पुटिनको ओरालो यात्रा

Read Time = 20 mins

नमागिएको सल्लाह :
गत शनिबार येवगेनी प्रिगोजिन भन्ने नाम एकाएक विश्वव्यापी चर्चामा आयो । सबै सञ्चारमाध्यमले प्रिगोजिनसम्बन्धी समाचार पहिले आफूले प्रसारण गर्न हतार गरे । अमेरिकी चुनावमा ट्रम्पलाई फाइदा पुग्ने गरी हृयाकर परिचालन गरेको कारण अलिअलि सुनिएको प्रिगोजिनको नाम विश्वव्यापी चर्चामा आउनुको कारण थियो-बाग्नर नामधारी भाडाको निजी सैन्य समूहका अध्यक्ष प्रिगोजिनले रुसी रक्षामन्त्री र सेना प्रमुखलाई लक्षित गरेर रोस्तोव शहर कब्जा गरेर राजधानी मस्कोतर्फ आफ्नो सैनिक बढेको जानकारी सार्वजनिक गर्नु ।
युक्रेन आक्रमणमा संलग्न सेनालाई समेत बोलाएर मास्कोको सुरक्षा व्यवस्था भरपर्दो बनाउन लागेका र आफ्नो ज्यानमाथि समेत खतरामा रहेको कारण रुसी राष्ट्रपति पुटिनले २२ वर्षयताकै ठूलो संकटको सामना गर्नुपरेको थियो । भाडाको बाग्नर समूहलाई अग्रपंक्तिमा राखेर लडेका युक्रेन युद्धका सैनिकहरू नै आफैंमाथि जाइलागेको देखेर राष्ट्रपति पुटिन हतास मनस्थितिमा देखिएका थिए । उनी विद्रोह गर्नेलाई कठोर कारबाही गरेर सफाया पार्ने भनेर कडा आदेश त दिइरहेका थिए तर मुलुकमा गृहयुद्ध सुरु भएपछि उनको पतन निश्चित जस्तै थियो ।

यस्तो अप्ठ्यारो अवस्थामा उनलाई रक्षा गरे-बेलारुसका तानाशाह राष्ट्रपति अल्क्जेण्डर लुकासेन्कोले । उनको मध्यस्थतामा २४ घण्टामै विद्रोहको सुलह निस्कियो । बाग्नर समूहमाथि आक्रमण गर्न पठाइएका विमानहरूलाई खसालेर करिब एक दर्जन जति पाइलटको मृत्यु भएपछि राष्ट्रपति पुटिन कूटनीतिक सुलहतिर लागेको अनुमान गर्न सकिन्छ । विनाप्रतिरोध सामरिक महत्वको शहर कब्जा गर्दै अगाडि बढेको बाग्नर समूह विरुद्ध युद्ध गर्न रुसी सैनिकको मनोबल कमजोर रहेको र भाइभाइबीचको लडाइँ जोखिमपूर्ण हुने बुझेका बन्दुकको नालमा शक्ति हुन्छ भन्ने विश्वास गर्ने पुटिनका लागि यो सुलहले ठूलै राहत दियो ।

बेलारुसी तानाशाह लुकासेन्कोको मध्यस्थतामा भएको सुलहमा बाग्नर समूहका प्रमुख प्रिगोजिनलाई बेलारुसमा बस्न दिने, विद्रोहबापत् कुनै सजाय नगर्ने, उनका लडाकुलाई पनि कुनै सजाय नगर्ने घरजान चाहनेहरूलाई घरजान दिने, नचाहनेहरूलाई राष्ट्रिय सेनामा मौका दिनेलगायत विषय समेटिएका थिए ।

बेलारुसी तानाशाह लुकासेन्कोको मध्यस्थतामा भएको सुलहमा बाग्नर समूहका प्रमुख प्रिगोजिनलाई बेलारुसमा बस्न दिने, विद्रोहबापत् कुनै सजाय नगर्ने, उनका लडाकुलाई पनि कुनै सजाय नगर्ने घरजान चाहनेहरूलाई घरजान दिने, नचाहनेहरूलाई राष्ट्रिय सेनामा मौका दिनेलगायत विषय समेटिएका थिए । यो आलेखमा बाग्नर समूह र यसका नेता प्रिगोजिनको उदय, युक्रेन युद्धमा पर्ने प्रभाव र पुटिनको भविष्यको बारेमा चर्चा गरिनेछ ।

के हो बाग्नर समूह ? को हुन् येवगेनी प्रिगोजिन ?
यो समूह युक्रेनमा जन्मेका रुसी स्पेसल फोर्सका अवकाशप्राप्त लेफ्टिनेण्ट कर्नेल डिमित्री उट्किनले स्थापना गरेका हुन् । नाजिवादी उट्किनले हिट्लरका सबैभन्दा मनपर्ने संगीतकार रिचर्ड बाग्नरको नामबाट यो समूहको स्थापना गरेका थिए । पछि पैसा कमाएर लगानी गरेको कारण यो समूहमाथि प्रिगोजिनको वर्चस्व बनेको थियो ।

१८ वर्षको उमेरमै चोरीबाट अपराधकर्ममा लागेका प्रिगोजिन क्रूर स्वभावका व्यक्ति हुन् । आपराधिक संस्कारमा हुर्केको कारण छाडा बोल्नु, विरोधीलाई कठोर यातना दिनु उनको संस्कारगत विषय हो । सन् १९८१ मा डकैती र आक्रमणको अभियोगमा १२ वर्षको जेल सुनाइएका प्रिगोजिनले रिहाइ भएपछि सन् १९९० मा सेन्ट पिटर्सबर्गमा रेष्टुरेन्ट खोलेका थिए । उनको रेष्टुरेन्टमा पिटर्सवर्गका तत्कालीन उपमेयर भ्लादिमिर पुटिन खानाखान आउथे ।

सोभियत संघको विघटन भएपछिको उथलपुथलको समयमा पूर्वगुप्तचर पुटिन र अपराधीहरूको राम्रै साँठगाँठ भएको थियो । पुटिनको शक्ति बढ्दै गएपछि प्रिगोजिनले पनि प्रगति गर्दै गए । कठोर स्वभावक र महत्वाकांक्षी पुटिनका लागि प्रिगोजिनको अपराधकर्म र कठोरता कुनै समय काम लाग्ने विषय थियो । प्रिगोजिन र पुटिनको सहकार्य बढ्दै गयो । सन् २००० मा पुटिन राष्ट्रपति भएपछि ठूला ठूला क्याटरिङका ठेक्कामा उनको वर्चस्व बन्दै गयो । ठूला-ठूला स्कुलमा खाजा र खाना खुवाउने, कैदीहरूलाई खाना खुवाउने, राजकीय भोज, विदेशका अतिथिलाई खानाको बन्दोबस्त गर्ने काममा प्रिगोजिन अग्रपंतिमा थिए । यस्तो काम गर्दागर्दै उनी पुटिनका सेफ भनेर चिनिन थाले ।

सन् २०१६ मा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई जिताउन रुसी हृयाकरहरूको सफल परिचालन गरेपछि प्रिगोजिनको चर्चा विश्वव्यापी रूपमा भएको थियो । सन् २०१४ मा युक्रेनको भूभाग क्रिमिया कब्जा गर्दा बाग्नर समूहका भाडाका सैनिक खटिएका थिए । विश्व समुदायले क्रिमिय कब्जा गर्ने कामको विरोध गर्दा रसियाले आफ्ना सैनिक होइनन् भन्ने गरेको थियो । डोनवास क्षेत्रमा भएको पृथकतावादी आन्दोलनमा पनि यो समूहका सेना परिचालन भएका थिए ।

पुटिनको रसियाको स्वार्थका लागि भाडामा लडाइँ गरिदिने यो समूह पुटिनको वैदेशिक सम्बन्धको एक हिस्साजस्तै बन्दै गयो । पैसाका लागि युद्ध लडिदिने यो समूह अफ्रिकालगायत तानाशाहका लागि सौदाको विषय बनिरहेको छ । रुसको नामबाट लिबिया, सिरियालगायत मुलुकमा खटिन थाल्यो । भनिन्छ समस्याग्रस्त अफ्रिकी मुलुकमा यो समूह अलग भएमा रसियाको ती क्षेत्रमा अस्तित्व नै नरहने अवस्था छ ।

पुटिनको समर्थनका कारण बाग्नर समूहको मनपरीको कथा कठोर राक्षसको कहानीभन्दा कम छैन । युक्रेन युद्ध लम्बिँदै गएपछि धेरै सैनिक मारिए, धेरै घाइते भए । युवाहरू सेनामा भर्ती हुन चाहेनन् । यो अवस्थामा प्रिगोजिनको क्रूरतालाई पुटिनले राम्रैसँग प्रयोग गरे । उनलाई कारागारमा गएर कुन कैदी मोटोघाटो लायक छ र लडाइँमा उपयोगी हुने खालको छ बलिदिने बोको छाने जसरी छान्ने स्वतन्त्रता थियो । स्थानीय प्रशासन, कारागार प्रशासन कसैको अनुमति आवश्यक पर्दैनथ्यो ।

उनले छनौट गरेको कैदीलाई निर्णय गर्न पाँच मिनटको समय उपलब्ध गराइन्थ्यो । जान्न भनेको अवस्थामा उसलाई सजाय दिन कसैले रोक्ने परिस्थिति थिएन । छानिएका कैदीहरूलाई बलजफ्ती पनि लगिन्थ्यो । यसरी लगेपछि लड्दिन भन्नेलाई सिधंै मृत्युलोकको यात्रा तय गरिन्थ्यो । लड्दिन भन्नेलाई हथौंडाले हानेर मारेको भिडियो नै सार्वजनिक भएको थियो । यस समूहको कमाण्डरलाई यातना दिन कुनै कानुन बाधक थिएन । पछि रुसी नियन्त्रणमा आएको वख्मुत शहर पनि यो समूहबाट नै कब्जामा आएको बताइएको छ । यस्तो काम गर्दा गर्दै पनि प्रिगोजिन रसियाको रक्षामन्त्रालय, सेनाप्रमुखलगायतसँग खुशी थिएनन् । किन ?

प्रिगोजिनको असन्तुष्टि :
पुटिन र रक्षामन्त्रालयका अधिकारीहरू प्रिगोजिनको महत्वाकांक्षाबाट सशंकित थिए । उनीले आफूलाई अर्को सेनाको सेनापतिको हैसियत पाउनुपर्ने ठानेका थिए । उनले फत्ते गरेको कामको आधारमा पनि रुसी नेतृत्व उनको मागलाई अस्वीकार गर्न सक्ने अवस्थामा थिएन । रुसी नेतृत्व विस्तारै यो समूहलाई हैसियतमा राख्न चाहन्थ्यो । यो समूहलाई बन्द गरेर विस्तारै रुसी सेनामा मिसाउन लागेको, हतियार, गोलिगठ्ठा पर्याप्त मात्रामा नपाएको, रक्षामन्त्री र सेना प्रमुखले उचित व्यवहार नगरेको आरोप बाग्नर प्रमुखले लगाएका थिए । रुसी सेनामा विलय गरेको अवस्थामा बाग्नर प्रमुखको हैसियत रहने थिएन । किनकि उनले आफूलाई एउटा सेनाको सेना प्रमुख नै ठान्ने गरेका थिए ।
रुसी सेनाले आक्रमण गरेको समेत आरोप यो समूहले लगाएको थियो । २४ घण्टे विद्रोहको पटाक्षेप भएपछि बाग्नर प्रमुखले जारी गरेको सन्देशमा आफूहरूविरोध जनाउँनका लागि मार्च गरिरहेको र सरकर ढाल्ने उद्देश्य नरहेको बताएका छन् । यसको अर्थ उनी सुलहपट्टि नै गएको भन्न सकिन्छ । पुटिनको स्वभावका पारंगत प्रिगोजिनलाई इखालु स्वभावका पुटिनले मटियामेट नगरून् भन्ने त्रासले बास गरेको सहजै अनुमान गर्न सकिन्छ ।

नेपालजस्ता देशको अडान कुनै देशको सार्भौमिकतामाथिको आक्रमणको विपक्षमा रहनुपर्दछ । नेपालले अनाक्रमणको वकालत गर्नु भनेको कसैको समर्थन वा विरोध गर्नु होइन । रसियाको आक्रमणको विरोध भनेको युक्रेनको पक्ष लिएको होइन । पञ्चशीलको सिद्धान्तको पक्ष लिएको हो ।

त्रास पनि एकतर्फीमात्र छैन । प्रिगोजिनलाई रसियाका शत्रु शक्तिले प्रयोग नगरून् भन्ने डर पुटिनलाई पनि छ । त्यसै कारणले उनलाई बेलारुसमा जाने वातावरण बनाइएको छ । प्रिगोजिन पश्चिमा शक्तिका लागि सूचनाकै लागि पनि धेरै उपयोगी बन्न सक्दछन् । रसियाको मनोबल गिराउन र प्रचारबाजीका लागि पनि उनी उपयोगी छन् । जुन रसियाले चाहँदैन । रसियाले एकातिर आन्तरिक गृहयुद्धलाई टारेको छ भने विद्रोही नेतालाई अरूले प्रयोग गर्न नसकुन् भनेर बेलारुसमा राखेर उसको हैसियतका बारेमा छलफल गर्ने वातावरण बनाएको छ ।

म्भावित परिदृश्य :
युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेवाले दुश्मनतर्फ भएको कुनै पनि समस्या आफ्ना लागि अवसर भएको बताएका छन् । यस्तो टिप्पणी आएको केही समयपछि रसियाले युक्रेनमाथि ठूलो आक्रमण गरेर आफू कमजोर नभएको सन्देश दिन खोजेको छ । रसियाले आक्रमण गरेर आफ्नो शक्तिको सन्देश दिन खोजे तापनि बाग्नर विद्रोहको कारण पुटिनको रसियाको एउटा खुट्टा गतिलोसँग भाँचिएको छ । यसैबीच अनावश्यक र अनैतिक विषयलाई आधार बनाएर गरिएको युक्रेनमाथिको आक्रमणप्रति धेरै रसियावासी सर्वसाधारणको समर्थन छैन । अहिलेको दुनियाँमा अर्को सार्वभौम देशलाई कब्जा गर्न गरिने प्रयास विवेकशील चेतनाका लागि ग्राहृय हुन सक्दैन ।

केही कट्टरपन्थीका लागि अखण्ड सोभियत संघ सपना हुन सक्ला तर आमदेशवासीलाई त्यस्तो कार्यका लागि गरिने युद्ध र त्यसबाट उत्पन्न हुने असहजता ग्राहृय हुन सक्दैन । अब युद्ध लम्बिएको छ । चीन वा अरू कसैले गरिने युद्धविरामको शर्त कब्जा गरिएका क्षेत्र छोड्नुपर्नेमा युक्रेन सहमत हुनेछैन । यसै पनि युक्रेनी नेता जेलेनेस्कीको दृढता सबैका लागि प्रेरणाको विषय बनेको छ । उनी हालको समयका विश्वका राजनीतिक हिरो जस्तो बनेका छन् । यद्यपि, देशलाई युद्धबाट जोगाउन नसक्नु उनको कमजोरीको रूपमा इतिहासमा चर्चा हुने नै छ ।
पुटिनले चीन र उत्तर कोरिया जस्ता तानाशाही शासन व्यवस्था भएका सीमित देशबाट पाउने नैतिक समर्थनले मात्र धेरै काम गर्ने छैन । युक्रेनलाई पूरै कब्जा गरेर गाभ्ने समय भड्किसकेको छ । रसियालाई कमजोर बनाउँन पश्चिमाशक्ति युद्ध समाप्त भइहालोस् भन्ने मनस्थितिमा नरहेका पनि हुन सक्छन् । सम्पूर्ण भूभाग छोडेर जानुपनि पुटिनका लागि लज्जाको विषय बन्न सक्दछ । अब त युक्रेन क्रिमियालगायत सबै क्षेत्र फिर्ता ल्याउँन लागिपर्नेछ ।

बाग्नर समूहको मात्र होइन रुसी सेनाभित्र अरू पनि असन्तुष्टि चुलिएका छन् । पहिलेका सेना प्रमुखलाई हटाएर नयाँ सेना प्रमुख बनाउने र सेना प्रमुख भइसकेको जनरल तल्लो पदमा घटुवा भएर बस्नुपर्ने परिस्थिति सेनाभित्र असन्तुष्टिको छनक दिन पर्याप्त छ । सेनाले सत्ता हात लिने सम्भावना असम्भव छैन । किनभने युद्धको समयमा सेनाप्रमुखहरू महत्वाकांक्षा बढ्ने प्रचुर सम्भावना रहन्छ । त्यसमाथि पुटिनजस्ता रूखो, कठोर स्वभावका र विलासी शैलीका नेता उनीहरूका लागि आदर्शपात्रको रूपमा नरहन सक्छन् । युक्रेनविरुद्धको लडाइँको औचित्य रसियाभित्रै कमजोर बन्दैजाने निश्चित छ ।

नेपालजस्ता देशको अडान कुनै देशको सार्भौमिकतामाथिको आक्रमणको विपक्षमा रहनुपर्दछ । नेपालले अनाक्रमणको वकालत गर्नु भनेको कसैको समर्थन वा विरोध गर्नु होइन । रसियाको आक्रमणको विरोध भनेको युक्रेनको पक्ष लिएको होइन । पञ्चशीलको सिद्धान्तको पक्ष लिएको हो । युक्रेनको प्रतिरोधले साना देशको मर्यादा बढेको छ । साना देशहरू पनि सार्वभौमिकतामाथिको हस्तक्षेपका लागि बलिदान दिन सक्षम छन् भन्ने सन्देश दिएको छ । ठूला देशलाई र विवादित क्षेत्रका देशलाई युद्ध छेड्न हच्काएको छ । युक्रेनको कारण चीनलाई ताइवानमा युद्ध गर्न पनि सोच्नुपर्ने बनाइदिएको छ ।

बाग्नर प्रमुखको बेलारुसको निर्वासनले छिमेकी पोल्याण्डलगायत धेरैलाई संशय पैदा गराएको छ । नेटो प्रमुखले पनि यसमा चासो व्यक्त गरेका छन् । पुटिनलाई अरू शक्तिले उनलाई प्रयोग गरिदेला भन्ने डर छ भने पश्चिमा देशलाई नेटो सदस्य देशको सुरक्षामा समस्या आउला कि भन्ने चिन्ता रहेको छ । युद्धण्को नियम पालना नगर्ने प्रिगोजिन पारदर्शी समाज नभएको क्षेत्रका लागि उपयुक्त पात्र भएकाले उनको प्रयोग जुन्सुकै तानाशाहले गर्नसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

पुटिनको युक्रेनमाथिको आक्रमकणका कारण सम्पूर्ण विश्वका जनता महँगीलगायत समस्या भोग्न विवश छन् । कोरोना कहर लगत्तै आएको यो समस्याका कारण विश्वभरका जनताको जीविका कष्टकर वनेको छ । त्यसैले युद्ध कुनै शासकको सनकको विषय बन्नु हुँदैन । बाग्नर समूहको विद्रोह पुटिनको ओरालो यात्राको सुरुआत त हुँदै हो । पुटिनको पतनले विश्व व्यवस्था सही दिशामा आउँछ भने उनको पतन यथाशीघ्र अपेक्षित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *