दोहोरो पदक विजेता उज्ज्वल सम्मानित

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नैकापस्थित ब्राइट फ्युचर स्कुलले मेक्सिकोको मजात्लानमा भएको आइएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा दोहोरो पदक जित्न सफल उज्ज्वल वाग्लेलाई सोमबार सम्मान गरेको छ । प्रतियोगिताअन्तर्गत अफिसियल र खुला गरी छुट्टाछुट्टै प्रतिस्पर्धा भएको थियो । उज्ज्वलले अफिसियलतर्फ स्वर्ण तथा खुलामा रजत जित्नुभएको हो । जुन १८ देखि २६ तारिखसम्म भएको प्रतियोगितामा उज्ज्वलले यू–१८ उमेर समूहको गेरोगीतर्फ पुरुष ७३ केजीमुनि प्रतिस्पर्धा गर्नुभएको थियो । ब्राइट फ्युचरमा कक्षा १० मा अध्ययरत उज्ज्वलको यो नै ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला, ब्राइट फ्युचरका प्रिन्सिपल दयाराम थापा, ब्राइट फ्युचरका अध्यक्ष मोहन कार्की, चन्द्रागिरि नगरपालिका वडा ४ का अध्यक्ष घनश्याम लुईटेललगायतले उज्ज्वललाई एक कार्यक्रमबीच टीका र खादा लगाएर सम्मान गर्नुभयो ।

उपाध्यक्ष कोइरालाले उज्ज्वललाई सफलताका लागि बधाई दिँदै ब्राइट फ्युचरले विभिन्न खेलमा प्रतिभावान खेलाडी उत्पादनमा विशेष योगदान गरेको धारणा व्यक्त गर्नुभयो ।

प्रिन्सिपल थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण र रजत पदक जितेर स्कुलको मानसम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रियस्तरमा बढाएकोमा उज्ज्वललाई धन्यवादसँगै बधाई दिँदै उज्ज्वलले स्कुलको मात्र नभई मुलुकको गौरवसमेत बढेको बताउनुभयो ।

अध्यक्ष कार्कीले उज्ज्वलको सफलताले अन्य खेलाडीलाई तेक्वान्दोमा लाग्न प्रेरणा मिल्ने बताउँदै आगामी दिनमा उज्ज्वलले अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?