पहिरोको जोखिममा नारायणगढ-मुग्लिन सडक

बर्सेनि टाउको दुःखाइ बन्दा मारमा सर्वसाधारण

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 9 mins

धादिङ । अर्बौं रुपैयाँ खर्च गरेर स्तरोन्नति गरिएको नारायणगढ-मुग्लिन सडकखण्ड वर्षा सुरु भएसँगै पटक-पटक अवरुद्ध बनेको छ । पहिरोका कारण सडक अवरुद्ध बन्दा यात्रुहरूले भने सास्ती खेप्दै आएका छन् । अन्य समयमा खासै समस्या नदेखिए पनि वर्षायामको समयमा भने उक्त सडकखण्डले ठूलै समस्या भोग्न बाध्य छ । असार महिना सुरु भएलगत्तै यस सडकखण्डमा पहिरो जान थालेपछि यात्रुहरूले निकै कष्टकर साथ यात्रा गरिरहेका छन् । लामो समय लगाएर तीन अर्ब रुपैयाँ खचेर पुनर्निर्माण गरिएको सडकखण्डमा वर्षायाम सुरु भएयता बारम्बार पहिरो गएर कहिले सडक एकतर्फी त कहिले बन्द नै गर्नुपरेको छ ।

मनसुन सुरु भएसँगै चितवनको मुग्लिन नारायणगढ सडकमा पुनः सास्ती सुरु भएको छ । पहिरोले सडक अहिले अस्तव्यस्त बन्न पुगेको छ । गत असार १४ गते बिहीबार सुक्खा पहिरो खसेपछि अस्तव्यस्त भएको सडक अहिले प्रत्येक दिन बन्द हुने गरेको छ । बिहीबार दिउँसो सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका-५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको थियो । वर्षायाम लागेदेखि नै देशका विभिन्न भागमा राजमार्ग, सहायक राजमार्ग र ग्रामीण सडकहरू अवरुद्ध छन् । राजधानी काठमाडौं, पर्यटकीय सहर पोखरालगायत क्षेत्रका लागि लाइफलाइन सडकखण्डका रूपमा परिचित ‘मुग्लिन-नारायणगढ सडकखण्ड’ पटक-पटक घण्टौँसम्म अवरुद्ध भइरहँदा सार्वजनिक तथा निजी सवारीका यात्री प्रभावित छन् । मालवाहक सवारीहरू पनि राजमार्गमा नै रोकिँदा काठमाडौंको आपूर्ति प्रणालीमा समेत असर गरिरहेको छ ।

चार वर्षअघि डेडिकेटेड दुई लेनमा सडक विस्तार गरेसँगै हरेक वर्ष नयाँ-नयाँ ठाउँबाट पहिरोहरू खसिरहेका छन् । यो खण्डमा जानसक्ने पहिरोहरूबारे विश्व बैंकले अध्ययन गरिरहँदा पहिरोले चरम सास्ती दिएको छ । करिब ४० करोड खर्च गरेर भएका काम पहिरो रोक्न पर्याप्त भएको छैन । सडकमा खस्न सक्ने पहिरोहरू रोक्न सिन्को नभाँच्ने सरकार वर्षायाममा बाटो रोकिरहेका पहिरो पन्छाउन पनि सुस्त गतिमा काम गरिरहेको छ । यसले यात्रीका लागि सडकहरू ‘सकस मार्ग’ बन्न पुगेका छन् ।

घण्टौँ जाममा पर्दा धेरै यात्री चिउरा र चाउचाउ खाएर भोक मेटिरहेका छन् । स्थानीय होटलहरूमा छोइनसक्नुको महँगी छ । जाममा गाडी रोकिँदा कसैको परीक्षा छुटिरहेको छ भने कसैको विदेश जाने फ्लाइट । कोही बिरामी सडकमै रोकिएका बसमा औषधि अभावले छट्पटाइरहेका छन् । महिला, बालबालिका र वृद्धवृद्धा यात्रीलाई थप सास्ती छ । यसका कारण देशको सार्वजनिक सडकहरू व्यवस्थापनमा प्रश्न उठेको छ । संघीय राजधानी काठमाडौंको लाइफ लाइन मानिएको नारायणगढ-मुग्लिन सडकको यात्रा पहिरोका कारण कष्टकर र अनिश्चित बनेको छ । यसअघि पहिरो रोकथामको कामपछि झण्डै ३० ठाउँको पहिरो नियन्त्रण भएको भए पनि पछिल्ला वर्ष नयाँ ठाउँमा पहिरो देखिएको र तीमध्ये केही निकै जटिल रहेका सडक डिभिजन कार्यालय, भरतपुरले जनाएको छ ।

बर्खा लागेसँगै नारायणगढ-मुग्लिन सडकखण्डमा पटक-पटक पहिरो जाने र बाटो बन्द हुने गरेको छ । यो सडकखण्ड भएर दैनिक हजारौँ गाडी आउजाउ गर्छन् । उक्त सडकखण्ड कहिले पहिरो त कहिले सवारी दुर्घटना, कहिले ठूला सवारीसाधन बीचबाटोमै बिग्रिँदा मुग्लिन सडकखण्डको यात्रा सकसपूर्ण बन्ने गरेको छ । गत बिहीबार नारायणघाट मुग्लिन सडकखण्डको तीन किलो भन्ने स्थानमा पहिरो खसेपछि साना तथा ठूला सवारी बीचबाटोमै रोकिए । सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड २८ घण्टापछि सञ्चालनमा आयो । तर, सडक सञ्चालनमा आएको केही घण्टामै पुनः सोही स्थानमा पहिरो जाँदा सडक अवरुद्ध हुन पुग्यो । त्यसको मार यात्रुलाई नै हो । पहिरोका कारण अवरुद्ध भएको सडक खुलाउन जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीको टोली नै खटियो । मेसिन लगाएर पहिरो हटाउन सडक विभागका मजदुरलगायत इञ्जिनियर पनि तैनाथ अवस्थामा खडा थिए । पहिरो हटाउँदै गए फेरि पहिरो खस्छ जसले गर्दा सवारी सञ्चालन गर्न निकै कठिन भयो ।

त्यसो त नारायणगढ-मुग्लिन सडक वर्षाको समयमा आफैँमा जोखिम क्षेत्र पनि हो । वर्षा लागेपछि यहाँ सवारीलाई ठूलै सास्ती हुन्छ । गत बिहीबार यता यो सडकमा पहिरो खसेर सडक अवरुद्ध हुने र खुलाउने क्रम अझै रोकिएको छैन । गत महिना पहिरो तथा अन्य कारण उक्त सडकखण्ड तीनपटक अवरुद्ध भएको सडक विभागले जनाएको छ । विश्व बैंकको ऋण सहयोगमा झण्डै तीन वर्षअघि उक्त सडक खण्डको पुनस्र्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गरिएको थियो । लगत्तै सडकसँगको भिरालो भूबनोट संरक्षण गर्न पुनः विश्व बैंककै सहयोगमा मूल्यांकन गरी २६ स्थानमा त्यसको काम सुरु गरिएको थियो । नारायणघाट-मुग्लिन सडकको चार किलोमिटर, १४ किलोमिटर र २० किलोमिटरमा पहिरोको उच्च जोखिम छ । विशेष गरी मनसुनको समयमा तीन ठाउँमा बाढी पहिरोले अवरोध सृजना गर्ने गरेको छ ।

नारायणघाट-मुग्लिन खण्डको २६ स्थानमा भिरालो जमिन संरक्षणमा लगभग ३६ करोड लगानी भएको पाइएको छ । सडक विभागले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका सहितका अन्य दातृ निकायहरूलाई समेत अध्ययन गरेर निकास के हुन सक्छ भनेर निष्कर्ष निकालिदिन अनुरोध गरिने तयारी छ । तीन वर्ष लगाएर सम्पन्न भएको सडक पुनःस्र्थापनाको कार्यपश्चात् गत आर्थिक वर्षमा २४ स्थानमा भिरालो जमिन संरक्षणको काम सम्पन्न भइसकेको छ, भने अन्य स्थानमा बाँकी छ ।

मुग्लिन-नारायणगढ सडकखण्डमा बाटो चौडा गर्ने, कलभर्ट बनाउनेभन्दा भिरालो भागलाई स्थिर बनाउनु आवश्यक छ । राजमार्ग र पृथ्वी राजमार्ग क्षेत्रमा पहिरो हटाउन पाँचवटा डोजर तयारी अवस्थामा राखिएको छ । काठमाडौं भित्रिने र बाहिरिने मुख्य लाइफ लाइन मानिएको यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी आवतजावत गर्छन् । सडकको स्तरोन्नतिका क्रममा धेरैजसो ठाउँमा भित्तो काटिएकाले यो सडक खण्डमा पहिरोको जोखिम उच्च छ । २०३१ सालमा खुलेको पृथ्वी राजमार्ग २०४८ सालमा आवधिक मर्मत गर्दा भित्तातर्फ सुधारको काम भएन । सवारीको अत्यधिक चाप झेलिरहेको पूर्व-पश्चिम राजमार्ग २०४२ सालमा बनेपछि भत्किँदा टाल्नेबाहेक पुनर्निर्माण (रिह्याब) भएको छैन । कतिपय खण्ड भत्किँदा मर्मत गरिए पनि सरकारले राजमार्गको पुनर्निर्माणमा चासो दिएको छैन । अब चार लेनमा सडक विस्तार गर्दा पनि राजमार्गका दायाँ–बायाँ प्रकोपबाट हुने जोखिम घटाउने गरी बलिया पूर्वाधार बनाउनेतर्फ खासै योजना बनेका छैनन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?