएको खोटाङ, उदयपुर तथ्यांक अधिकृत शिव नारायण महतो बताउँछन् । बेरोजगारी, शिक्षा, स्वास्थ्यजस्ता इन्डिकेटर जनसंख्या घट्नुको नदेखिने मुख्य पक्ष मानिएको छ ।

२०७८ को कूल जनसंख्यामध्ये पुरुष अपाङ्गता ३.२ प्रतिशत र महिला अपाङ्गता २.५ प्रतिशत छ । तथ्यांक अनुसार ३८.९ प्रतिशत पुरुष र ३०.३ प्रतिशत महिला अविवाहित, ५७.८ प्रतिशत पुरुष र ६२.६ प्रतिशत महिला विवाहित छन् । २.७ प्रतिशत पुरुष विधुर र ६.२ प्रतिशत महिला विधवा छन् ।

जनगणना अनुसार जिल्लाको कूल साक्षरता दर ७५.९९ प्रतिशतमा पुरुष साक्षरता ८३.६ प्रतिशत हुँदा महिला साक्षरता ६८.६ प्रतिशत रहेको छ । जिल्लाको सबैभन्दा बढी साक्षरता साकेला गाउँपालिका ७९.३२ प्रतिशत र सबैभन्दा कम साक्षरता बराहपोखरी गाउँपालिका ७१.९१ प्रतिशत रहेको छ । २०६८ को जनगणनामा कूल साक्षरता ६५.९ प्रतिशतमा पुरुष साक्षरता ७५.१ प्रतिशत र महिला साक्षरता ५७.४ प्रतिशत थियो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ८.३० प्रतिशत र हलेसी तुवाचुङ नगरपालिकामा ८.३१ प्रतिशतले जनसंख्या घट्दा सबैभन्दा बढी खोटेहाङ गाउँपालिका २५.०४ प्रतिशतले जनसंख्या घटेर गएको छ ।

कूल जसंख्यामा ५ वर्ष र सो भन्दा मूनिका ७१.७ प्रतिशत बालबालिकाको जन्मदर्ता हुँदा २८.३ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छैन । जनगणनाको नतिजा अनुसार खोटाङ जिल्लाभरी ५८ हजार ५४३ वटा घर संरचनामध्ये आवासका लागि प्रयोग भएका घर ६६.६ प्रतिशत र १५ प्रतिशत गोठ/धन्सार/मतान छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?