सबै प्राज्ञलाई साहित्यिक पत्रकारिताले नै फुल्ने र फल्ने अवसर दिएको हो : कुलपति भूपाल राई

तस्बिर : नरेश श्रेष्ठ

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ (२०६३) ले आफ्नो १७ ओैँ स्थापना दिवस तथा सम्मान समारोह सम्पन्न गरेको छ । याे सङ्घ सम्पूर्ण साहित्यिक पत्रकारहरूको साझा सङ्गठन हो ।

समारोहका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले नेपाल साहित्यिक पत्रकार सङ्घद्वारा स्थापित 'विशिष्ट राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान-२०८०' र 'राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान - २०८०' वरिष्ठ साहित्यिक पत्रकारहरूलाई प्रदान गर्नुभयो । सो सम्मानमध्ये अभिव्यक्ति द्वैमासिक (२०२७) साहित्यिक पत्रिकाका प्रधान सम्पादक/प्रकाशक नगेन्द्रराज शर्माले साहित्यिक पत्रकारितामा अतुलनीय योगदान पुर्‍याएबापत 'विशिष्ट राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान - २०८०' प्राप्त गर्नुभयाे ।

यसैगरी आँजुर द्वैमासिक मैथिली साहित्यिक पत्रिकाका सम्पादक/प्रकाशक राम भरोस कापडि भ्रमर, हाम्रो सिर्जना त्रैमासिक साहित्यिक पत्रिका (२०५३)का सम्पादक/प्रकाशक डी.आर.पोखरेल, नारीस्वर त्रैमासिक साहित्यिक पत्रिका (२०५४)का सम्पादक/प्रकाशक हिरण्यकुमारी पाठक, हिमाली गुराँस द्वैमासिक साहित्यिक पत्रिका (२०५४) का सम्पादक/प्रकाशक खिमानन्द पोखरेलले साहित्यिक पत्रकारितामा अमूल्य योगदान पुर्‍याएबापत 'राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान - २०८०' द्वारा सम्मानित हुनुभएकाे छ ।

साे अवसरमा बाेल्दै प्रमुख अतिथि कुलपति राईले नेपाल प्रज्ञा-प्रतिष्ठानका सम्पूर्ण प्राज्ञहरू साहित्यिक पत्रकारिताक‌ै परिणाम भएकाे बताउनुभयाे । उहाँले भन्नुभयाे,- 'यसैबाट फुलेका, फलेका र प्रस्फुटित भएका हौँ । तसर्थ ,मेरो नेतृत्वको प्रज्ञा-प्रतिष्ठानले साहित्यिक पत्रिका सहयोग कोषलाई निरन्तरता दिँदै नेपाली भाषा र नेपाली मातृभाषा साहित्यिक पत्रकारिताका विशिष्ट एवम् वरिष्ठ दुई जना साहित्यिक पत्रकारलाई जनही राशि रू पचास/पचास हजारसहित पुरस्कृत एवम् सम्मानित गर्ने निर्णय गरेको हो । साथै, प्रज्ञा-प्रतिष्ठानको वर्तमान नेतृत्वले नेपाली भाषा मास्न खोज्यो भन्ने मिथ्या आरोप निन्दनीय छ । यस प्रतिष्ठानको ऐन र सङ्घीय संविधानअनुरूप नेपाली भाषा र नेपालमा बोलिने सबै मातृभाषा र साहित्यको संरक्षण र संवर्द्धन गर्नु मूल कर्तव्य हो ।'

उहाँले केही परम्परागत विषयवस्तुको ध्वंस र क्रमभङ्ग गरेर समानताका आधारमा नयाँ निर्माण गर्न खोज्दा कतिपय व्यक्तिहरूलाई असह्य भएकाे हुनसक्ने तर यसबाट आफु कदाचित पनि विचलित नहुने र महत्त्वपूर्ण प्राज्ञिक काम गर्ने बताउनुभयो ।

नेपाल साहित्यिक पत्रकार सङ्घका निवर्तमान अध्यक्ष तथा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले आफू सम्मानित हुन लागेको यस सुखद क्षणमा पनि स्वास्थ्यको प्रतिकूलताका कारण उपस्थित हुन नसकेकाे शुभकामनापत्रमार्फत् बताउनुभयाे । यस सङ्घले १७ औं स्थापना दिवस मनाइरहँदा साहित्यिक पत्रकारिताले भोग्नु परेका जटिलताबारे निर्क्योल पुर्‍याउन सकोस् भन्दै यसप्रति आफू सदा तत्पर रहेको शुभकामनापत्रमार्फत् उल्लेख गरेको बेहोरा सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले समारोहमा वाचन गर्नुभएकाे थियाे ।

यसैगरी कार्यक्रमका विशिष्ट अतिथि, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष रोचक घिमिरेले प्रज्ञा प्रतिष्ठानले साहित्यिक पत्रिकालाई दिँदै आएको अनुदानर सहयोगलाई निरन्तरता दिई साहित्यिक पत्रकारिताका विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको कदम आफैँमा महत्त्वपूर्ण भएकाे बताउनुभयाे । साथै प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको विद्यमान गरिमालाई बचाउँदै सबै जातजातिका भाषा र साहित्यको उन्नायन गर्नुपर्ने उहाँकाे भनाइ थियाे । विश्वविद्यालय र क्याम्पसका डिग्री र पिएचडीका विद्यार्थीहरूका परीक्षाजन्य थेसिसहरू यस प्रतिष्ठानबाट प्रकाशित गर्न नहुने भन्दै ऐतिहासिक र अनुसन्धानात्मक कृतिहरू प्रकाशन गर्नमा ध्यानदिनुपर्ने उहाँले बताउनुभयो ।

समारोहका विशेष अतिथि, सङ्घका निवर्तमान वरिष्ठ उपाध्यक्ष तथा भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले नेपाल साहित्यिक पत्रकार सङ्घको स्थापना भएदेखी साहित्यिक पत्रकारिताको समस्याको पहिचान, संस्थागत विकास र साहित्यिक पत्रकारको सम्मानमा जोड दिँदै आएको बताउनुभयो ।

यसैगरी समारोहका अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले नेपाल साहित्यिक पत्रकार सङ्घसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै यसले गर्दा आफूले सकेसम्म साहित्यिक पत्रकारिताका विषयमा भूमिका खेल्ने बताउनुभयो ।

समारोहका अतिथि एवम् साहित्यिक पत्रकार सङ्घका सभापति राधेश्याम लेकालीले आफूले पनि साहित्यिक पत्रकारितालाई जीवनको अभिन्न अङ्गको रूपमा आत्मसात् गरिसकेकाले यसको इतिहासलाई अक्षुण्ण राख्दै एकआपसमा सहकार्य र एकता गर्न सकिने बताउनुभयो ।

सम्मानित व्यक्तित्व वरिष्ठ साहित्यिक पत्रकार, मैथिली साहित्यिक पत्रिका आँजुरू द्वैमासिकका सम्पादक तथा मधेस प्रज्ञा प्रतिष्ठानका कुलपति रामभरोस कापडि भ्रमरले आफूले तिसको दसकदेखि साहित्यिक पत्रकारिता गर्दै आएपनि यस हैसियतमा कसैले खोजी नगरेकाे तर नेपाल साहित्यिक पत्रकार सङ्घले मैथिली भाषामा साहित्यिक पत्रकारिता गरे बापत सम्मान प्रदान गरेकाेमा ज्यादै हर्षित भएको बताउनुभयो ।

समारोह नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालको अध्यक्षतामा सम्पन्न भएकाे थियाे । उहाँले प्रज्ञा प्रतिष्ठानको वर्तमान नेतृत्वले साहित्यिक पत्रकारिताका प्रतिभाहरूलाई प्रोत्साहित गर्ने गरी पुरस्कार स्थापना गर्नु एउटा उपलब्धि भएकाे बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?