अनुदानदिने कार्यालयले नदेखेको मौरीपालन, एकै व्यक्तिले पालेका छन् ४० घार मौरी

लालीगुराँसेमा दिनेश तामाङको घरमा रहेका मौरीका घार, यसरी नै उहाँले अर्को घरमा पनि मौरी पाल्नु भएकाे छ ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 6 mins

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-२ दिक्तेल लालीगुराँसेका दिनेश तामाङले अहिलेसम्म कहीँ कतैबाट मौरीकालागि अनुदान पाउनुभएकाे छैन ।

माग्न, खोज्न जानुपर्‍याे नि अनि पो पाइन्छ भन्ने सोचाई आउन सक्छ । तर, तामाङ अनुदानकै लागि वडा कार्यालय हुँदै कृषि ज्ञानकेन्द्र, नगरपालिका पुग्नुभएकाे छ, धाउनु भएकाे छ । माननीय सम्मलाई फोन घुमाउँदा पनि उहाँले अनुदान पाउनु त फरक कुरा, कोहीबाट गुलियो वचनसमेत पाउनुभएकाे छैन ।

पर्यटकीयस्थल रुपाकोट डाँडालालीमा तामाङले सेरेना जातको ४० घार मौरी पाल्नुभएकाे छ । डुढमा २० घार र दुई घरको २० वटा खोपामा पालेको मौरी रहरै लाग्दो छ । तलखोपा, खोपामाथि डुढमा मौरी खेलिरहने दृश्य साँच्चिकै आनन्दको छ । तामाङको उज्यालो भएदेखि अवेर रातीसम्म मौरीको चाकरमै समय बित्छ ।

मौरीलाई मुख्यगरी अरिङगाल, सुलसुले र सेतो पुतलीबाट जोगाउनमा समय वित्ने गरेको तामाङ बताउँनुहुन्छ ।तामाङले एक सिजनमा मौरीको मह बेचेर १ लाख ५४ हजारसम्म कमाई गर्नुभएकाे छ ।

मौरी जेठ १५ र १६ गते तथा कात्तिक ७ र ८ गते काढ्ने गरेकाे उहाँले बताउनुभयाे ।  उहाँले मौरीको मह बेचेरै जेठी छोरीलाई सरस्वती नमुना मावि दिक्तेलमा कक्षा-१० मा तथा दुई छोरी र एक छोरालाई मुडेस्थित निगाले आधारभूत विद्यालयमा पढाई रहनुभएकाे छ । मौरीको मह बेचेर उहाँले लत्ताकपडा देखि घरखर्च पनि जुटाउने गर्नुभएकाे छ ।

तामाङले गएको जेठ १५ र १६ गते ४० घार काढ्दा हालसम्म ९० बोतल १५ सयका दरले विशुद्ध अर्गानिक मह बिक्रीगरिसकेकाे बताउनुभयाे । अब १३ बोतल मह बिक्रीगर्न बाँकी रहेको उहाँ बताउँनुहुन्छ । महका लागि अधिकांश ग्राहक घरमै आईपुग्छन् । कतीले फोनमा सम्पर्क गरेर माग्ने गरेको उहाँले बताउँनुभयाे ।

मह बेचेरै सानातिना ऋण समेत उहाँले तिर्ने गर्नुभएकाे छ । विगत दश वर्षदेखि लालीमा व्यवसायिक रुपमा मौरी पालन गरिरहनुभएका ३६ वर्षीय तामाङ मौरी सम्बन्धी राम्रो ज्ञान राख्नु हुन्छ । त्यहीभएर नै गाउँभरी मह काढ्नुपर्दा उहाँलाई बोलाउने गर्छन् ।

मौरी व्यवसाय गरेर जीवनगुजारा गरिरहेका तामाङ बेलाबेला झस्किनुहन्छ । जुन बेला उहाँले आफ्नो घरमा पालेको ३८ घार मौरीमध्ये ३६ घार मौरी गुमाउनु पर्‍याे । २०७३ सालतिर हिउँपर्दा उहाँको ३६ घार मौरी मरेको थियो । मौरी मरेर ठूलो क्षति भोगेका तामाङले ३८ घारलाई बढाएर ४० घारबनाउनु भएकाे हाे । उहाँ अझै मौरीलाई बढाउने साेंचमा हुनुहुन्छ ।

पर्यटकीयस्थल रुपाकोटमा विशुद्ध लगानीमा ४० घार मौरी पालेको छु । कसैले एक पैसा अनुदान सहयोग गरेको छैन । भन्ने ठाउँहरुमा भनिसके । ऐसेलुखर्कमा ३८ लाख २० हजारअनुदान पाउँदा ३ घारमा मौरी हुँदा हुन्छ । मैले त आफ्नै लगानीमा यति धेरै मौरी पालेको छु तर, अनुदान दिन कोही चासो देखाउँदैन किनहो ? तामाङले भन्नुभयाे, कि अफिस सँग मिल्नुपर्ने हो ?

'नेपाललाई कृषिप्रधान देश भन्ने तर, यहाँ त जसको शक्ति उसैको भक्ति हुने रहेछ । हामी जस्तो वास्तविक मौरी पाल्नेले त कहाँ अनुदान पाइन्छ र ? यहाँ त मिलिखाने भए भैगो' तामाङले भननुभयाे, 'काम देखाउन नै पर्दैन रहेछ ।'

कृषि ज्ञान केन्द्रमा अनुदान माग्न जाँदा समूहलाई मात्रै अनुदान दिन सकिने भन्दै आफूलाई फर्काई दिएको तामाङले बताउनुभयाे । मैले नीति, प्रक्रिया पूरा गर्छु भन्दा हुदैन भने, समूहलाई मात्रै अनुदान दिन्छौ भन्ने, कार्यालयले समूहको मुल्याङकन गर्ने कि कामको मुल्याङकन गर्ने?कार्यालयले दिएको अनुदान सही ठाउँमा सदुपयोग नभएको चाँहि कार्यालयले देख्दैन ? तामाङले प्रश्न गर्नुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?