पोखरा महानगरद्वारा भ्रमणका लागि चिनियाँ नागरिकलाई निम्तो

हिमालय टाइम्स
Read Time = 4 mins

पोखरा । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल-चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरुको वृद्धि हुने बताउनुभएको छ ।

बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडान अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मुस्ताङको कोरला नाका खुलिसकेपछि सडक मार्ग हुँदै चिनियाँ पर्यटकहरु पोखरा आउने सम्भावना उच्च रहेको बताउनु भयो । उहाँले नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभल जस्तै समयसमयमा विभिन्न फेस्टिबलहरुको आयोजना भइरहेको खण्डमा पनि चिनियाँ पर्यटकहरु वृद्धि गर्न सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई सबै पक्षबाट साथ सहयोग रह्यो र यहाँ चिनियाँ पक्षबाट पनि सहयोग भयो र साथै पर्यटकीय गतिविधिहरु पनि यहाँबाट बढाएँदै लैजान सकियो भने विमानस्थल नियमति सुचारु हुनसक्छ । यहाँ हामीले विभिन्न फेस्टिबलहरु बारम्बार गरिरहनुपर्छ । दोस्रो मुस्ताङबाट नाका खोल्न सक्यौँ भने धेरै भन्दा धेरै चिनियाँ पर्यटकलाई सडकबाटै पोखरा ल्याउन सकिन्छ । यो मुख्य आकर्षणको केन्द्र हुन्छ ।’

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टड उडानसँगै नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ बन्ने बताउनु भयो । उहाँले चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको पनि बताउनु भयो । उहाँले चीनले आगामी दिनमा पनि विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस सुखद् विमान अवतरणसँगै १५ सय वर्ष पुरानो नेपाल र चीनबीचको सम्बन्ध झनै प्रगाढ बन्ने अपेक्षा राखेको छु । चीनका विभिन्न नगरहरुसँग पोखराको भगिनी सम्बन्ध थप उचाईमा पुग्ने विश्वास लिएको छु । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको मित्र राष्ट्र चीनले बाँकी दिनहरुमा पनि त्यहाँका विभिन्न मुख्य शहरहरुबाट नियमित उडान गर्न प्रेरित गर्ने अपेक्षा लिएको छु । म यसै मञ्चबाट सुन्दर नगरी पोखरा भ्रमणका लागि चिनियाँ नागरिकहरुलाई आग्रह गर्दछु । अब दुई देशबीचको भावनात्मक र पर्यटनको लागि सम्बन्ध बिस्तार हुने अपेक्षा राखेको छु ।’

प्रमुख आचार्यले चिनियाँ नागरिकहरुलाई पोखरा भ्रमणका लागि निम्तोसमेत दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?