कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

हिमालय टाइम्स
Read Time = 7 mins

विराटनगर । नेपाली कांग्रेसका प्रदेश अध्यक्ष एवं संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम तपाईंंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु । मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकाल सफलताको कामना गर्दछु,’ प्रदेश प्रमुखले थापालाई दिएको नियुक्ति पत्रमा भनिएको छ ।

यसअघि सभामुख बाबुराम गौतमको हस्ताक्षरसमेत समावेश गरेर थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो । कोशीमा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । तर, गठबन्धनसँग सभामुखबाहेक ४६ सांसद मात्र छन् । थापा मुख्यमन्त्री बनाउन कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का चार र जसपाका एक सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको हो । गएको असार १५ गते एमालेका हिक्मत कार्कीले विश्वासको मत लिन नसकेपछि सरकार ढलेको थियो । त्यसपछि गठबन्धन दलले सरकार गठनमा दाबी पेस गरेका हुन् ।

सभामुख गौतमको हस्ताक्षर संविधान र संसदीय मर्यादाविपरीत : एमाले
एमाले संसदीय दलले सरकार गठनका लागि बहुमत सिद्ध गर्न गठबन्धन दलले सभामुख बाबुराम गौतमको हस्ताक्षरसमेत बुझाएकाले विरोध जनाएको छ । एमालेले सभामुख गौतमको हस्ताक्षर संविधान र संसदीय मर्यादाविपरीत भएकाले यसको निकासका लागि अदालतको ढोका ढकढक्याउने जनाएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सभामुख बाबुराम गौतमले २०७९ पुस २८ गते सदनमै माओवादी त्यागेको घोषणा गरेको स्मरण गराइएको थियो । सभामुखले दलत्याग गरिसकेको हुनाले सरकार गठन प्रक्रियामा गणना गरिनु असंवैधानिक हुने भन्दै यसअघि एमाले र राप्रपाले प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो ।

सभामुखको संख्या गनेर सरकार गठनमा दाबी पेश गर्नु असंवैधानिक : कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेश सरकार गठनमा सभामुखको समर्थन लिखित रूपमा पेश गरिने कुरा असंवैधानिक हुने बताउनुभएको छ । सत्ता गठबन्धनले सभामुख बाबुराम गौतमको समेत समर्थन देखाएर सरकार गठनको प्रस्ताव लगेका बेला कांग्रेस नेता कोइरालाले त्यसलाई लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुने बताउनुभएको हो । सभामुख गौतमको भूमिकामाथि प्रश्न उठाउँदै शेखरले आफ्नो असन्तुष्टि पोख्नुभएको हो । कोइरालाले भन्नुभयो, ‘प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोही पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाई जानकारी दिन सकिने व्यवस्था छ ।’ उहाँले अगाडि भन्नुभयो, ‘प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो दलले आफ्नो सदस्य संख्यामा सभामुखलाई समेत गणना गरी पठाउने कुराको संवैधानिक व्याख्या छैन ।’

सभामुखले आफ्नो मत जाहेर गर्न सकिने कुनै अवस्था नभएको समेत शेखरको तर्क छ । ‘तर, सभामुख आफैँले हस्ताक्षर गरेर सरकार गठनमा समर्थन रहेको कुरा लिखित रूपमा पेस गरेको अवस्था हो भने यस्तो कार्य संवैधानिक सर्वोच्चता र लोकतान्त्रिक संसदीय पद्धतिको सिद्धान्तविपरीत हुन जान्छ,’ उहाँले थप भन्नुभएको छ, ‘सभामुखको संवैधानिक भूमिका भनेको व्यवस्थापिका संसद्को कार्य सञ्चालन गर्नु र अध्यक्षता गर्नु हो । यदि संसद्मा पेस भएका विषयमा मतदान भएको अवस्थामा मत बराबर भएमा निर्णायक मत जाहेर गर्नेबाहेक कार्यपालिका गठन, विघटन र समर्थनमा सक्रिय रही हस्ताक्षर गर्नु संसदीय लोकतन्त्रको मर्यादा, अभ्यास र कानुनी शासनको विपरीत हुन जान्छ ।’

को हुनुहुन्छ नवनियुक्त मुख्यमन्त्री थापा
२०३४ सालमा काठमाडौंको शंकरदेव क्याम्पसबाट नेविसंघको विद्यार्थी राजनीतिबाट कांग्रेसमा प्रवेश गर्नुभएका थापा नेपाली कांग्रेस कोशी प्रदेश समितिका सभापति पनि हुनुहुन्छ । २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व लागि उहाँ बहुदलीय व्यवस्थाको पक्षमा सक्रिय हुनुभएको थियो । त्यसयताका बिपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गर्नुभएको थियो ।

२०४६ सालमा पञ्चायती व्यवस्था विरुद्वको आन्दोलनमा सक्रिय उहाँ प्रजातन्त्रको पुनःस्थापनापश्चात् नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको सचिव/सभापतिको एक/एक कार्यकाल जिम्मेवारी सम्हाल्नुभएको थियो । झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापति हुनुभयो । थापाले वाणिज्य शास्त्रमा स्नातक गर्नुभएको छ । थापा कांग्रेसमा नेता कृष्णप्रसाद सिटौलानिकट मानिनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?