लिफ्टिङमार्फत घरघरमा पानी आउन थालेपछि लमगाउँवासी हर्षित

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । “एक गाग्री पानी भर्न दुई घण्टा कुर्नु पथ्र्यो, अहिले यो गाउँका सबै घरमा धारा बनेका छन्, हाम्रो वर्षौँदेखिको समस्या समाधान भयो ।” बागलुङ नगरपालिका–६ लमगाउँकी अनकली थापा अहिले ५० वर्ष हुनु भयो । उहाँले थाहा पाउने भएदेखि यो गाउँमा खानेपानीको हाहाकार थियो । जिल्ला सदरमुकाम नजिकैको गाउँ भए पनि लमगाउँमा खानेपानीको समस्या वर्षौँदेखि हुँदै आएको थियो । तर यस वर्ष अनकली लगायत गाउँका १४४ घरमा धारा बनेपछि स्थानीय हर्षित छन् ।

बागलुङ नगरपालिका र नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को लगानीमा अहिले गाउँमा लिफ्टमार्फत खानेपानी वितरण थालिएको छ । लमगाउँमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ निर्माणपछि यसै सातादेखि धारामा पानी आउन थालेको छ । धारामा पानी आएपछि अब गाउँलेको दैनिकीमा परिवर्तन आउने अपेक्षा गरेको अनकलीले बताउनुभयो । लामो समयदेखि सरोकारवाला निकायलाई खानेपानीको माग गरे पनि अहिले बल्ल पूरा भएको उहाँ बताउनुहुन्छ ।

खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै यस क्षेत्रका स्थानीयलाई ठुलो राहत पुगेको लमगाउँ लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष एकेन्द्र थापाले बताउनुभयो । गाउँमा एक सय ४४ घरमा एक घर एक धारा र विद्यालयमा एउटा गरि १४५ धारा निर्माण गरिएको अध्यक्ष थापाले बताउनुभयो । आयोजना ७२ लाख २६ हजार १४७ रुपैयाँमा सम्पन्न भएको उहाँको भनाइ छ ।

बागलुङ नगरपालिकाले विनयोजन गरेको १२ लाख १६ हजार ४ रुपैयाँ, नेवाको ४६ लाख २ हजार ४२९ रुपैयाँ, स्थानीयको नगद सहयोग ४ लाख ५१ हजार ४ सय रुपैयाँ र स्थानीय जनश्रमदान ९ लाख ५६ हजार ३१४ रुपैयाँ खर्च भएको थापा बताउनुहुन्छ । यस आयोजनाबाट गाउँका ७१६ जना नागरिकले सेवा लिने छन् । आयोजना अन्तरगत इन्टेक १, पानी बाँड्ने ठ्याड्ने १, पानी जम्मा गर्ने ४ वटा स्थानीय समुदायमा १४४ र स्थानीय विद्यालयमा १ धारा निर्माण गरिएको छ । आयोजनाका निम्ति १० हजार ६९१ मिटर पोलिथिन पाइप र १६० मिटर जिआई पाइप जडान गरिएको अध्यक्ष थापालेको भनाइ छ ।

उहाँ भन्नुहुन्छ– “अब गाउँमा कोही पनि नागरिक पानी भर्नका लागि दुःख पाउनु पर्ने छैन, अहिलेसम्म जति समस्या भयो, त्यसलाई बिर्सिएर नयाँ खानेपानी आयोजनाको संरक्षण गर्ने र उपभोग गर्नु पर्छ, गाउँका नागरिकहरुको अब दैनिकीसमेत फेरिने छ, पहिले खानेपानीकै लागि खर्च गर्ने समय अब उत्पादनमा लगाउने छन्, खेतीयोग्य भएर पनि सिंचाइ अभावमा बाँझो रहेका जमिनमा तरकारी फल्ने छन्, कोहीले पनि अब बजारबाट तरकारी किनेर खानु पर्ने छैन ।”

बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्तकुमार श्रेष्ठले लमगाउँका सयौँ नागरिक खानेपानीको समस्याबाट लामो समयदेखि पिल्सिएको हुँदा नगरपालिकाले खानेपानीको संकट रहेको गाउँमा ‘एक घर, एक धारा’ निर्माण गर्ने अभियान अन्तर्गत खानेपानीको मुल अभाव भएको स्थानमा लिफ्टमार्फत घर घरमै खानेपानी पु¥याएको बताउनुभयो । खेतमा रहेका कुवा, मूल र सामुदायिक धाराकोे पानी प्रयोग गर्दै आएका स्थानीयले लिफ्टमार्फत घरमुनिको पानी तानेर घर–घरमा पु¥याइएको उहाँको भनाइ छ ।

“विविध कारणले बजार भएर पनि यो ठाउँमा खानेपानीको व्यवस्थापन हुन सकेको थिएन, खानेपानी अभावमा स्थानीयले अहिलेसम्म ठूलो अभाव झेल्दै आए, अब कसैले पानीको समस्या भयो भन्नु पर्ने छैन,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो – “यो आयोजनालाई स्थानीयले जति संरक्षण गर्नुहुन्छ, उति दीर्घकालीसम्म रहन्छ, समस्या परे नगरपालिकाले सहयोग गर्दै जानेछ ।”

नगरभित्र खानेपानीको अभाव भएको क्षेत्रमा थप व्यवस्थापन गरेर जाने उहाँले बताउनुभयो । लिफ्टमार्फत खानेपानी पु¥याउँदा विद्युत् महसुल बढी लाग्ने भए पनि गण्डकी प्रदेश सरकारले छुट गरेका कारण अहिले सहज भएको श्रेष्ठको भनाइ छ । आगामी पाँच वर्षभित्र बागलुङ नगरपालिकाको खानेपानी संकट क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य राखेको उहाँले बताउनुभयो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा)का गण्डकी प्रदेश प्रमुख रमेश दाहालले आफूहरुले सुगमदेखि दुरदराजका गाउँमा खानेपानीको समस्या समाधान गर्दै आएको भन्दै लमगाउँमा पनि त्यो समस्या लामो समयदेखि रहँदै आएको हुँदा नगरपालिकासँग सहकार्य गरेर समसाधान गरेको बताउनुभयो । अव्यवस्थित रुपमा रहेको खानेपानीको मुललाई व्यवस्थित गरेर घरघरमा धारा पु¥याइएको उहाँको भनाइ छ । आयोजनाका लागि नेवाले ४६ लाख दुई हजार ४२९ रुपैयाँ लगानी गरेको छ । स्थानीयको सहजताका लागि दुई/दुई वटा पानी तान्ने विद्युतीय मोटरको व्यवस्थापन गरेको उहाँ बताउनुहुन्छ ।

आयोजना वि.सं. २०७९ साउन १६ गतेदेखि सुरु भएको थियो भने २०८० असार १५ मा सम्पन्न भई घरघरका धारामा पानी वितरण गर्न थालिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?