लक्ष्यअनुसारको राजस्व उठाउन अर्थमन्त्रीको निर्देशन

Read Time = 5 mins

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ । बुधबार आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभागअन्तर्गत देशभरका कर्मचारीलाई उच्च मनोबलसाथ काम गर्न निर्देशन दिनुभएको हो । उहाँले कर्मचारीहरूलाई भन्नुभयो, ‘कर्तव्यनिष्ठ भएर काम गर्नुहोला । यस वर्ष र आगामी आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्यनिष्ठ भएर काम गर्नुपर्छ ।’ सेवाग्राहीमाझ सहजरूपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै मन्त्री डा. महतले राम्रो काम गर्नेलाई धन्यवादसमेत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अर्थ मन्त्रालयको सबैभन्दा ठूलो काम भनेको स्रोत जुटाउने हो, राज्यको सम्पूर्ण आवश्यकता सम्बोधन गर्ने स्रोत जुटाउने जिम्मेवारीमा हामी छौँ । त्यसमा सबैभन्दा ठूलो हिस्सा राजस्वको छ । अहिले राजस्वको हिस्साले हामीलाई पुगिरहेको छैन, बढाउनुपर्ने आवश्यकता छ, हाम्रो तलब भत्ता, सामाजिक सुरक्षा र पुँजीगत खर्चको आवश्यकतालाई राजस्वले योगदान दिन सकोस् भन्ने हामी चाहन्छौँ ।’

राजस्वको दायरा बढाउँछौँ भनेरमात्र नहुने र अर्थतन्त्रले गति लिनुपर्ने भएकाले सरकारले बजेट प्रस्तावमार्फत् पनि पुँजीगत खर्चलाई चलायमान बनाउने कुरा गरेको छ र भन्सार र आन्तरिक राजस्व उठाउने कुरामा गम्भीर हुनुपरेको उहाँले बताउनुभयो ।

मन्त्री महतले भन्नुभयो, ‘सधैँ हामी भन्सारमा आधारित राजस्वमा निर्भर हुन सकिँदैन । आन्तरिक ऋण र विदेशबाट प्राप्त हुने ऋण उत्पादनमुखी क्षेत्रमा लगानी हुनुपर्छ । यो सुरु भइसकेको पनि छ । आउँदा दिनमा आन्तरिक राजस्वको धेरै ठूलो जिम्मेवारी छ, त्यसैले यसलाई कसरी विस्तार गर्ने भन्ने विषयमा चासो र चिन्ता छ । यसमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण हुन्छ ।’

विभागमार्फत् दायरा वृद्धि गर्ने दुईवटा उपाय रहेकोमा पहिलो अर्थतन्त्र चलायमान बनाउने र दोस्रो करको दायराबाहिर रहेको समूहलाई करको दायराभित्र ल्याएर कर संकलन वृद्धि गर्नुपर्ने उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘हामीले धेरै नयाँ कर प्रस्ताव गरेका छौँ । नेपालमा भ्याट लाग्न थालेपछि हाम्रो करको दायरा बढ्यो । पछिल्लो समय भ्याटको दायरा खुम्च्याउँदै लगियो । यसले पनि समस्या ल्याउँदै गयो । कतिपय आयकरको दायरामा आउनुपर्ने वर्ग समूह छ, त्यो आउन चाहँदैन । राज्य पनि जता मर्कायो, त्यतै मर्किने भयो । करको दायरामा ल्याउने संयन्त्र हामीले प्रयोग गरेका छैनौँ ।’

उहाँले भ्याटलाई गम्भीरतापूर्वक लिनुपर्ने भन्दै सेवाग्राहीले राज्यलाई छुट्याएको रकम अरूले प्रयोग गर्ने गरी छुट दिन नमिल्ने बताउनुभयो । व्यवसायीले बिक्रीका क्रममा भ्याट उठाउने भएकाले राजस्वमा बिनाशर्त दाखिला गर्नुपर्ने र जसलाई विभागले गम्भीरतासाथ लिनुपर्ने उहाँले बताउनुभयो । मन्त्री महतले भन्नुभयो, ‘विभिन्न खाले दुरूपयोग रोक्नुपर्छ, बेरुजु तदारुकतासाथ उठाउनुपर्छ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?