पोर्चुगल र ब्राजिलको जित

Read Time = 3 mins

लण्डन । युरोकप २०२४ को छनोट खेलमा पोर्चुगलले बोस्निया एण्ड हर्ज गोभिनामाथि ३-० को सानदार जित हात पारेको छ । लिस्वोआमा शनिबार राती भएको खेलमा घरेलु टोली पोर्चुगलको जितमा बु्रनो फर्नान्डेसले दुई तथा बर्नाडो सिल्भाले एक गोल गर्नुभयो । खेलको ४४औँ मिनेटमा बर्नाडो सिल्भाको गोलबाट पोर्चुगलले १-० को अग्रता लिएको थियो ।

७७औँ मिनेटमा बु्रनोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पार्नुभयो । उहाँले रुवेन नेभेसको पासमा गोल गर्न सफल हुनुभयो । त्यसपछि इन्जुरी समयको थप गरिएको तेस्रो मिनेटमा बु्रनोले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्नुभयो ।

यस जितसँगै समूह ‘जे’ मा अपराजित रहेको पोर्चुगल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित बोस्निया ३ खेलबाट ३ अंक जोडेर चौथो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा स्लोभाकियाले आइसल्याण्डलाई २-१ ले तथा लक्जेमवर्गले लिचेस्टाइनलाई २-० ले पराजित गरेको छ । यस जितले स्लोभाकिया ३ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । आइसल्याण्ड ३ अंक जोडेर पाँचौँ स्थानमा छ । लक्जेमवर्ग ४ अंक जोडेर तेस्रो स्थानमा रहँदा लिचेस्टाइन अंकविहीन हुँदै पुछारमा छ ।

यस्तै, अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले अफ्रिकी राष्ट्र गिनियामाथि ४-१ को सानदार जित हात पारेको छ । ब्राजिलको फराकिलो जितमा जोइलिन्टन, रोड्रिगो, एडर मिलिसाओ र भिनिसियस जुनियरले गोल गर्नुभयो । गिनियाका सेरोउ गुइरासीले एक गोल फर्काउनुभयो ।

खेलको २७औँ मिनेटमा जोइलिन्टनले गोल गर्दै ब्राजिललाई १-० को अग्रता दिलाउनुभयो । खेलको ३०औँ मिनेटमा रोड्रिगोले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पार्नुभयो ।

३६औँ मिनेटमा सेरोउ गुइरासीले इसिएगा स्यालाको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा २-१ को स्थितिमा ल्याउनुभयो । ४७औँ मिनेटमा मिलिसाओले लुकास पाक्वेटाको पासमा गोल गर्दै ब्राजिललाई सहज जिततर्फ अघि बढाउनुभयो ।

त्यसपछि ८८औँ मिनेटमा भिनिसियस जुनियरले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ४-१ को सानदार जित दिलाउनुभयो । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?