तानसेन नगर सरकारको कदम : पुरानो खानेपानी उपभोक्ता समिति विघटन, तदर्थ समिति गठन

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । तानसेन नगर सरकार र तानसेन खानेपानी उपभोक्ता समिति बीच भएको विवाद अन्ततः विघटनमा गएर टुँगिएको छ । उपभोक्ता समिति गैरजिम्मेवार र अवैधानिक रुपमा चल्दा उपभोक्ताले खानेपानीको चरम अभाव झेल्नु परेपछि नगर सरकारले समिति विघटन गर्दै तदर्थ समिति गठन गरेको छ ।

राजनीतिक भागण्डामा बनेको उपभोक्ता समितिले काम गर्न नसकेको भन्दै नगर सरकारले यस अघि समितिमाथि हस्तक्षेपकारी भूमिका खेल्दै आएको थियो । नगर सरकारले उपभोक्ताहरुको भेला बोलाई राय सुझाव समेत मागेको थियो । उपभोक्ताहरुले नगर सरकारले खानेपानीको जिम्मेवारी लिनुुपर्ने बताए पनि नगर सरकारले भने तदर्थ समिति गठन गरी सम्पूर्ण जिम्मा उसैलाई सुम्पिदिएको छ । नगर सरकारले उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य मोहनप्रसाद श्रेष्ठलाई तदर्थ समितिक अध्यक्षको जिम्मेवारी दिएको हो । नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले तानसेनका उपभोक्ताहरूको भेलाबाट भएको निर्णयअनुसार नगर कार्यपालिकाको बैठकले श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरिएको बताउनुभयो । उहाँका अनुसार समितिको सदस्यहरूमा राधेश्याम ज्ञवाली, लालमने अधै पुन, सन्तोषकुमार नेपाल, डिल कुमारी शर्मा,दुर्गादेवी भट्टराई र महेन्द्र बहादुर खाती रहनुभएको छ । असार १३ गते तानसेनमा सम्पन्न उपभोक्ताको भेलाले पुरानो समिति विघटन गरी नगरपालिकालाई जिम्मेवारी दिएको थियो ।

तीनवर्षे कार्यकाल रहेको उपभोक्ता समितिले २०७३ पछि निर्वाचन गर्न सकेको थिएन । वर्षौदेखि साधारणसभा र अधिवेशनबिनै सञ्चालन भएको उपभोक्ता समितिले आफूखुसी अधिवेशन गर्न लागेपछि नगर सरकारले आम भेलामार्फत उपभोक्ताको सुुझाव लिएको थियो । भेलमा तानसेनवासीले उपभोक्ता समिति खारेज गरी नगर सरकारले जिम्मा लिनुपर्ने बताएका थिए । उनीहरुले वर्तमान खानेपानी उपभोक्ता समिति गैरजिम्मेवार बनेका कारण खानेपानीको समस्या वर्षौंदेखि झेल्नु परेको भन्दै समिति खारेज गरी नगर सरकार मातहत ल्याउनुपर्ने बताए पनि नगर सरकारले तदर्थ समिति गठन गरेको हो ।

राजनीतिक दलको आपत्ति

तानसेन नगर सरकारले उपभोक्ताको सुझाव विपरीत तदर्थ समिति गठन गरेकोमा जिल्लाका राजनीतिक दलहरुले भने आपत्ति जनाएका छन् । नगरपालिकाले प्रजातान्त्रिक विधिबाट उपभोक्ता समिति गठन गर्नुपर्नेमा जनताको आकांक्षा विपरित तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन गरेकोप्रति राजनीतिक दलहरुले आपत्ति जनाएका हुन् ।

नेकपा एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सह–संयोजक सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका, अध्यक्ष डुलबहादुर कुंवर, जनता समाजवादी पार्टीका अध्यक्ष खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष नारायण बहादुर कुंवरले संयुक्त विज्ञप्ति निकालेर नगर सरकारको कदमप्रति आपत्ति जनाएका छन् । उनीहरुले स्थानीय सरकार अन्तर्गत तानसेन नगरपालिकाले प्रत्यक्ष रुपमा सञ्चालन गरोस् भन्ने चाहाना उपभोक्ताहरुको रहे पनि नगर सरकारले एकाएक तदर्थ समिति गठन गरेको कामप्रति आफुहरुको असहमी रहेको बताएका छन् ।

‘तानसेन नगरवासीले खानेपानी व्यवस्थापनका लागि तानसेन नगरपालिकाले प्रत्यक्ष नेतृत्वमा सञ्चालन गरोस् भन्ने उद्देश्यका साथ यहाँका उपभोक्ताहरु र सर्वदलीय विभिन्न बैठकहरुमा छलफल चलिरहेको थियो । आमभेला, राजनीतिक दलहरुसँग राय–परामर्श लिएको र अहिले सबैको धारणा हेर्दा स्थानीय सरकार अन्तर्गत तानसेन नगरपालिकाले प्रत्यक्ष रुपमा सञ्चालन गरोस् भन्ने चाहाना रहेको छ । अहिले एकाएक नगरपालिकाले प्रजातान्त्रिक विधिबाट उपभोक्ता समिति गठन गर्नुपर्नेमा जनताको आकांक्षा विपरित तानसेन खानेपानी उपभोक्ता तदर्थ समिति गठन गरेको कामप्रति हाम्रो असहमी रहेको छ । विधि सम्वत् तरिकाले सबै उपभोक्ताहरुको सहभागिता बिना नयाँ समिति गठन वा नगरपालिकाले प्रत्यक्ष सञ्चालन गर्ने बाहेक अन्य गतिविधिहरुमा हाम्रो सहभागिता नरहने जानकारी गराउछौं’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो पटक समितिले तानसेन नगरपालिकालाई निर्वाचन गराउने जिम्मा दिएको थियो । समितिले विधान सच्याउन नमानेपछि नगरपालिकाले प्रमाणित गरेन । निर्वाचन स्थगित ग¥यो । उपभोक्ता समितिले तानसेन नगरपालिकामा विधान प्रमाणित नगरीकन नेपाल बार एसोसिएसनलाई चुनाव गराउने जिम्मा दिएको थियो । तर चुनाव नहुँदै नगर सरकारले तदर्थ समिति गठन गरिदिएको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?