बालेनको अभियानका सहजता र चुनौती

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफ्नो एउटा अभियानका साथ अगाडि बढिरहनु भएको छ । पहिलो कुरा त उहाँको विजय नै अनपेक्षित थियो तर अन्तिममा उहाँले सबैलाई चकित पार्दै विजय हासिल गर्नुभयो । उहाँको अहिलेको अभियान पनि एक प्रकारले भन्ने हो अनपेक्षित नै हो । काठमाडौं शहर दिनप्रतिदिन अव्यवस्थित बन्दै गइरहेको छ । शहर अव्यवस्थित भयो भनेर यसलाई व्यवस्थित गर्नका लागि गरिने प्रयास आजको भोलि नै असान्दर्भिक बन्ने गरेका छन् । हिजो जे–जस्ता प्रयास गरियो ती आजका लागि अनुपयुक्त बन्ने गरेका हुन् । किन भने यहाँभित्र जनसंख्याको चाप अत्यन्तै बढेको छ र त्यो क्रम निरन्तर जारी छ । अन्यत्र नपाइने सुखसुविधा र अवसर यहाँमात्रै छन् भन्ने जनताको सोचाइ छ र त्यसलाई प्राप्त गरी यहीँ सुखसयल गर्नुपर्छ भनेर नेपालभरिकै मानिसहरू यहाँ आउने गरेका छन् ।

वास्तवमा नेपालभरिबाट मात्रै होइन विदेशबाट नेपालमा आएर यहीँ बसोवास गर्नेहरू धेरै छन् । यस्ता बाहृय नागरिकहरूमा भारतीयहरूको संख्या अधिक छ । यी सबै कारणले गर्दा यहाँको जग्गाजमिनको मूल्य अकल्पनीय रूपमा वृद्धि भएको छ जसले गर्दा यहाँभित्रका सार्वजनिक जग्गाजमिन, मठमन्दिरका गुठी, सार्वजनिक धारापँधेरा, पाटीपौवाहरूको जग्गासमेत हडपेर व्यक्तिले आफ्नो कब्जामा पार्ने कार्य भई नै सकेको छ । यसो गर्दागर्दै अब त यहाँ कुनै बाँकी जमिन पाउनै नसकिने भएको छ । जमिनको सानो भागमात्र आफ्नो अधिनस्त गर्नसके त्यसबाट सधैँका लागि स्थायी संरचना बनाएर वा जमिनै भाडामा लगाएर भए पनि केही न केही आयआर्जन गर्न सकिने भयो ।

यही लोभलालचका कारण मानिसले कुनै पनि जग्गा बाँकी नराखी आफ्नो अधिनस्त गरिसकेका छन् । यसैले हाल महानगर प्रमुख बालेन्द्र साहले यस्ता जग्गा जमिन खोज्ने, नक्सा पास नगरी बनाइएका संरचनाहरू हटाउने, नदी र खोलाको भागको जग्गा खोज्नेजस्ता काम गरिरहनु भएको छ । यो सानो प्रयासले हुने काम होइन । पञ्चायत कालमा तेस्रो सार्क सम्मेलन नेपालको काठमाडौंमा भएको समयमा पनि केही संरचनाहरू हटाउने र बाटाघाटाहरू ठूला बनाउने कार्य भएका थिए । त्यसपछि पनि बेलाबेलामा यस्ता प्रयास हुँदै आएका छन् । डा. बाबुराम भट्टराईले गरेको यस्तो प्रयासले बढी सार्थकता पाएको थियो । काठमाडौं उपत्यकाका साँघुरा सडकलाई उहाँको समयमा फराकिला बनाइएको थियो । यसबाट आफ्नो आलोचना हुने र भोट बैंक खल्बलिने भय मान्ने व्यक्तिले यस्ता कार्य गर्न सक्दैन ।

बालेन साहले अहिले निर्भयतापूर्वक यस्तो काम गरिरहनु भएको छ । आफैँ सँगसँगै लागेर डोजर र नक्सा लिएर उहाँ यस्ता संरचना हटाउन र हराएका जग्गाजमिन खोज्न लागिरहनु भएको छ । शहरलाई साँघुरो र अव्यवस्थित बनाउने प्रमुख कारक सडक व्यापारीलाई हटाउने तत्परता पनि उहाँले देखाउनु भएको छ । उहाँ भर्खरै निर्वाचित हुनुभएको हो । निर्वाचन सकिएको चार महिनामात्र हुँदैछ । अहिले उहाँका केही मतदाताहरूले उहाँलाई निर्वाचित गरेकोमा पछुतो पनि मानिरहेकै होलान् । केही ठीक गरिएछ पनि भन्दै होलान् । जजसका संरचाना भत्किए ती–ती रिसाएका होलान् र छिमेकीको भत्किएर आफ्नो जोगिएकाहरू खुशी भएका हुन सक्छन् तर जे होस् यो काम निकै नै चुनौतीपूर्ण भने हुँदै हो ।

निर्मित संरचना भत्किएकाहरूको समूह एकीकृत भएका खण्डमा तिनको समूह पनि निकै ठूलो बन्नसक्छ, सडक व्यापारीले यसको प्रतिकारको प्रयास गरी नै सकेका छन् । उनीहरूले विरोध गर्दै नगरपालिका घेराउ गरे । भोलि अरूबाट पनि यस्तो हुनसक्छ । बालेनका केही समर्थकहरूले उहाँको सुरक्षामाथि चिन्ता प्रकट गरिरहेका छन् तर बालेन दलको टिकटबाट विजयी बन्नुभएको थियो भने यति गर्ने आँट गर्नुहुने थिएन । उहाँलाई स्वतन्त्र भएका कारणले केही सजिलो भएको छ । यति भएर पनि उहाँले भत्काउँदै छोड्दैमात्र गर्ने हो भने शहर अझै कुरूप बन्नेन्छ । निश्चित योजनाका साथ उहाँ अघि बढ्ने र यसलाई राम्ररी व्यवस्थापना गर्ने हो भने उहाँलाई सबैको साथ हुनेछ । यसतर्फ उहाँको विचार पुग्नुपर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?