सेटिङमा भिजिट भिसामा विदेशिन्छन्, पैसा नपुगे विमानस्थलमै प्रहरीले समाउँछन्

हिमालय टाइम्स
Read Time = 8 mins

रमेश भारती/हिटा
काठमाडौं । काठमाडौं सेतोपुलका दिपेश क्षेत्री हाल युएई प्रहरीमा कार्यरत हुनुहुन्छ । उहाँ एक वर्षअघि मात्र भिजिट भिसामा युएई पुग्नुभएको थियो । उहाँ काठमाडौंको एक ट्राभल एजेन्सीमार्फत जान्नुभएको थियो । मसँग आएका तीनजना साथीहरूलाई अध्यागमन प्रहरीले पैसा नपुगेका कारण रोकेको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो । ‘मेरो चाँहि सेटिङ पुगेका कारण आउन पाएँ । प्रहरीले नै तपार्इं चाँहि फिट भन्दै विमानस्थलभित्र छिरायो । तर, साथीहरूको चाहिँ सेटिङमार्फत पैसा नपुगेका कारण रोकिए ।’ उहाँले भन्नुभयो, ‘मैले चाहिँ एजेन्सीलाई पाँच लाख तिरी भिजिट भिसामा युएई आएँ । युएई आएर चार महिनापछि यहाँको प्रहरीमा तीन लाख रुपैयाँ नेपालीलाई नै खुस खुवाएर भर्ती भएँ । अहिले ऋण तिर्दै छु ।’

भिजिट भिसामा आएका प्राय सबै नेपाली म्यानपावर, एजेन्ट, ट्राभल एजेन्सी र प्रहरीको सेटिङमै आउने गरेको उहाँको दाबी छ । युएईमा भिजिट भिसामा आएको नेपाली वैदेशिक रोजगारीको लोभ र उनीहरू सेटिङमै आएको बताउने गरेको क्षेत्रीले जानकारी दिनुभयो ।
क्षेत्रीजस्तै भिजिट भिसामा वैदेशिक रोजगारीमा बाहिर हिड्नुभएकी अमृता लिम्बूलाई गत बुधबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्कायो । धरान घर बताउने लिम्बू एजेन्टमार्फत युएई हुँदै युरोपको रोजगारीमा जान लाग्नुभएको थियो । इटहरीका कुशल चौधरीलाई नौ लाख रुपैयाँ तिरे पनि सेटिङ नमिलेका कारण आफू रोकिएको उहाँको आरोप छ । ‘सेटिङ मिलेका गए । हामी सेटिङ नमिलेका रोकियाँै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी र एजेन्टको सेटिङमा आफू दुईपटक युएई पुगेर आएको हुँ । अहिले त्यस्तै कागतजात कसरी मिलेन त ?’ उहाँले भन्नुभयो, ‘हाम्रो विमानस्थलमा काम गर्ने कर्मचारी निष्पक्ष हुने हुन् भने ८० प्रतिशत नेपाली भिजिट भिसामा जान पाउँदैनन् । भिजिट भिसामा गएर ९० प्रतिशत विदेशमै बसेर काम गर्छन् । ९० प्रतिशत सेटिङमै जाने गरेका छन् ।’

भिजिट भिसामा जानेहरूको संख्या धेरै छ । तर, उनीहरू किन भिजिट भिसामा गएका हुन् भन्ने पनि विमानस्थलका कर्मचारीलाई राम्ररी थाहा भएको उहाँको भनाइ छ । हिमालय टाइम्सले भेट्टाएका क्षेत्री र लिम्बू त प्रतिनिधि पात्र मात्र हुन् । उहाँहरू जस्ता भिजिट भिसामा जानुभएका धेरै विदेशमै समस्यामा पर्ने गरेका छन् भने कतिपय स्वदेशमै आर्थिक ठगीमा पर्ने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अध्ययनहरूले औँल्याएका छन् ।

विमानस्थलका अनुसार दैनिक तीन सयभन्दा धेरै भिजिट भिसामा विदेशिने गरेका छन् । यसरी भिजिट भिसामा जानेहरू रोजगारीका लागि नै जाने गरेको गृह मन्त्रालयको विभिन्न अध्ययनमा समेत उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमनका प्रहरीहरूले भने सेटिङमा काम नहुने गरेको दाबी गर्दै आएका छन् । भिजिट भिसाका लागि तस्करहरूसँग मिलेर काम गरेको आरोपमा विमानस्थलमा कार्यरत कर्मचारीहरू महिनैपिच्छे सरुवासमेत हुँदै आएका छन् ।

चार हजार फर्किए, ३० हजार बाहिरिए
भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजारभन्दा बढी नेपालीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ । भिजिट भिसा लगाएर रोजगारीका लागि विभिन्न देश हिँडेको र मानव बेचविखन तथा मानव तस्करीको जोखिममा पर्न सक्ने उच्च जोखिम भएको अशंकामा प्रहरीले परामर्श गरी विमानस्थलबाटै फर्काउने जनाएको छ ।

२०७९ वैशाखयता अहिलेसम्म भिजिट भिसामा वैदेशिक रोजगारीमा जान लागेका चार हजार १७३ जनालाई विमानस्थलबाटै फर्काइएको मानव बेचविखन तथा अनुसन्धान ब्युरोले जनाएको छ । यो अवधिमा ३० हजारभन्दा धेरै नेपाली बाहिरिएका छन् । यस्तै, ६ महिनायता यूएई, ओमान, कतार, कुवेत र बहराइनजस्ता देशमा भिजिट भिसामा जान खोज्ने २१ सय पाँच महिला र ९९६ जना पुरुष गरी ३१ सय एकजना रहेका छन् । भिजिट भिसामा सर्बिया, पोर्चुगल, टर्की, साइप्रसजस्ता देशमा भिजिट भिसामा जाने ११ जना, अजरबैजान, अफ्रिकी देशहरू जान खोज्ने १५ जना र पूर्वी एसियाका देशहरू म्यानमार, लाओस, कम्बोडिया, थाइल्याण्ड लगायतका देश जान खोज्ने ४४ जनालाई विमानस्थलबाटै फर्काइएको ब्युरो तथ्यांकमा छ । गएको वैशाखदेखि अहिलेसम्म साढे दुई महिनाको अवधिमै एक हजार ७११ जनालाई प्रहरीले विमानस्थलबाट परामर्श गरी फर्काएको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गएको वर्षको माघदेखि अहिलेसम्म करिब ६ महिनाको अवधिमा मात्रै तीन हजार १७१ जना फर्काइएको छ । उनीहरूमध्ये दुई हजार १२६ जना महिला रहेका छन् भने एक हजार ४५ जना पुरुष रहेको उहाँले बताउनुभयो । ‘विमानस्थलबाट फर्काइनेमा सबैभन्दा धेरै महिला रहेका छन् । जसका कारण मानव भिजिट भिसाको वहानामा वैदेशिक रोजगारीमा कामदार ओसार्ने काम भइरहेको छ । कतिपयलाई त एजेन्टहरूले नै राहदानी बनाउनेदेखि सबै प्रक्रियामा पैसा खर्च गरेको समेत पाइन्छ ।’ उहाँले भन्नुभयो, ‘भिजिट भिसामा खाडीका देश जान खोज्ने धेरै भेटिन्छन् । कतिपयसँग हातमा प्रहरी रिपोर्ट, मेडिकल जाँचको कागजात पनि भेटिन्छ । भिसा भिजिट हुन्छ तर सोधपुछ गर्दै जाँदा उहाँ काम गर्नका लागि हिँडेको भन्ने प्रमाण भेटिइहाल्छ ।’

भिजिट भिसामा हिँडेका र बेचबिखन तथा तस्करीको जोखिममा पर्ने जोखिम भएकामध्ये धेरैजसो खाडीका देशमा जान खोज्नेहरू रहेको ब्युरोले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?