✍️ खेमनाथ दाहाल
खाना खाएर कतै घुम्न जाने हो ? आज विदाको दिन भएकोले भान्सामा गएर फूर्तिसाथ ब्यस्त उषालाई प्रस्ताव गरेँ । अप्रत्याशित प्रस्तावमा छक्कपर्दै ‘ज्याक्सन हाइट भतिज मदनकोतिर जाने कि ?’ शालीन र सहज भावमा आफ्नो मनशाय प्रकट गरिन् । हास्तै ‘त्यो भन्दा न्यूयोर्कमा अर्को स्थान छैन हो कि ?’ मैले फ्याट्ट फुस्काएँ । मेरो भनाइले मन्दपवनमा नवपालुवा कम्पित भएझैँ उनका ओठहरूमा मृदु कम्पनले छायो । म झनै आल्हादति भएँ । यो कम्पनको अर्थ खोजेँ । मैले भनेको नमान्ने भए किन सोधेको होला ! यही प्रतिध्वनित भइरहेको आभाष भयो मलाई । तथापि नसुनेको वा नबुझेको स्वाङ पार्दै टेवलमा तयार राखेको चियाको कप टिपेँ र बाहिर डेकतर्फ निस्किएँ ।
बाहिर बसेर चिया पिउँदै सोच्न थालेँ । म बसेको यो डेक जसलाई म मेरो भाषामा मञ्च भन्दछु । वातानुकुलित परिवेशमा बस्ताबस्ता केही क्षण प्रकृतिसँग लुकामारी खेल्दै आनन्दमा रम्न मेरो घरबेटी जोनले यसलाई राम्ररी सजाएको छ । म यी मञ्च र हाम्रा तराईका हावाधरको तुलना गर्छु र निष्कर्ष निकाल्छु बनावट पृथक भए पनि उद्देश्य समान प्रकृति सामिप्य ! अमेरिकामा झट्ट हेर्दा लाग्छ प्रायः यहाँका हरेक वासस्थानका प्रांगणमा एउटा मञ्च, छेउमा दुबोको चौर त्यसमा केही फूलका बुथ्रा र दुईचार वृक्ष । यो चलन एक प्रकारले संस्कृतिको रूपमा नै विकसित भएको रहेछ ।
अक्सर यहाँका घर आगनका यस्ता हरिया चउरलाई हेर्दै गर्दा म मेरो बाल्यकालको मेन्छ्येयाम ढापका नागीको फाँटमा पुग्दछु । तोते बोलीमा त्यहाँ गाएका श्लील-अश्लील गीत अनि ओरालामा चिप्लेटी खेलेको सम्झन्छु । सिमसिमे पानीमा घुमराडी ओडेर गोठालाहरूलाई पाडाबाछा ओतमा सार्न परेको धौ-धौ, चरनमा गएका गाई–भैँसीहरू झरीमा आफ्ना बाछा–पाडाका चिन्ताले चाडै फर्किएर ढ्वा-ढ्वा कराउँदै गोठका वरिपरि घुमेका क्षणहरू, बाहिर गोबरका थुप्रा र भित्रका नौनीका डल्डाको स्मरणमा आफैंमा हराउँछु । र, अन्ततः आनन्द विभोर हुन थाल्दछु ।
यहाँ झैँ किन ! पशुपक्षीहरू स्वतन्त्र विचरण गर्न सत्तैनन् मेरा देशमा ? खोइ मैले अमेरिककामा कतै पनि यिनीहरूलाई मार्न वा दुःख दिन उद्यत् बच्चाबच्चीको झुण्ड देखिन ? हामीले आदिम युगको संस्कृतिको रक्षार्थ नानीबाबुहरूलाई गुलेली दिइरहेका हो कि ? संवेदनामा ह्रास आएर हो ?
अहिले म यही सोचमा निमग्न भएको थाहापाएर होला लोथर्केका सुन्दर बच्चाहरू मेरो छेवैमा कुदेर आए र पुनः गु....रु....रु....चौरतर्फ लागे । तिनीहरूको आगमन र प्रत्यागमन प्रायः नियमित भए पनि आज अझ सुन्दर लाग्यो । कताकता आफूलाई जिस्क्याएको अनुभूत भयो । यहाँका प्रायः घर आँगन र चौबाटामा यसरी लोखर्के कुदेको देख्ता अक्सर मलाई अमेरिकीहरूको पशुपक्षी प्रेमको भनक हुन्छ । जबजब यहाँका बच्चाहरूले लोथर्केसँग खेलेको देख्छु म मेरा देशका गुलेली हातमा लिएर चराचुरूंगी मार्न उद्यत् नानीबाबुहरूलाई सम्झन्छु । ‘अहिंसा परमो धर्म’ मेरा सनातन समाजको मूल मन्त्र तर म अमेरिकाका प्रायः सडक र घर आँगनमा यसरी लोर्के निष्फिक्री दौडेको देख्ता कताकखता सर्माउँछु ।
आफैंलाई सोध्छु यहाँ झैँ किन ! पशुपक्षीहरू स्वतन्त्र विचरण गर्न सक्तैनन् मेरा देशमा ? खोइ मैले अमेरिककामा कतै पनि यिनीहरूलाई मार्न वा दुःख दिन उद्यत् बच्चाबच्चीको झुण्ड देखिन ? हामीले आदिम युगको संस्कृतिको रक्षार्थ नानीबाबुहरूलाई गुलेली दिइरहेका हो कि ? संवेदनामा ह्रास आएर हो ? कि कतै ‘जीवो जीवस्य जीवनं’ लाई आत्मसात् गरेर ? यस्ता कुरामा म द्विविधाग्रस्त हुन थाल्दछु र आफैंलाई प्रश्न गर्दछु । हामीले गुलेलीको साटो पुस्तक थमाउने बेलालाई अझैं समात्न नसकेकोमा थक्थकाउँछु र हाम्रा सोचको खोटमा बेचैन बन्न थाल्छु ।
मेरो सोचाइ भंग गर्न झैँ भालेपोथी लोखर्के मेरा सामुन्ने आएर खेल्न थाले । सायद यी तीनै भुराका बाआमा होलान् ? कल्पना गर्दै म तिनको कृत्य हेर्न थालेँ । एकछिन भूइँमा केही खोज्ने र फेरि एक आपसमा मुख जोड्ने यिनको कर्मलाई मैले अथ्र्याउन सकिन तथापि यसबेला यसलाई चुम्बनमा परिभाषित गरेँ । यिनका प्रेममय जीवनको कल्पनामा प्रेमको परिभाषा खोज्न थालेँ ।
यसैबेला एटलान्टिक समुद्रको वायुको मन्दचालसँगै उषा मेरा समीप आएर टक्क अडिइन् । उनले मेरा सामुको कप टिप्न हात बढाउँदै गर्दा मैले पुनः आधा कप चियाको माग राखेँ । मेरो माग सुनेर उनले सदा झँै ‘म हैरान भएँ हजुरलाई धेरै चिया नपिऊँ भने पनि कहिल्यै लागेन !’ सँग थप केही प्रवचन र लामो सुस्केरा छाडेरभित्र पसिन् । लामो सुस्केर छोडे पनि, जति नै रिसाएको स्वाङ पारे पनि मलाई थाहा छ अबको दश मिनेटभित्र मेरो चिया आइपुग्नेछ । त्यसको बदलामा भने मैले केही प्रवचन अवश्य सुन्नुपर्ने छ । नभन्दै उनले चिया ल्याएर टेबलमा राखिन् र एकछिन मेरो धेरै चिया पिउने बानीको उछित्तो काडिन् । मैले भने मुसुमुसु हास्तै उनको प्रवचनको स्वादसँग चियाको स्वाद मिसाएर आनन्द लिइरहेँ ।
उषा मेरो प्रतिक्रियाको प्रतीक्षामा केही मिनट छेवैमा उभ्भिइन र अन्ततः भित्र पसिन् । उनी भित्रपसेपछि मैले गीतामा ‘प्रेम कसैलाई पाउनु होइन हराउनु हो, प्रेममा त्याग हुनुपर्दछ, प्रेम त्यस्तो चिज हो जसलाई मागेर वा छिनेर लिइयोस्, जहाँ त्याग छ त्यही प्रेम छ’ कृष्णको सल्लाहको रूपमा प्रेमको सारलाई सम्झिएँ । तुरुन्त कतै पढेको प्रेम भनेको आखिरमा प्रियलाई देखाउने सौहार्द, स्नेह, भक्ति तथा सर्वस्व समर्पण भाव नै हो अर्थात् ‘प्रियस्य भावः प्रेम’ ? यो दुई अक्षरे शब्दको व्यापकता स्मरण गर्दै सायद त्याग नै प्रेम हो भन्ने बुझेरै उषाभित्र गइन् होला मैले यस्तै अर्थ लगाएँ । म प्रेममय बन्दै पुनः लोखर्केको चुम्बनमा आकृष्ट भएँ । यिनको चुम्बन र मलाई नचाहँदा नचाहँदै उषाले दिएको चिया, मैले नचाहँदा नचाहँदै सुनेको प्रवचनमा तादम्यता खोज्न थालेँ । अहिले मलाई यी दुवै कर्म एउटै लाग्न थालेँ दुवैले गरेका व्यवहार केवल प्रेम हो तर कस्तो हो ? म सोच्न थालेँ ।
लगभग एकघण्टापछि उषाले ढोकैबाट खाना तयार भएको संकेत गरिन् । मैले बुझेँ घरपटी एली अथवा उसको श्रीमान् जोनमध्ये एकजना भान्सामा आएको रहेछ । त्यसैले शब्दको साटो इसारामार्फत उनले मलाई बोलाइन् । जब घरपटी भान्सामा हुन्छन् भरिसक्य उनीहरूलाई हामी के कुरा गरिरहेकाछौं भनेर सोच्न नपरोस् भन्ने हेतुले हामी कि त टुटेफुटेको अंग्रेजी कित इसाराबाट नै काम चलाउँछौ । यहाँ एली जोन दुवै स्पेनिस भएकाले उनीहरूको र हाम्रो टुटेफुटेको अंग्रेजी बोलाइ सम छ । कतिपय अंग्रेजीमा बोलेका कुराहरू उच्चारणका कारण एक आपसमा नबुझेर दोहो¥याउनु हाम्रो दैनिकी हुनजान्छ । अंग्रेजी बोल्न नजानेकोमा कसैलाई हीनताबोध हुँदैन । हुन त अमेरिका आप्रवासीको मुलुक भएर हो कि यहाँ भाषाभन्दा आचरणमा ध्यान दिइने रहेछ ।
म भित्र पसेँ । मलाई देख्ने बित्तिकै एली स्वभावेन अलिकति समाई । मैले अभिवादन गर्दै उसले खाइरहेको अचार र तरकारीतिर हेरेँ । मैले हेरेको चाल पाएर उसले अचार, तरकारी र उषाका तारिफका पुलिन्दा खोली । सुन्दै म छेवैको कुर्सी तानेर खान बसेँ । एलीसँग कहाँबाट कुरा सुरु गरौं ! सोच्दा सोच्दै फ्याट्ट ‘जोन अफिस गयो आज चिया खाएन ?’ मैले सोधेँ । तत्काल उसले ‘होइन आज हामी दुवैको छुट्टी भएकोले फायर आइल्याण्ड जान लागेका त्यसैले चिया खाँदै लुगा लगाउने भनेर चिया भित्रै लिएर गयो’ भनी । मैले आज हामी पनि ज्याक्सन हाइटतिर घुम्न जान लागेका भनेँ र खानाखान थालेँ । एलि भित्र पसी ।
एली भित्र पस्ने बित्तिकै उषाले ‘कि हामी पनि सँगै फायर आइल्याण्ड जाऔँ ? पोर्टसम्म जान आउन यिनीहरूको गाडी पनि हुन्छ । म एलीलाई प्रस्ताव राखौँ ?’ भनेर अनुमति मागिन् । मैले ‘हुन्छ’ भन्दा नभन्दै हाम्रा कुरा सुनेझैँ एली भित्रबाट बाहिर आई र ‘के तिमीहरू पनि फायर आइल्यान्ड जाने हो ? जोन सोध्दैछ’ भनी । उषाले मतिर हेदैँ हत्तपत्त “हुन्छ” भनिन् मैले बोल्नै परेन । उषाको उत्तर सुनेर ऊ भित्र पसी ।
अगाडिको सिटमा बसेर म मनमनै जोन र एलीले हामीप्रति देखाएका सद्भावको हिसाबकिताबका पाना पल्टाउन थाल्छु । सोच्छु एली अगाडि बसेर मलाई पछाडि बसाउन पनि सक्थी तर त्यसो गरिन् । एलीले उषालाई सहोदर दिदीको प्रत्याभूति दिने गरी माया दिइरहेकी छ ।
यो टेलीप्याथी सदृश घटनामा हामी छक्क प¥यौं । उषाले कतै हामीले कुरा गरेको सुनेर त भन्न आइन ! शंका गरिन् । मैले ‘त्यतिभित्र तै पनि नेपालीमा गरेको कुरा कहाँ बुझ्नु ? व्यर्थको शंका किन गर्ने ? हामीले खोजेको पाइहाल्यौ आजलाई यही पर्याप्त भएन र ?’ प्रश्नैप्रश्न गरेँ । उनी निरुत्तर मुस्कुराइन् । हामी छिटोछिटो खाना खाएर तयार भयौं । हामीलाई पर्खिएर बसेका उनीहरू स्पेनिस भाषामा सायद छिल्लिँदै बाहिर निस्किए । हामी सँगसँगै लाग्यौँ ।
प्रांगणका गाडीको ढोका खोलेर जोन भित्र चालकका सिटमा बस्यो । मैले पछाडिको ढोका खोलेर उषालाई इश्सारा गरेँ उनी भित्रपस्नुपूर्व एली भित्र पसी र मलाई अगाडिको सिट देखाउँदै उषालाई आफूसँग बस्न भनी । म अगाडिको सिटमा बसेँ र जोनलाई हेरेँ, ऊ ऐनाबाट एलीलाई हेरिरहेको रहेछ । तुरुन्त मैले जोनलाई जिस्काउँदै एलीलाई यतै बोलाइदिऊँ ? बिस्तारै भने । ऊ केही लजाएझँै भयो र केही बोलेन । गाडीमा सन्नाटा छायो ।
अगाडिको सिटमा बसेर म मनमनै जोन र एलीले हामीप्रति देखाएका सद्भावको हिसाबकिताबका पाना पल्टाउन थाल्छु । सोच्छु एली अगाडि बसेर मलाई पछाडि बसाउन पनि सक्थी तर त्यसो गरिन । एलीले उषालाई सहोदर दिदीको प्रत्याभूति दिने गरी माया दिइरहेकी छ । हामी नेपालबाट आएर यसको घरमा बस्नथालेको चारपाच दिनपछिदेखि नै आफू सामान किन्न जाँदा सँगसँगै स्टोरमा लानु र उसका सप्लिमेन्ट न्युट्रिसन एसिस्टेन्ट प्रोग्रामबाट प्राप्त कुपनबाट हामीलाई दुधलयायत विभिन्न खाद्यान्न किन्ने सुविधा दिनु, जोनले पाँचतारे होटलको कुक भएको नाताले हामीलाई चखाउने भनेर होटलबाट दिनैजसो विविध परिकारहरू ल्याएर खुवाउनु के यो केवल संयोेग, सदाशयतामात्र हो ? सधैं जोनले चिया र एलीले अचार र तरकारी खाएपछि गरेका तारिफहरू र हामीले उनीहरूबाट पाएको सहयोगमा धन्यवाद भन्नु केवल ‘मृदंगो मुख लेपेन करोति मधुर ध्वनिम्’मात्र हो ? अँहँ होइन ।
पछाडि बसेका एली र उषा एकै दिदीबहिनी झैँ केही कुरा गरिरहेका छन् यो सुनेर जोन बेला बेला मुस्कुराइरहेको छ । म अलिक टाढा भएर हो कि ? प्रष्ट सुनिरहेको छैन । उषा र एली दुवै अरू बेला हाम्रा अगाडि संवाद गर्दा हाम्रो सहारा खोजे पनि आज मजाले कुरा गरेको देख्ता लाग्यो चाहे जस्तोसुकै होस् भाषा संवादको राम्रो माध्यम हो यसमा निपूर्णताको आवश्यताविना पनि गुजारा हुने रहेछ ।
यिनीहरूबीचको यो प्रेमिल वातावरणलाई देखेर म सांसारिक मायाको केमेष्ट्रीमा तरंगित हुन थालेँ । एली कहाँ हन्डुरसमा जन्मेकी स्पेनिस छोरी उषा पर कुना कन्दराकी नेपालकी छोरी तर यो के को माया ? यो कस्तो संयोग ? तरंगित हुँदै गर्दा मैले माया कति शक्तिशाली छ भन्ने भागवतका यी दुई पदलाई ‘योपयाति शनैर्माया योषिद्देवविनिर्मिता’ र ‘या करोति पदाक्रान्तान् भ्रूविजृम्भेण केवलम्’ भगवानद्वारा रचित माया बिस्तारै बिस्तारै निकट हुन्छे र एक अर्कोलाई निवेशमा बसीकृत गर्दछे, झट्ट सम्झिएँ । मैले किलोपेट्रा-अलेकजेन्डर, श्रीकृष्ण-देवकी र राधा–श्रीकृष्णको मायालाई तौलन खोजेँ तर सकिन ।
विशेषत मायालाई प्रेमका रूपमा केवल स्त्री पुरुषको सन्दर्भमा जोडेर वर्णन गरेर संकुचित पारिएछ जस्तो लाग्यो । केही काल सम्मोहन, माया, भ्रम वा भ्रान्तिको सेरोफेरा रन्थनाएँ । अन्ततः जति द्विविधामा परे पनि यी एक अर्कालाई बसीकृत गर्ने साधन त अवश्य हुन भन्ने निचोडमा पुगेँ । विनामाया, विनासम्मोह सृष्टि कहाँ र ! प्रकृतिद्वारा विनिर्मित त्यही मायाको चंगुलमा सृष्टि हुन्छ । माया जसलाई योगीले भ्रमको रूपमा परिभाषित गर्दछन् । क्रमशः
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच