पश्मिना प्रवद्र्धन गर्न मंगोलियासँग सहकार्य

Read Time = 7 mins

काठमाडौं । नेपालको पश्मिना प्रवद्र्धनका लागि मंगोलियाले सहकार्य गर्ने भएको छ । नेपाली पश्मिना धागो र ऊनको गुणस्तर परीक्षण, विश्लेषण, ज्ञान एवं अनुसन्धान कार्यको आदानप्रदान गर्न नेपाली पश्मिना व्यवसायी र मंगोलियाली अधिकारीबीच सहमति भएको हो । नेपाल पश्मिना उद्योग संघ तथा मंगोलियाली सरकारको रिसर्च एण्ड डेभलपमेन्ट इन्स्टिच्युट अफ लाइट इण्डस्ट्रीबीच बुधबार सो सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । संघका तर्फबाट अध्यक्ष विजय दुगड र इन्डस्ट्रीतर्फबाट निर्देशक टुरमुग तोडमिडले हस्ताक्षर गर्नुभएको हो ।

नेपाली पश्मिना व्यवसायीले ऊन तथा पश्मिना धागो, अर्ध प्रशोधित भुवा तथा ऊनबाट बनेका उत्पादनका नमुना इण्डस्ट्रीमा गुणस्तर परीक्षण तथा विश्लेषण गर्ने एवं व्यवसायमा आफ्ना ज्ञान, अनुभव एवं अनुसन्धान कार्यबारे दुवै पक्षले आपसमा जानकारी आदानप्रदान गरिने समझदारीपत्रमा उल्लेख छ । समझदारीकोे अवधि पाँच वर्षको हुने र दुवै पक्षको आपसी समझदारीमा अवधि बढाउन सकिने संघले जनाएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी तथा मंगोलियाका खाद्य कृषि तथा हल्का उद्योगका राज्य सचिव जमरवाल्ट तुमुर ऊयाको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । अन्तर्राष्ट्रिय व्यापार केन्द्रको आयोजनामा मंगोलियाको उलानबाटोरमा जारी वर्ड एक्सपोर्ट डेभलपमेन्ट फोरम २०२३ मा नेपाली सरकारी उच्च अधिकारी तथा निजी क्षेत्र सम्मिलित प्रतिनिधिमण्डल सहभागिताका अवसरमा उक्त समझदारी भएको छ । सम्मेलनमा क्षेत्रीय व्यापार सम्पर्क, भूपरिवेष्ठित राष्ट्रका व्यावसायिक आवाज, व्यवसायीबीचको बैठक, उद्यममा युवा तथा महिला सहभागिता तथा स्थानीय नवप्रवर्तनसहित डिजिटल रूपान्तरणलगायतका विषयमा व्यवसायी, नीति निर्माता, विकास साझेदार निकायका प्रतिनिधि र विज्ञबीच विभिन्न छलफल सत्र सञ्चालन भएका थिए । युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमले नेपाली पश्मिना व्यवसायीलाई सम्मेलनमा सहभागिताका लागि सहयोग गरेको थियो ।

सचिव मरासिनीले ऊन तथा भुवा उत्पादनमा मंगोलियाको अनुभवबाट नेपाली पश्मिना व्यवसायीले फाइदा लिन र यस क्षेत्रमा विभिन्न अनुसन्धान एवं क्षमता विकासका लागि समझदारी महत्वपूर्ण रहेको बताउनुभएको छ । इण्डस्ट्रीका निर्देशक तोडमिडले मंगोलियासँग समझदारीले नेपालमा नेपाली पश्मिना उत्पादनको गुणस्तरीयता परीक्षण र विश्लेषण सहज हुनुका साथै दुवै मुलुकबीच व्यावसायिक सम्बन्ध विस्तार तथा यस क्षेत्रमा नयाँ अनुसन्धानका लागि ढोका खोलिएको बताउनुभएको छ । संघका अध्यक्ष दुगडले पश्मिना तथा ऊनजन्य वस्तु उत्पादन तथा निर्यातमा विश्वमा अग्रणी मंगोलियाको लामो अनुभव तथा विज्ञतालाई उपयोग गर्ने अवसर मिलेको बताउनुभयो ।

भ्याट फिर्ता लिन गलैंचा व्यवसायीको माग
नेपाल गलैंचा उत्पादक तथा निकासीकर्ता संघले गलैंचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य फिर्ता लिन माग गरेको छ । संघले बुधबार पत्रकार सम्मेलन गर्दै वार्षिकरूपमा ५० लाखभन्दा कम कारोबार हुने उद्योग भ्याटमा दर्ता हुनु र जानु पर्ने स्पष्ट कानुनी व्यवस्था नरहेकाले भ्याटको निर्णय फिर्ता लिन माग गरेको होे । भ्याटले वैदेशिक निर्यातमा ३० प्रतिशत गिरावट आउने संघले जनाएको छ ।

संघका अध्यक्ष तेन्जिङ गुरुङले मुलुकको कुल गार्हस्थ्य उत्पादनमा २.१६ प्रतिशत योगदान पुर्‍याउँदै आएको गलैंचालाई सरकारले उपेक्षा गरेको आरोप लगाउनुभयो । सुविधा र सहुलियत दिएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा बढाउने कार्यमा सरकारको सहयोग र समन्वय हुनुपर्नेमा सरकारको पछिल्लो निर्णयबाट नेपाली गलैंचाको उत्पादन लागतमात्र नभई मूल्यसमेत बढ्न गई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती खडा हुने उहाँले बताउनुभयो । संघका महासचिव बलराम गुरुङका अनुसार नेपालबाट वार्षिक १० अर्ब बराबर गलैंचा निर्यात हुँदै आएको छ भने गलैंचा उद्योगले करिब दुर्ई लाखलाई प्रत्यक्षरूपमा रोजगारी प्रदान गर्दै आएको छ ।

नेपाली गलैंचा अन्य देशको तुलनामा २० प्रतिशत महँगो भए पनि गुणस्तरीय हुने गरेकाले विदेशमा माग रहेको संघको दाबी छ । कतिपय अवस्थामा एउटा गलैंचा तयार गर्न तीनदेखि छ महिनासम्म लाग्ने र त्यसको मूल्य ४० लाखसम्म पर्ने व्यवसायीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?