विद्युत् आयोजनाहरूमा आठ अर्ब बढीको क्षति

Read Time = 7 mins

काठमाडौं । बाढीपहिरोका कारण पूर्वीनेपालका ३० जलविद्युत् आयोजनामा साढे आठ अर्ब बढीको क्षति भएको छ । असार १ र २ गते ताप्लेजुङ, पाँचथर, संखुवासभा र भोजपुर जिल्लामा आएको बाढीपहिरोका कारण चार सय ६३ मेगावाटका ३० जलविद्युत् आयोजनामा क्षति भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रारम्भिक अध्ययनले देखाएको हो ।

इपानको अध्ययन प्रतिवेदनअनुसार अप्रत्याशित बाढीका कारण एक सय ३२ मेगावाट विद्युत् उत्पादन गरिरहेका १२ आयोजनामा करिब छ अर्ब बराबरको क्षति भएको छ । सबैभन्दा ठूलो आयोजना २५ मेगावाटको काबेली बी-१ मा ५० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

उत्पादनमा रहेका आयोजनामध्ये सबैभन्दा धेरै क्षति २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजनामा एक अर्ब बराबरको क्षति भएको आयोजनाका अध्यक्ष सिताराम तिमल्सिनाले बताउनुभएको छ । भौतिकरूपमा सबैभन्दा धेरै क्षति भएको ४.७ मेगावाटको अपर पिलुवा–२ जलविद्युत् आयोजनामा ९० करोडको क्षति भएको मेन्छियाम हाइड्रोपावरका अध्यक्ष एवं संखुवासभाका सांसद दीपक खड्काले बताउनुभएको छ । उक्त आयोजनामा हेडवर्कस, पाइप अलाइनमेन्ट, पावर हाउसलगायतका भौतिक संरचना पूर्णरूपमा क्षति भएर आयोजनाको पुनर्निर्माणका लागि दुर्ई वर्षभन्दा बढी समय लाग्ने देखिएको उहाँको भनाइ छ ।

त्यस्तै, १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत्मा ९५ करोडको क्षति भएको आयोजना प्रवद्र्धक पुष्पज्योति ढुंगानाले बताउनुभएको छ । बाढीका कारण पूर्वीनेपालका चार जिल्लामा निर्माणाधीन १७ आयोजनामा साढे दुई अर्ब रुपैयाँ बढीको क्षति भएको छ । सबैभन्दा धेरै क्षति सुपर हेवाखोला जलविद्युत् आयोजनामा ८० करोडबराबरको क्षति भएको छ । उक्त आयोजना निर्माणमा खटिएका १८ जना मजदुरलाई बाढीले बगाएर बेपत्ता बनाएको थियो । हालसम्म चारजनाको मात्र शव भेटिएको छ । ९० प्रतिशत निर्माण पूरा भइसकेको आयोजनामा बाढीले क्षति पुर्‍याउँदा आयोजनाको पुनर्निर्माणमा डेढदेखि दुर्ई वर्षसम्म थप समय लाग्ने आयोजनाका अध्यक्ष हर्कबहादुर तामाङले बताउनुभएको छ ।

९७.५ मेगावाटको इसुवाखोला जलविद्युत् आयोजनामा पनि ५० करोडबराबरको क्षति भएको आयोजनाका अध्यक्ष वीरेन्द्रबहादुर न्यौपानेले बताउनुभएको छ । ९.७ मेगावाटको इड्वाखोलामा पनि ५० करोडबराबरको क्षति भएको आयोजनाका प्रवद्र्धक सतिष न्यौपानेले बताउनुभएको छ । इपानले प्रतिवेदन तयार गर्ने जिम्मेवारी महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सदस्य कुवेरमणि नेपाल, ई. मिथुन पौडेल र चार्टर्ड एकाउन्टेन्ट टिएन आचार्यलाई दिएको थियो । प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने भएको छ ।

केही अघिमात्र इपानले बाढीपहिरोले क्षति पुर्‍याएका १९ जलविद्युत् आयोजनाको सञ्चालन र ऋणको अवधि एक वर्ष थप गर्न माग गरेको थियो । क्षतिका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । आठबुँदे ज्ञापनपत्रमा बाढी प्रभावित जलविद्युत् आयोजनाको पहुँच मार्गको तत्काल मर्मतसम्भार गर्ने व्यवस्था गर्न, बाढीले बगाएका कामदारको परिवारलाई प्राकृतिक विपत्ति कोषबाट प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिन, बाढीले क्षतिग्रस्त सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनालाई सञ्चालन अनुमति एक वर्ष ऋणको अवधि थप गर्न, बाढीले क्षतिग्रस्त सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजना निर्माण अवधि थप र एक वर्षको ऋणको ब्याज मिनाहा गर्न माग गरिएको छ ।

त्यस्तै, क्षतिग्रस्त आयोजनालाई नेपाल राष्ट्र बैंकमार्फत् पाँच वर्षका लागि रिफाइनान्स सुविधा उपलब्ध गराउन, विश्वव्यापी ग्लोबल वार्मिङका कारण परिवर्तन भइरहेको जलवायु परिवर्तनले नेपालजस्तो उच्च भौगोलिक बनावट तथा कठिन भूगोलमा निर्माण हुने जलविद्युत्लगायत हरित ऊर्जाका संरचनामा पार्ने प्रत्यक्ष भौतिक तथा मानवीय क्षतिका सम्बन्धमा अन्तर्राष्ट्रियकरण गरी नेपाल बिमा प्राधिकरण, बिमा कम्पनी तथा पुनर्बिमा कम्पनीहरूमार्फत् यथासक्य चाँडो क्षतिको दाबी भुक्तानी व्यवस्था गर्न माग गरेको छ । बाढीले क्षति पुगेका आयोजनामा निर्माण भइसकेका संरचना बगाउँदा पुनर्निर्माण गर्नुपर्ने र सञ्चालनमा आएका आयोजनाको मासिक आम्दानीसमेत गुमेका कारण बैंक तथा वित्तीय संस्थामा ऋण भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको इपानले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?