गुल्मीदरबारको नीति तथा कार्यक्रमः शिक्षा र कृषिमा प्राथमिकता

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 10 mins

गुल्मी । जिल्लाको गुल्मीदरबार गाउँपालिकाले शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँसभाको तेह्रौँ अधिवेशनमा गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले ३१८ बुँदामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष थापाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शिक्षा (४४ बुँदा) र कृषि (५२ बुँदा) सँगै स्वास्थ्य (३१ बुँदा) र उद्योग व्यवसाय तथा पर्यटन (१७ बुँदा) लाई पनि प्राथमिकतामा राखिएको छ । संस्कृति (३ बुँदा), युवा तथा खेलकुद विकास (८ बुँदा), लैङ्गिक समानता र सामाजिक समावेशीकरण (२७ बुँदा), सहकारी एवम् वित्तीय संस्था (९ बुँदा), सूचना तथा सञ्चार (५ बुँदा), न्याय कानुन तथा मानव अधिकार प्रवर्द्धन (५ बुँदा), सुशासन तथा संस्थागत विकास (५९ बुँदा), खानेपानी तथा सरसफाई (६ बुँदा), वातावरण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन (१७ बुँदा), भौतिक पूर्वाधार विकास (२३ बुँदा) र राजस्व तथा आन्तरिक स्रोत (१२ बुँदा) प्रस्तुत गरिएको थियो ।

‘उत्कृष्ट शैक्षिक गन्तव्य गाउँपालिका-हाम्रो पहिचान’ भन्ने लक्ष्य प्राप्तिका लागि सरकारी तथा नीजि क्षेत्रका शैक्षिक संस्थाहरुबाट प्रदान गर्ने उच्च शिक्षालाई थप गुणस्तरीय र सर्वसुलभ तुल्याउन त्यस्ता प्राज्ञिक संस्थाहरुसँग सहकार्य र साझेदारी गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । ‘विद्यार्थीसँग गाउँपालिका’, ‘अध्यक्ष अशोक कुमार थापा छात्रवृत्ति कार्यक्रम’, ‘उपाध्यक्ष छात्रा प्रोत्साहन कार्यक्रम’, ‘अध्यक्ष नानीबाबु प्रतिभा’ र ‘हाम्रो विद्यालय राम्रो विद्यालय, मेरो विद्यालय मेरो फुलबारी’ लगायतका शिक्षामा विभिन्न खालका नीतिहरु समावेश गरिएको छ ।

गाउँपालिका भित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाहरुको संरक्षण, सम्वद्र्धन गर्ने एवम् विभिन्न जातजातिहरुको धर्म, संस्कृतिको संरक्षण, सम्वर्द्धन गर्दै धार्मिक पर्यटनलाई बढवा दिने नीति लिइएको अध्यक्ष थापाले बताउनुभयो । वैदेशिक रोजगारबाट फर्केका युवाहरुले आर्जन गरेको ज्ञान र सिप सदुपयोग गर्दै स्वरोजगार र उद्यमशीलता विकासका लागि विभिन्न कार्यक्रम गरिने उल्लेख गरिएको छ । अध्यक्ष युवा उद्यम कार्यक्रम मार्फत युवालाई ‘विदेश हैन बिजनेस’ भन्ने भावना जागृत तुल्याई स्वरोजगार उन्मुख गराइने उल्लेख गर्नुभयो ।

रोजगारी सृजना गर्न विपन्न, गरीब, सुकुम्बासी परिवारका युवाहरुलाई इलेक्ट्रोनिक्स सामाग्री मर्मत, प्लम्बिङ्ग, ईलेक्ट्रो-मेकानिकल, इलेक्ट्रीसियन, मेकानिकल, ब्युटी पार्लर, होटल म्यानेजमेन्ट, टायल-मार्बल जडान, व्यवसायिक पशुपालन तथा तरकारी खेती जस्ता तालिम प्रदान गरिने बताउनुभयो । खेलाडीहरुको पहिचान तथा विकासको लागि ‘खेलाडीसँग गाउँपालिका कार्यक्रम’ सञ्चालन गर्ने, खेलकुदलाई चलायमान बनाई खेलाडीहरुके क्षमता विकासको लागि अध्यक्ष कप खेलकुद प्रतियोगिता र पालिका स्तरीय खेलकुद विकास समिति एवम् एक वडा एक व्यवस्थित क्लब गठनको नीति लिईने उल्लेख गर्नुभयो ।

४० वर्ष नाघेका अविवाहित महिला र ४५ वर्ष नाघेका अविवाहित पुरुषलाई जीवन निर्वाहका लागि विशेष व्यवस्था मिलाईने भएको छ । महिला, बालबालिका, अल्पसंख्यक, भूमिहिन, अतिगरीब, आदिवासी जनजाती र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रम सञ्चालन गरिने नीति ल्याइएको अध्यक्ष थापाले बताउनुभयो । ‘हिंसा मुक्त गाउँपालिका हाम्रो पहिचान’ अभियान सञ्चालन गर्ने, ‘जेष्ठ नागरिकसँग गाउँपालिका कार्यक्रम’ सञ्चालन गर्ने, ‘उपाध्यक्षसँग बालबालिका कार्यक्रम’ सञ्चालन गर्ने, ‘उपाध्यक्ष उद्दार तथा सहायता कोष’ स्थापनासँगै समान कामको लागि समान पारिश्रमिक दिने राज्यको नीतिलाई प्रभावकारी कार्यान्वयन गरिने नीति ल्याइएको छ ।

गाउँपालिकाले एम.वि.वि.एस. डाक्टरको नियुक्ति गरी विशेषज्ञ सेवा प्रवाह गर्न आगामी आर्थिकमै सुरु गरिने उल्लेख गर्दै अध्यक्ष थापाले गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालनमा ल्याइने बताउनुभयो । पूर्ण संस्थागत प्रसुति सेवाको सुनिश्चित गर्दै जिरो होम डेलिभेरी बनाउनको लागि आवश्यक कार्य अगाडि बढाइने, ‘हाम्रो गाउँ-स्वास्थ बनाउँ’ अभियान सञ्चालन गरिने, सीमान्तकृत गरीव तथा पछाडी परेका समुदायलाई लक्षित गरी स्वास्थ्य सम्बन्धि विशेष कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्न गाउँपालिकाको पर्यटन गुरुयोजना तर्जुमा गर्ने, पर्यटन पूर्वाधार विस्तार र पर्यटन विकासका कार्यहरु सञ्चालन गर्ने, अन्तर पालिका सम्बन्ध प्रवर्द्धन गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका स्थानीय तहहरुसँग भगिनी सम्बन्ध विस्तार गरिने, अतिथि देवो भव भन्ने संस्कारलाई कायम राख्न पालिकाका विभिन्न स्थानमा होमस्टे सञ्चालन गरिने, पर्यटन विकासको लागि साहसिक खेलहरु स्काई साइक्लिङ, बन्जी जम्मिङ, जिप लाईन, स्वीङ्ग निर्माण लागि सम्भाव्यता गरिने, स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थ प्रयोग गरी निर्माण हुने स्थानीय मदिारालाई ब्रान्डिङ्ग गरी अन्तर स्थानीय तह बजारीकरणको व्यवस्था मिलाईने अध्यक्ष थापाले बताउनुभयो ।

कृषि र पशुपालनलाई आधुनिक प्रविधिमा आधारित तुल्याउँदै व्यवसायिकरण गरिने, व्यवसायिक कृषि पकेट क्षेत्रमा सिंचाई, कृषि सडक, विद्युतिकरण, कृषि बजार, सित भण्डार, तथा गोदाम घरहरुको पूर्वाधार निर्माणको लागि पहल गर्ने अध्यक्ष थापाले बताउनुभयो । मासु पसल तथा बधशालाहरुको पुर्वाधार निर्माण एवम् स्तरोन्नति गरि स्वास्थ्य मापदण्डमा आधारित बनाउने, बिपद्बाट किसानको धनमा हुने क्षेतिको राहतको लागि आकस्मिक कृषि एवम् पशु उपज संरक्षण कोष स्थापना गर्ने, गाउँपालिकालाई मह उत्पादनमा आत्मनिर्भर बनाउन मह प्रशोधन र प्याकेजिङ्गको लागि लागत साझेदारीमा अगाडि बढाईने नीति गाउँपालिकाले लिएको नीति गाउँपालिकाले लिएको छ ।

कृषिलाई व्यवसायिक बनाउन ‘व्यवसायिक रुपमा खेती गरौं, कृषिमा आत्मनिर्भर बनौं’ नारा नै लिएर अगाडि बढ्ने, ‘एक वडा एक नर्शरी कार्यक्रम’संचालन गरी सबै वडामा व्यवसायिक नर्सरी स्थापना गर्ने, एक घर एक करेसाबारी कार्यक्रम संचालन गर्ने, कृषिको बजारीकरणको लागि मुख्य बजारक्षेत्रमा हाटबजार संचालन गर्ने, बाँझो जमिनमा उखु, टिमुर, कागती, ओखर, लप्सी, कुरिलो, अम्रिसो, जंगली फलफुलका बिरुवा रोप्ने समेत नीति लिएको अध्यक्ष थापाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?