सासूबुहारी अन्तरक्रिया कार्यक्रमका लागि सुनकोशीमा एक लाख बजेट

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सुनकोशी गाउँपालिका, सिन्धुलीले सासु-बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख रुपैयाँ बजेट विनियोज गरेको छ । गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ मा कार्यक्रम गर्न बजेट छुट्याएको हो ।

समाज भएको सासू र बुहारीलाई हेर्ने गलत दृष्टिकोणमा परिर्वतन ल्याउन उक्त कार्यक्रम राखिएको गापा उपाध्यक्ष कपिल कुमार कोइरालाले बताउनुभयोे । उहाँले भन्नुभयो, ‘सासू र बुहारीलाई एकै ठाउँ राखेर एकअर्काको भावना र कर्तव्य बुझाउन समन्वयकारी भूमिका निर्वाह गरेमा सामाजिक र पारिवारीक सम्बन्ध कायम गर्न सहयोग पुग्ने कार्यक्रमको उद्धेश्य छ ।’

‘सासू कहिले आमा हुुन सक्दैनन् र बुहारी छोरी हुन सक्दैनन’ भन्ने भनाईलाई गलत सावित गर्न यस कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाई छ । सासू र बुहारीको सम्बन्धलाई समाजमा कहिले पनि नमिल्ने वा सधैभरी मिलेर बस्न नसक्ने सम्बन्धका रुपमा लिने गरिएकोले यसलाई चिर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

यता, फिक्कल गाउँपालिकाले पारिवारिक मेलमिलाप र घरेलु हिंसा अन्त्य गर्ने उद्देश्यले सासू-बुहारी सम्मान राखेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को वार्षिक कार्यक्रमअन्तर्गत छवटा वडाका छ जोडी सासू-बुहारीलाई सोमबार सम्मान गरेको गाउँपालिका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो ।

सम्मानीत हुनेहरुमा वडा नं १ का मुसीमाया कामी, अन्जना विक, वडा नं २ का बालकुमारी मगर, गङ्गाकुमारी मगर, वडा नं ३ का कल्पना कुमारीश्रेष्ठ, मुना श्रेष्ठ, वडा नं ४ का मैया आले र लीलाकुमारी मगर, वडा नं ५ शिवकुमारी घिमिरे, पार्वती घिमिरे र वडा नं ६ का बुद्धमाया मगर र जमुना मगर छन् । सासू-बुहारीसँगै बसेका छ वडाका १२ सासू-बुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यस कार्यक्रमको उद्धेश्य गाउँघरमा सासू-बुहारीको सम्बन्धलाई नकारात्मक दृष्टिले हेर्ने परिपाटीलाई न्यूनीकरण गर्ने रहेको उहाँको धारणा छ । गाउँपालिकाभित्र रहेका उदाहरणीय सासू र बुहारीलाई सम्मान गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षहरुमा पनि निरन्तरता दिने उहाँले सुनाउनुभयो ।

सासूले बुहारीलाई छोरी र बुहारीले सासूलाई आमाको व्यवहार गर्नुपर्ने गाउँपालिकाको जोड छ । यसले घरेलु हिंसा न्यूनिकरणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?