पेसागत संगठनहरू शुभेच्छुक मात्रै बन्नुपर्छ : डा. कोइराला

‘नेविसंघ र प्रजातन्त्रवादी प्राध्यापक संघसँग खुसी छैन’

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पेसागत संगठनहरूले पार्टीमा प्रतिनिधित्व पाएका कारण सदा झगडा हुने गरेको बताउनुभएको छ । उहाँले प्राडा. कुलप्रसाद कोइरालाद्वारा लिखित ‘वेदमा जीवन र जगत्’ र ‘सिस्नाको आँठो’ कृतिको लोकार्पण गर्दै यस्तो जिकिर गर्नुभएको हो । डा. कोइरालाले अब त्यस्ता सबै संस्थाहरू आफैँले शुभेच्छुकमा परिणत गर्नुपर्ने आग्रह गर्नुभयो ।

डा. कोइरालाले भन्नुभयो, ‘सिद्धान्तबाट स्खलित हुन लागेको राजनीतिले व्यवहारका नाममा सही मार्ग छाडेको हुनाले आज सर्वत्र असन्तोष छाएको छ । यसलाई सही बाटोमा हिँडाउने विचार दिन बौद्धिक समुदाय पनि असमर्थ देखिएको छ ।’ उहाँका अनुसार वैदिक ज्ञानसँग सैद्धान्तिक राजनीतिलार्ई संयोजन गर्न सकेमा र जनतामा पुगेका अभियानहरूलाई सकारात्मक रूपमा हेर्न सके अझै पनि सही दिशामा राजनीति फर्कनेछ ।

कोइरालाले कांग्रेसले आफ्नो औचित्य पुष्टि गर्न नसके नाम मात्रैमा सीमित बन्ने पनि बताउनुभयो । उहाँले अहिले कांग्रेस व्यवहारवादी बन्दै चुक्दै गएको सुनाउनुभयो । कांग्रेसले सिद्धान्तहरूलाई छोड्दै जानु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो । नेता कोइरालाले लोकप्रियताको नाममा लोकरिजाइँको राजनीति हाबी हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा सांसद दिलेन्द्रप्रसाद बडूले वैदिक संस्कृतिको चर्चा गर्दै महर्षि महेश योगी फाउन्डेसनले वेदलाई प्रयोगात्मक तहमा पु¥याउन खोजिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पश्चिमी जगत् यसतर्फ आकर्षित भएको छ । तर, हामी पूर्वीयहरूले भने यतातिर कहिल्यै दृष्टि दिन सकेनौँ ।’ वेदमा जीवन र जगत्माथि साहित्यकार डा. तुलसीप्रसाद भट्टराईले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो ।

यस्तै, सिस्नाको आँठोका टिप्पणीकार प्राध्यापक तथा हिमालय टाइम्सका प्रधान सम्पादक पुरुषोत्तम दाहालले नेपाली राजनीतिको विसंगत पक्ष र सिद्धान्तच्युत राजनीतिमाथि प्राडा. कोइरालाले दरिलो झापड दिनुभएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्वभाव, चरित्र र व्यवहार असल नभएको नेतृत्व जनतासँग जोडिन सक्दैन ।’

प्राडा. जयलक्ष्मी प्रधानको सभापतित्वमा भएको कार्यक्रममा लेखक कोइरालाले लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेको अवस्थामा भोगेका अनेक यातनाहरूको स्मृतिले सिस्नाको आँठो जन्मेको र नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारीमा रहेको समयले वेदप्रति आकर्षण र प्रेरणा मिलेको सुनाउनुभयो । प्राडा. कोइराला यस दैनिकका नियमित स्तम्भ लेखक हुनुहुन्छ ।

२७५ पृष्ठको सिस्नाको आँठोमा ६८ वटा आँठाहरू छन् भने प्रा. पुरुषोत्तम दाहालको समीक्षात्मक भूमिका रहेको छ । स्वदेश प्रकाशन प्रालिद्वारा प्रकाशित यो कृतिको मूल्य ६०० रहेको छ । यसैगरी, सोही प्रकाशनद्वारा प्रकाशित १८९ पृष्ठको वेदमा जीवन र जगत्माथि प्रा. तोयराज नेपालको भूमिका र साहित्यकार गोपाल पराजुलीको शुभेच्छा छ । यस कृतिको मूल्य ४०० रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?