सतर्कता र तयारी आवश्यक

हिमालय टाइम्स
Read Time = 6 mins

मनसुन सक्रिय भएको छ । प्रारम्भमै देशको विभिन्न ठाउँबाट बाढीपहिरोले ठूलो धनजनको क्षति भएका दुःखद् खबर आएका छन् । बर्खा लागेपछि प्रायः अप्रिय प्रकोपका घटनाहरू हुने गरेका छन् । यो वर्ष पनि अपवाद बन्न सकेन । प्रारम्भिक चरणमै दुःखद् घटना भए । यसमा सामान्यतया कसैलाई दोष दिनु त्यति उपयुक्त हुँदैन तर सतर्क रहनु भने आवश्यक छ । अर्कोतर्फ घटना हुनुमा कोही दोषी नभए पनि घटनापछिको उद्धारमा भने सरकार तथा स्थानीय तदारुकताका साथ लाग्नुपर्छ । विषय मानवीय र संवेदनायुक्त हुने भएकाले सबै पक्षको सहयोग अपेक्षित नै हुन्छ ।

नेपाल हिमालय पर्वतबाट दक्षिणतर्फ फर्केको भिरालो जमिनबाट बनेको छ । यो पानीढलो पूर्णरूपमा दक्षिणतर्फ कोल्टो परेको छ । हिमालयको काखको देश भएका कारण यहाँ नदीनाला प्रसस्तै छन् । तिनका स्रोतहरू धेरैजसो हिमालय पर्वत नै हुन् । कुनै ठूला नदीहरू हिमालपारिदेखि आएका छन् । अधिकांश हिमालय पर्वत स्रोत भएका छन् । थोरै संख्यामा पहाड विशेषतः महाभारत पर्वतबाट र केही थोरै संख्यामा चुरे पर्वतबाट निसृत नदीहरू पनि छन् । यस अर्थमा एकातिर भिरालो र कमलो माटोले बनेको जमिन र नदीनालाहरूको संख्या अधिक भएकाले बाढीपहिरो जस्ता प्रकोपको त्रास नेपालमा धेरै हुनेगरेको छ ।

अर्कोतर्फ फाँटिला र बाढीपहिरोको त्रास नभएका ठाउँहरू अत्यन्त कम भएकाले हाम्रो देशका अधिकांश बस्ती पाखाभित्तामा वा नदी छेउछाउका तटीय क्षेत्र वा बगरमा अवस्थित छन् । जसले गर्दा हिमाली तथा पहाडी क्षेत्रमा बाढीपहिरोको भय बर्खाभरि रही नै रहने गर्छ भने त्यही पहाडी क्षेत्रबाट बगेर जाने पानी तराईमा पुगेपछि त्यहाँ समथर जमिन भएकाले पहाडी क्षेत्रमा जसरी तीव्र गतिमा बग्न पाउँदैन । माथिबाट बगेर आउने पानीको मात्रा थपिइरहने र तल निकास भने सुस्त गतिमा प्रवाहित हुने हुँदा तराई क्षेत्र बर्खायाममा डुबानमा पर्नेगर्छ । कुन वर्ष कुन क्षेत्रमा बढी पानी पर्छ र त्यसको मार कता कसरी पर्छ भन्ने अनुमान गर्न गाह्रो हुन्छ ।

त्यसकारण प्रकृतिको मार कुन वर्ष कतातिरका मानिसले सहनुपर्ने हो भन्न नसकिने कुरा हो । विगत वर्षमा सिन्धुपाल्चोकको मेलम्चीमा ठूलो धनजनको क्षति भएको थियो भने फरक-फरक ठाउँमा यस्ता प्रकोप हुने गरेका छन् । यस वर्ष बर्खा लाग्नासाथ पूर्वी पहाडी जिल्लाहरूले सोही प्रकारको क्षतिको सामना गर्नुपरेको छ । खेतबारी बाढीमा परेका छन्, केही विकास निर्माणका आयोजनामा क्षति पुगेको छ । ठूलो संख्यामा मानिस बेपत्ता छन् । मर्नेहरूको संख्या थोरै र बेपत्ता हुनेहरूको संख्या अधिक छ । सामान्यतया अपवादलाई छोडेर भन्ने हो भने बेपत्ता भएका भनिएका पनि कुसल भेटिने सम्भावना न्यून हुन्छ । यसर्थ बर्खाको सुरुवातसँगै भएको क्षति ठूलो हो ।

एक सय दिन मनसुन सक्रिय रहने भनिएकोमा हाल चार/पाँच दिनमात्र भएको छ, अझै ९५ दिन मनसुन सक्रिय रहने अनुमान रहेको हुँदा सो अवधिमा अनेकौं बितन्डा नेपालीले भोग्न बाँकी छ । यसका लागि पहिलो आवश्यक भनेको सतर्कता नै हो । स्थानीय बासिन्दा आफैं पनि सतर्क रहनुपर्छ र सम्भावित जोखिम क्षेत्रमा बस्नुहुँदैन । त्यस्ता ठाउँमा बसोवास भए सुरक्षित क्षेत्रमा सर्नु आवश्यक छ । यस्ता विषयमा बलमिच्याइँ गर्नु हुँदैन । यसका लागि सरकारको एउटा तह स्थानीय निकायले पनि त्यस्ता ठाउँका बासिन्दालाई सतर्क गराउनुपर्छ ।
आफ्नो ठाउँका त्यस्ता जोखिमयुक्त बसोवासको क्षेत्र रहेछ भने त्यसलाई अन्यत्र सार्ने वा सुरक्षित गर्ने प्रयास गर्नु आवश्यक छ ।

प्रकृतिमाथि विजय गर्न नसकिए पनि प्रकोपको परिणाम कम गर्न सकिन्छ । अर्कोतर्फ प्रकोप भइसकेपछि उद्धार र राहतको कमी हुन दिनुहुँदैन । यस्ता घटनामा परेका व्यक्तिलाई समयमै उद्धार गरेर उपचार गर्न सकियो भने ज्यान बचाउन सकिन्छ । यसका साथै यस्ता प्राकृतिक प्रकोपमा परेर घरबारविहीन बन्न पुगेका, अन्न र लत्ताकपडासमेत त्यस्तै घटनामा परेर खाने, लाउने, बस्ने केही नभएकाका लागि तत्कालीन र दीर्घकालीन राहतको व्यवस्था गरिनु आवश्यक छ । यसतर्फ सम्बन्धित सबै निकाय वा व्यक्तिले आवश्यक व्यवस्था गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?