घरेलु तथा अवैतनिक महिला कामदारको अध्ययन प्रतिवेदन सार्वजनिक

Read Time = 5 mins

काठमाडौं । नेपालमा पहिलो पटक घरेलु तथा अवैतनिक महिला कामदारको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । अक्सफार्म नेपालको सहयोगमा युवालय नामक गैरसरकारी संस्थाले अध्ययन प्रतिवेदन काठमाडौंमा एक कार्यक्रमबीच उपसभामुख इन्दिरा रानामगरले सार्वजनिक गर्नुभएको हो ।

मस्यौदा प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई उद्घाटन गर्दै प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले घरेलु कामदारको सन्दर्भमा नेपालमा हुँदै आएको अभ्यासमा ठूलो सुधारको खाँचो रहेको बताउनुभयो । उहाँले कुनै पनि घरेलु कामदार राख्नुअघि उनीहरूको मानसिकता अध्ययन गर्नुपर्ने तथा कार्यक्षेत्रमा गर्ने कामबारे आधारभूत तालिमको व्यवस्था हुनुपर्ने विषयमा जोड दिनुभयो । यस्ता कादारलाई सामाजिक सुरक्षामा आबद्ध गराउने तथा औषधोपचार तथा दुर्घटना बीमा अनिवार्य हुनुपर्ने उहाँको भनाइ थियो ।

अधिकांशको तलब मासिक तीनदेखि चार हजार रुपैयाँमात्रै रहेको देखिएको छ । पारिश्रमिक कम भएकै कारण ३० प्रतिशतले जीविकोपार्जनका लागि एकभन्दा बढी घरमा काम गर्नुपर्ने अवस्था रहेको बताए । १४ प्रतिशतले त दुईभन्दा बढी घरमा काम गर्ने उल्लेख गरेका थिए ।

अनुसन्धान प्रतिवेदनउपर विज्ञको सुझावलाई समेत समावेश गरेर रिपोर्टलाई छिट्टै अन्तिम रूप दिइने संस्थाका अध्यक्ष सन्तोष महर्जनले जानकारी दिनुभयो । उक्त अध्ययनका लागि युवालयले चार प्रदेशका १३ जिल्लालाई आधार बनाएको थियो । जसमा शहरी क्षेत्र रहेको काठमाडौंदेखि मधेस र विकट पहाडी जिल्लासमेत समेटिएको छ । सो अध्ययनका लागि २५ देखि ४० वर्ष उमेर समूहका १०६ जना वैतनिक तथा १०२ जना अवैतनिक कामदारलाई समेटिएको थियो ।

सर्भे र केन्द्रित समूह छलफल विधिमार्फत् गरिएको अध्ययनमा वैतनिक कामदारतर्फ २२ प्रतिशतले कार्यस्थलमा शारीरिक तथा मानसिक हिंसाको अनुभव गर्नुपरेको बताएका छन् । त्यस्तै, बिहान र बेलुकाको काममा दौडधुप बढी हुने र एकभन्दा धेरै घरमा काम गरेका महिलाहरूले बीचको समयमा पर्याप्त समय आराम पाउन नसकेको गुनासो गरेका थिए ।

यसरी काम गर्ने अधिकांशको तलब मासिक तीनदेखि चार हजार रुपैयाँमात्रै रहेको देखिएको छ । पारिश्रमिक कम भएकै कारण ३० प्रतिशतले जीविकोपार्जनका लागि एकभन्दा बढी घरमा काम गर्नुपर्ने अवस्था रहेको बताएका थिए । १४ प्रतिशतले त दुईभन्दा बढी घरमा काम गर्ने उल्लेख गरेका थिए ।

अध्ययनले अवैतनिक रूपमा काम गर्ने घरेलु महिला श्रमिकको बारेमा समेत सर्भेक्षण गरेको थियो । १०२ जनामा गरिएको उक्त सर्भेक्षणमा ३४ जना फुर्सदको समयमा अन्य कार्यमा संलग्न रहेको पाइयो । त्यसमध्ये २६ जनाले घरमै केही सामग्री उत्पादन गर्ने गरेको बताए भने बाँकीमध्ये केहीमात्रै अफिस गएर कामगर्ने बताए । तर, घरमै बसेर गरिएका उत्पादनले बजार पाए/नपाएकोबारे प्रष्ट नभएको अध्ययनमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रममा सरकारका प्रतिनिधि, ट्रेड युनियन क्षेत्रमा आबद्ध महिला श्रमिकका तथा अन्य सरोकारवाला प्रतिवेदनउपर सुझाब प्रस्तुत गरेका थिए । समूहगत छलफलपछि आएका निष्कर्षलाई समेटेर उक्त प्रतिवेदनलाई केही समयमै अन्तिम रिपोर्ट सार्वजनिक गर्ने युवालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?