वडाले गरिदियो मुसहर र डोम समुदायको निशुल्क स्वास्थ्य बीमा

हिमालय टाइम्स
Read Time = 4 mins

-सरोज निरौला

उदयपुर । उदयपुरको कटारी नगरपालिका-४ का विपन्न मुसहर र डोम समुदायको घरपरिवारको घरमै पुगेर निशुल्क स्वास्थ्य बीमा गरिएको छ । वडाका १९ मुसहर र ११ डोम समुदायको गरी ३० विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको हो ।

नेपाल सरकारको स्वास्थ्य बीमा वोर्ड अर्न्तगत विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियत रुपमा उपचारका पहुँच पुराउने उद्देश्य भएपनि मुसहर र डोम समुदायले यसको बारेमा जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारीसहित बीमा गरिदिएकाे कटारी अस्पतालका स्वास्थ्य बीमाको सहजिकरण गर्दै आउनुभएका कर्ण राईले बताउनुभयो ।

बीमाका बारेमा कुनै पनि जानकारी नभएकाले विरामीहुँदा घरमै वस्ने गरेको बताउँदै कटारी-४ मुसहर टोलका भरत मुसहरले अब भने विरामी परे अस्पताल जाने बताउनुभयो । “हामीलाई केहि थाहा नै थिएन् , अस्पत्ताल जान पैसा हुँदैन थियो , निशुल्क उपचार पनि पाईने बल्ल थाहा भयो । ६ परिवारका सदस्यसहितको स्वास्थ्य बीमा गराउनुभयो", उहाँले भन्नुभयाे

७ परिवारका सदस्य वुद्धि मुसहरले पनि बल्ल सेवा बारे थाहा पाएको बताउँदै आगामी दिनमा उपचारका लागि अस्पताल जाने बताउनुभयो । ६ परिवारका स्वास्थ्य बीमा गरिदिएपछी भलवा मुसहरले अस्पताल जाने बाटो खुलेको बताउनुभयो । “पैसा विना पनि उपचार हुने रहेछ बल्ल थाहा भयो”, उहाँले भन्नुभयो ।

वडाध्यक्ष तथा कटारी अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका भूपेश तामाङ्गले वडामा रहेका लगभग चालिस पचास घर विपन्न परिवारका मुसहर , डोम समुदायको स्वास्थ्य बीमा गराईरहेको बताउँदै आगामी वर्ष बजेट नै छुट्टाएर सवैलाई बीमाको पहुँचमा पुराउने बताउनुभयो ।

वडाका बीमा दर्ता सहयोगी सानुमाया तामाङ्गले स्वास्थ्य बीमा वोर्डका मापदण्ड अनुसार उनीहरुको बीमा गरिदिनुभयो । सरकारले तोकेका सरकारी अस्पतालहरुले स्वास्थ्य बीमा कार्ड देखाएपछी निशुल्क उपचार गर्ने गरेको छ । बीमा बारे जानकारी नभएकाहरुलाई घरमै पुगेर बीमा गरिदिए अप्ठ्यारोमा परेका वेला स्थानीय निकायसम्म सहयोग माग्न आउनेहरुलाई उपचारमा सहज होस भन्ने उद्येश्यले बीमा गरिदिएको वडाध्यक्ष तामाङ्गले बताउनुभयाे ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका अनुसार विपन्न , जेष्ठ नागरिक , क वर्गको अपाङ्गता भएका , कुष्ठरोग , एजआईभी पोजिटिभ , टिवी लगायतका विरामीलाई निशुल्क एकपटक बीमा गरेपछी सँधैका लागि वर्षेनी १ लाख बराबरको उपचार सेवा निशुल्क गर्ने गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?