अब ६६ पृष्ठको राहदानी पाँच हजार रुपैयाँमा उपलब्ध हुने

Read Time = 3 mins

काठमाडौं । राहदानी विभागले सेवाग्राहीलाई असार १ गतेबाट ६६ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको छ ।

यसअघि जिल्ला प्रशासन कार्यालयहरूले १० हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको उक्त राहदानी आइतबारबाट ५ हजार रुपैयाँमा उपलब्ध गराउने भएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले गत जेठ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ६६ पृष्ठको राहदानी ३४ पृष्ठको राहदानीबराबरको मूल्यमा सेवाग्राहीलाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो। ‘जनतालाई असुविधा नहोस् र सुपथ मूल्यमा फ्रिक्वेन्ट फ्लायरले लिँदै आएको पासपोर्ट सर्वसाधारणलाई उपलब्ध गराउन निर्णय गरेका हौँ,’ उहाँले भन्नुभयो ।

यसअघि राहदानी विभागले जिल्ला प्रशासन कार्यालयहरुबाट फ्रिक्वेन्ट फ्लायर (समय–समयमा विदेश गइरहने)लाई ६६ पृष्ठको राहदानी १० हजार रुपैयाँमा सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको थियो ।

यस्तै, सामान्यतया विदेश जाने सेवाग्राहीलाई विभागले ३४ पृष्ठको राहदानी ५ हजार रुपैयाँमा दिँदै आएको थियो ।

विभागले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालय, राहदानी सेवा प्रदान गर्ने इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित सबै नेपाली नियोगहरूलाई परिपत्र गरेर राहदानी दस्तुरसम्बन्धी जानकारी गराएको विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिनुभयो ।

परिपत्रमा मन्त्रिपरिषद्को निर्णयअनुसार ६६ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर ३४ पृष्ठको साधारण विद्युतीय राहदानीको दस्तुर सरह कायम गर्ने गरी संशोधन गरिएको र असार ३ गतेबाट संशोधित दस्तुर लागू गर्न निर्देशन दिइएको छ । राहदानी दस्तुरसम्बन्धी व्यवस्था पूर्ववत् रहेको निर्देशक सापकोटाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?