मुगुमा पनि देखियो लम्पी स्किन, १२१ गाईगोरु मरे

हिमालय टाइम्स
Read Time = 2 mins

मुगु । मुगुमा पनि पशुचौपायामा लम्पी स्किन रोगको संक्रमण देखिएको छ । मुगुका चार स्थानीय तहमा लम्पी स्किन रोग देखिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुले जनाएको छ ।

कार्यालयका अनुसार २७ असार २०७९ देखि हालसम्म ४२९ वटा पशु चौपायाहरुलाई संक्रमण देखिएको छ । मुगुमा लम्पी स्किन रोग बढी मात्रामा बाछाबाच्छीहरुमा देखापरेको कार्यालयले जनाएको छ ।

सबैभन्दा बढी सोरु गाउँपालिकामा देखापरेको छ भने खत्याड गाउपालिका, मुगुम कार्मारोङ्ग गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा पनि यो रोग देखापरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भीमचन्द्र बुढाले बताउनुभयाे । लम्की स्किन रोगबाट जिल्लामा हालसम्म १२१ वटा गाई वस्तु मरेको उहाँले बताउनुभयाे ।

उहाँले रोग रोकथामको लागि उपचार जारी रहेको र थप उपचारको लागि जिल्लामा रहेका सरोकारवाला सबै निकायसँग सहकार्य भइरहेको जानकारी दिनुभयाे । लम्पी स्किन हुँदा पशु चौपायामा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र  नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काढ्ने, खुट्टा सुनिने, शरीरमा फोका आउने लक्षण देखिएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?