सांस्कृतिक संस्थानले मनायो ५१औं वार्षिकोत्सव

Read Time = 3 mins

काठमाडौं । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१औं वार्षिकोत्सव मनाएको छ । संस्थानले वार्षिकोत्सवको अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुतसहित विभिन्न स्रष्टालाई पुरस्कारसमेत प्रदान गरेको छ ।

सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न वार्षिकोत्सव समारोहमा वरिष्ट गायक/संगीतकार तथा साहित्यकार गणेश रसिकलाई सभामुख घिमिरेले ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’बाट सम्मानित गर्नुभयो । उनलाई ५१ हजार रुपैयाँसहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरिएको थियोे ।

कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०बाट वरिष्ट गायक÷संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईलाई पुरस्कृत गरिएको थियो भने सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट वरिष्ट नृत्यकलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री शुष्मा शाहीलाई पुरस्कृत गरिएको थियो ।

संस्थानमा रहेर लामो समय सेवा गरेको र सम्बन्धित विधामा निरन्तर योगदान दिएको भन्दै जनही ५१ हजार रुपैयाँसहित यी तीन कलाकारलाई पुरस्कृत गरिएको हो । यस वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशवराज राईलाई प्रदान गरिएको थियो ।

वार्षिकोत्सवमा सबैलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले संस्थानमा रहेर आफूले गरेको विभिन्न कार्यको जानकारी गराउँदै लोक संस्कृतिको अभिलेखीकरणदेखि सांस्कृतिक फोटो पुस्तक प्रकाशनसम्मको चर्चा गर्नुभयो ।

वार्षिकोत्सवको शुभकामना दिँदै सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै संरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठूलो योगदान रहेको बताउनुभयो । समारोहको दोस्रो शत्रमा हिमालदेखि तराईसम्मका विविध गीतसंगीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?