लोकतन्त्रमा पुस्तान्तरणको चेत !

Read Time = 16 mins

✍️ डा. चिरञ्जीवी भट्टराई

अहिले चलनचल्तीका धेरैजनालाई थाहा नहुन सक्छ-नेपालको लोकतन्त्र आजसम्म आइपुग्ने क्रममा धेरै जनाको भूमिका रहेको छ भन्ने तथ्य । यसमा आज बद्नाम मानिएका/हुँदै गएका पुराना राजनीतिक दलका कार्यकर्ता, युवा, विद्यार्थी, सर्वसाधारण धेरैको महत्वपूर्ण योगदान छ । लोकतान्त्रिक अभियानलाई सशक्त बनाउने क्रममा बुद्धिजीवी एवं नागरिक समाजको भूमिका थप उल्लेखनीय छ । किनभने २००७ सालमा स्थापित लोकतान्त्रिक व्यवस्था २०१७ सालमै तात्कालीन राजा महेन्द्रबाट खोसियो । आधुनिक व्यवस्थाले ल्याएका शैक्षिक एवं सामाजिक सुधारको जगमा उभिने प्रयास गरिरहेको गतिशीलता तत्कालीन समाजले निरंकुश राणाशासनको बदलामा अर्को निरंकुश तन्त्रलाई सहजै स्वीकार्ने अवस्था थिएन । लोकतन्त्रको स्थान शाहीतन्त्रले लिने सम्भावना नै थिएन ।

त्यसैले राजा महेन्द्रले लादेको पञ्चायती व्यवस्थाको प्रतिवाद सशस्त्र र निशस्त्र विभिन्न स्वरूपमा भयो । यस्तो आन्दोलनको क्रम ३० वर्षसम्म चल्यो । धेरै नेपालीले जिउज्यान गुमाए, अंगभंग भएर अपांग भए, जेलनेल र यातना भोगे, निर्वासित भएर सर्वश्व हरणमा परेर घरबारविहीन भए । आन्दोलनमा सक्रिय रूपमा संलग्न तर धैर्य नहुनेमध्येको एउटा ठूलै हिस्सा पञ्चायती शासकको लोभलालचमा पर्‍यो र लाभमा रमायो भने एउटा सानो हिस्साले नेपाली समाजलाई लोकतान्त्रिक पथमा प्रवेश गराउन अनवरत संघर्ष गर्‍यो ।

पछिल्लो समूहबाट केही राजनीतिकर्मी, केही बौद्धिक वर्ग र केही नागरिक समाजमा रूपान्तरित भए तर राजनीतिक यात्रालाई छोडेनन्, आन्दोलनलाई अविरल राखे, सामाजिक चेतलाई अघि बढाइरहे । त्यसकै जगमा आजको पुस्ताले अहिले उन्मुक्त राजनीतिक वातावरण र खुला समाज पाएको छ तर विडम्बनाको कुरा छ- यो सब सित्तैमा पाएको जस्तो ठान्छ ।

सित्तैमा पाइन्छ स्वतन्त्रता ?
भनिन्छ, मिहिनेत, लगानी विनासित्तैमा प्राप्त हुने कुराले धेरै महत्व राख्दैन । किनकि हालका दिनमा स्वतन्त्रता सबैका लागि सित्तैमा विनाअवरोध सधैंजसो उपलब्ध छ । आजको राजनीतिक नेतृत्व, बजार निर्देशित समाज एवं वैश्विक पुस्तालाई इतिहास खोतल्ने फुर्सद र चाख दुवै छैन । सरोकार छ त केवल वर्तमान र भविष्यको मात्र । विगतका संघर्ष, दुःख एवं यातनाका विवरण, योगदानका अभिलेख आज केवल दन्त्यकथामा रूपान्तरित भइसकेका छन् । त्यसैले विगतका अँध्यारा दिन थिए भनेरभन्दा पनि पत्याउने अवस्था छैन । उल्टै निरंकुशतन्त्रका भूतहरू आज सबैभन्दा क्रान्तिकारी भएका छन् र मिडियामा तिनकै चल्ती छ । सबैभन्दा बढी तिनकै विचार, अन्तर्वार्ता सुनिन्छन् ।

आजको राजनीतिक नेतृत्व, बजार निर्देशित समाज एवं वैश्विक पुस्तालाई इतिहास खोतल्ने फुर्सद र चाख दुवै छैन । सरोकार छ त केवल वर्तमान र भविष्यको मात्र । विगतका संघर्ष, दुःख एवं यातनाका विवरण, योगदानका अभिलेख आज केवल दन्त्यकथामा रूपान्तरित भइसकेका छन् ।

यसै प्रवृत्ति र जमातमा मस्तसँग लठ्ठिएको छ अहिलेको राजनीतिक नेतृत्व । तिनका लागि आफूबाहेकका सबै व्यक्ति एवं जनता नेतृत्व प्राप्ति र सत्तारोहण गर्दासम्मका लागि साधनमात्र हुन् । खोलो तरिसकेपछिको लौरो जस्तै ।

आफ्नो अभिष्ट पूरा भएपछिका लागि अनावश्यक भारमात्र । फलतः नेपाली समाजलाई अहिलेको लोकतान्त्रिक अवस्थासम्म पु¥याउनका लागि महत्वपूर्ण योगदान गरेको एउटा हिस्सा अहिले नदी तरेपछिको लौरोको नियति भोग्दै छ र राज्यबाट अपहेलित महसुस गर्दैछ । यसै वर्गका एक मूर्धन्य व्यक्तित्व हुनुहुन्छ- प्राध्यापक डाक्टर यज्ञप्रसाद अधिकारी ।

राजनीतिक यात्रा :
डा.यज्ञ लोकतान्त्रिक राज्यव्यवस्था स्थापना गर्ने क्रममा पञ्चायती काल, २०४७ को लोकतन्त्रदेखि गणतन्त्र स्थापना र त्यसपछिको समय गरी ४५ वर्षभन्दा बढी अवधि राजनीतिक, सामाजिक एवं बौद्धिक मोर्चाबाट सक्रिय योगदान गर्नेमध्येका अद्भूत व्यक्ति हुनुहुन्छ । यज्ञ अधिकारीले विद्यार्थी कालदेखि राजनीतिमा लागेर नेपाललाई खुला समाजमा रूपान्तरण गर्ने सपना देख्नुभयो । विश्वविद्यालयबाट उच्च अध्ययन गरेपछि प्राध्यापक भएर बौद्धिक क्षेत्रबाट अनवरत लोकतन्त्रका पक्षमा लागिरहनुभयो । उहाँ पञ्चायतकालको अति नै कठिन घडीमा पनि प्राध्यापनसँगै राजनीतिमा सक्रिय रहनुभयो ।

स्मरणीय के छ भने पञ्चायतकालका आन्दोलनमा राजनीतिक दलले विश्वविद्यालयलाई अखडा बनाउँथे र प्राध्यापक तथा विद्यार्थीलाई परिचालन गर्थे । किनभने सचेत र शिक्षित वर्ग विश्वविद्यालयसँग जोडिएको हुन्थ्यो । अहिले जस्तो सचेत नागरिक समाज, मिडिया, प्रविधि, सञ्चारका माध्यम थिएनन् । न्यून संख्यामा रहेभएमध्ये सबैजसो पञ्चायती व्यवस्था र राजदरबारको ताबेदारीमै मस्त थिए । २०३३ सालको विद्यार्थी आन्दोलनदेखि २०४६ को आन्दोलनको अवधिमा यज्ञले विभिन्न भूमिकामा रहेर काम गर्नुभयो । चितवनस्थित वीरेन्द्र क्याम्पस पढाउन थालेपछि राजनीतिक, आर्थिक एवं सामाजिक रूपमा सशक्त चितवनको समाजलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट मात्रै देशको भलो हुन्छ भन्ने तथ्य बुझाउन लाग्नुभयो । त्यसको प्रभावले पनि होला, पञ्चायतविरुद्धका आन्दोलनको मोर्चामा चितवन अग्रणी मध्ये रहृयो ।

सामाजिक न्याय र विकेन्द्रीकरण अभियान
२०४७ सालमा लोकतन्त्र पुनर्वहाली भएपछि उहाँ थप अध्ययनका लागि बनारस विश्व विद्यालय जानुभयो र त्यहाँबाट विद्यावारिधि (पीएचडी) गर्नुभयो । त्यसपछि पुनस्र्थापित लोकतन्त्रलाई संस्थागत गर्नु उत्तिकै चुनौतीपूर्ण छ भन्ने तथ्यलाई आत्मसात् गर्दै विद्यावारिधिपछिका दिनमा उहाँ निरन्तर लाग्नुभयो । किनकि व्यवस्था परिवर्तन एउटा पाटो हो तर समाज एवं राज्यको वास्तविक चरित्र परिवर्तन अर्को । लोकतन्त्रमा टाठाबाठा र सुकिलामुकिलाहरूले राज्यसत्ता कब्जा गर्ने सम्भावना सधैं रहन्छ । तिनको बोलबाला हुन थालेपछि राज्यमा सर्वसाधारणको पहुँच टाढिन्छ । विपन्न वर्गसम्म राज्य नपुग्ने सम्भावना बढेर जान्छ ।

राजनीतिक परिवर्तन भए पनि राज्यको समग्र चरित्रमा उल्लेखनीय परिवर्तन नआइसकेको यथार्थलाई बुझेर डा.यज्ञ अधिकारीले सामाजिक न्यायको अभियान थाल्नुभयो । राज्यमाथि सबैको सहज पहुँच हुन जरुरी हुन्छ भन्ने मान्यतालाई अघि बढाउन इतिहासमै पहिलो पटक नेपालभरि बहस एवं संवाद चलाउनुभयो । त्यसमा सरकार, नीतिनिर्माता, राजनीतिकर्मी, बुद्धिजीवी, नागरिक समाज र विभिन्न समुदायका प्रतिनिधि संलग्न भए । त्यो आफैंमा अर्को स्वरूपको आन्दोलन थियो । विसं २०५५ सालमा उक्त देशव्यापी संवाद सम्पन्न गरी नेपालको सन्दर्भमा सामाजिक न्याय विषयमा पुस्तक निकाल्नुभयो, जुन नेपालको सामाजिक न्यायको विषयमा सम्भवतः प्रकाशित पहिलो कृति हो ।

केन्द्रीकृत लोकतान्त्रिक व्यवस्थामा व्यापक जनसहभागिता र सुशासनका लागि वास्तविक विकेन्द्रीकरण जरुरी हुन्छ । तल्लो तहसम्म राज्य पुग्नुपर्छ र तृणमूल संस्थालाई सशक्त र प्रभावकारी बनाउन आवश्यक हुन्छ । उक्त उद्देश्यपूर्तिका लागि स्थानीय विकास तालिम केन्द्रको नेतृत्वमा बसेर स्थानीय स्वायत्तता र लोकतन्त्र सबलीकरणका कार्यक्रम सञ्चालन गर्नुभयो । साथै विभिन्न अध्ययन अनुसन्धान टोलीमा बसेर नीति, कानुन, योजना तथा कार्यक्रममा सुधार गर्नका लागि प्रतिवेदन तयार गर्ने, विचार अभिव्यक्त गर्ने र मार्ग देखाउने काम गर्नुभयो ।

अध्ययन, अनुसन्धान एवं प्रकाशन :
सरकारका मन्त्री एवं उच्चपदस्थ कर्मचारीका मनोगत चाहना एवं लहडका भरमा नीति निर्माण गर्ने, विकासे योजना बनाउने र तिनलाई कार्यान्वयन गर्ने परिपाटी व्याप्त रहेकै अवस्थामा निर्णय गर्नुपूर्व पर्याप्त अध्ययन, अनुसन्धान गरी पाइएका प्रमाणका आधारमा मात्र निर्णय प्रक्रिया अघि बढ्नुपर्छ भन्ने मान्यतालाई उहाँले अँगाल्नुभयो । लहडका भरमा चल्ने राजनीतिक दलका नेताहरूसँगको अति नै नजिकको सम्बन्ध र संगत हुँदाहुँदै प्राज्ञिक एवं बौद्धिक पाटोमा खरो उत्रने चुनौती उहाँलाई थियो । सत्ता, शक्ति र पैसाको मोहजालभन्दा धेरै टाढा त्रिभुवन विश्वविद्यालयस्थित नेपाल एसियाली अध्ययन केन्द्र (सिनास) मा रहेर उहाँले देश र जनताका जल्दाबल्दा विषयमा अध्ययन, अनुसन्धान, संवाद, विमर्श तथा प्रकाशन गर्नेगराउने काम गर्नुभयो ।

साथै प्रजातन्त्र संवद्र्धन केन्द्रबाट पनि देशका समसामयिक मुद्दामा बहस गराउनुभयो । उहाँले गरेका अनुसन्धान, लेखेका लेख, संयोजन र सम्पादन गरेका प्राज्ञिक सामग्रीहरू मुख्यतः समाजमा विद्यमान समस्या समाधान कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित रहे । यस क्रममा उहाँले नौ पुस्तक, दुई पुस्तकका परिच्छेद, नौ जर्नल लेख, १५ भन्दा बढी लेख पत्रपत्रिकामा लेखेर प्राज्ञिक एवं बौद्धिक क्षेत्रबाट योगदान गर्नुभयो । यसमा सामाजिक न्याय, विकेन्द्रीकरण, नेपालको विदेश नीति, नेपाली कांग्रेस, लोकतन्त्र, संविधान, सुशासनका विषय समाविष्ट छन् । उहाँले आफ्नो अध्ययन, अनुसन्धान र अभ्यासका क्रममा प्राप्त अनुभव, ज्ञान तथा सीपलाई अरूमा सार्ने क्रममा उहाँ धेरै जनाको गुरु अर्थात् शोध निर्देशक भएर स्नातकोत्तर र विद्यावारिधि गराउनुभयो । उहाँको प्रत्यक्ष निर्देशनमा रही विद्यावारिधि गर्नेहरूको समूहको यो लेखक पनि एक शिष्य हो ।

निश्कर्ष :
देशको लोकतन्त्रलाई उन्नत बनाउनका लागि बौद्धिक एवं प्राज्ञिक जगत्को भूमिका एवं योगदान संवेदनशील र महत्वपूर्ण हुन्छ । त्यसैले पञ्चायती शासनको कठिन दिनमा पनि लोकतान्त्रिक शासनव्यवस्था, सामाजिक, आर्थिक एवं शैक्षिक विकासका लागि अदम्य साहस एवं सक्रियताका साथ लाग्ने अग्रजहरूका कारण आजको लोकतन्त्र सम्भव भएको हो । नेपाली कांग्रेस जस्तो राजनीतिक दल सबैको अभियान बनेको हो र समाजको ठूलो हिस्सा लोकतन्त्रका लागि लड्न तयार भएको हो तर लोकतन्त्र स्थापनाका ३४ वर्ष र गणतन्त्र स्थापनाको १८ वर्षसम्म समाजमा थिति बस्न सकेन । राज्यले व्यक्तिको योगदानको मूल्यांकन र कदर गर्न सकेन । दलहरू केवल मुठ्ठीभर नेताको स्वार्थसिद्ध गर्ने माध्यम बने । सार्वजनिक पद तथा ओहोदा अकुत सम्पत्ति जोड्ने माध्यम बने ।

बजार लुट्न सक्नेहरूका लागि मात्र उर्बर भूमि रहृयो । यस्तो अवस्थामा पनि प्राध्यापक यज्ञ अधिकारी जस्ता हस्तीले राज्यबाट धेरै अपेक्षा गरेको देखिन्छ तर राज्यले विगतमा योगदान गर्नेहरूको यथोचित सम्मान, सहयोग र कदर गर्ला भनेर रत्तिभर पनि आशा राख्ने अवस्था पनि हाल छैन । किनभने आजको जमानामा हरेक व्यक्तिले आफूबाहेक अरुका विषयमा सोचिदेओस् भनेर अपेक्षा गर्नु नै मूर्खता हुन्छ । शारीरिक अस्वस्थताको अवस्थामा पनि । त्यसमा पनि नेपाली कांग्रेसको त के कुरा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?