त्रिभुवन विश्वविद्यालयका समस्या छिटै समाधान हुनेछन् : प्रधानमन्त्री

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मंगलवार त्रिभुवन विश्वविद्यालयको ६४ औँ वार्षिक दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले त्रिभुवन विश्वविद्यालयमा आवद्ध कर्मचारीका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढ्नु आवश्यक रहेको बताउनु भयो ।

उहाँले विद्यार्थीको रुची अनुसार स्वदेशमै अध्ययन गर्नसक्ने अवस्था सिर्जना गर्न विश्वविद्यालयसँग आग्रह गर्नुभयो । प्रधानमन्त्री दाहालले विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, ‘त्रिभुवन विश्वविद्यालयका तत्कालका समस्या पहिचान गरी यथासम्भव समाधान गर्ने प्रयत्न गरिरहेको कुरा यस गरिमामय सभामा उल्लेख गर्नु सान्दर्भिक नै ठानेको छु । त्रिभुवन विश्वविद्यालयमा आवद्ध शिक्षक, कर्मचारीका प्रतिनिधिहरू, विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधि तथा विश्वविद्यालयका पदाधिकारीहरूसँग भएका भेटघाट एवं छलफलका आधारमा प्राप्त सूचना र जनचाहनाअनुरुप त्रिभुवन विश्वविद्यालयको उन्नति र विकासका लागि अल्पकालिन र दीर्घकालिन योजनाहरू बनाई अगाडि बढ्नु अत्यावश्यक छ । यसका लागि विश्वविद्यालयबाट पेस हुने उपयुक्त योजना र कार्यक्रममा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । विश्वविद्यालयका समस्याहरूको समाधान संवाद एवं रचनात्मक सहयोगबाट गर्नुहुने सबै सरोकारवालासँग हार्दिक अपील गर्दछु । हरेक वर्ष उच्च शिक्षाका लागि विद्यार्थीहरू विदेशिने क्रम किन बढिरहेको छ ?, विद्यार्थीलाई उनीहरूको रूचिअनुसारका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न पाउने कार्यक्रमहरू ल्याउन र विदेशिन नपर्ने अवस्था सिर्जना गर्न म देशको सबैभन्दा ठूलो विश्वविद्यालयको हैसियतमा विश्वविद्यालयलाई विशेष अनुरोध गर्दछु । विश्वविद्यालयको आफ्नो निश्चित शैक्षिक पात्रो बनाई सोहीअनुसार समयभित्रै पठनपाठन सम्पन्न गरी नतिजासमेत प्रकाशित गरी विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा विश्वविद्यालयका पदाधिकारीहरूलाई विशेष रूपले निर्देशित गर्दछु ।’

प्रधानमन्त्री दाहालले विद्यार्थी र अभिभावकहरूको समय, खर्च र भविष्यको सुरक्षा गर्नु विश्वविद्यालयका पदाधिकारीहरूको आधारभुत दायित्व भएको उल्लेख गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?