मौसम अनुसार हाम्रो खाना र स्वास्थ्य

हिमालय टाइम्स
Read Time = 8 mins

✍️ डा. किरण पौडेल

हामी नेपालीहरूले असारको १५ गते धान दिवस मनाउँदै दहीचिउरा खाने प्रचलन धेरै समयकालपूर्वदेखि चल्दै आएको छ । गाउँघरमा असारे रोपाइँको चटारो परिरहँदा खेतमा काम गर्दै दहीचिउरा खाँदै रोपाइँमा कृषकहरू तल्लीन रहन्छन् भने शहरमा असार १५ नै पारेर दहीचिउरा खाने कार्यक्रमहरू आयोजना गर्दछन् । त्यसरी नै साउन १५ मा खिर खाने परम्पराकै रूपमा चल्दै आएको छ ।

असार-साउन महिना वर्षा अधिक हुने समय हो । वैशाख-जेठ महिनाहरूमा घामको ताप अधिक हुन्छ । पानी पर्ने सम्भावना कम हुने हुनाले जमिनमा सुक्खापन पनि ज्यादा हुन्छ । वैशाख-जेठको तापिलो घामका कारण जमिनमा रुखोपन बढेको हुन्छ । जमिनमा उत्पन्न हुने खाद्यान्नमा मानिस-पशुपन्छीलाई आवश्यक पर्ने आधारभूत खाद्य तत्वहरूको कमी हुन्छ, घामको ताप बढ्ने हुनाले घामको तापले जमिनबाट पानीलगायतका जलीय तत्वहरू वाफ बनाई नष्ट गर्दछ र गर्मीले वैशाख-जेठमा मानिसलाई आलस्य हुन्छ । थकावट बढ्छ भने शरीरमा काम गर्ने शक्तिको पनि कम हुँदै जान्छ । यसरी मानिसको शरीर दुर्बल हुन्छ । यसबाट शरीरमा वातावरणीय प्रभावका कारण पाचन शक्तिको कमी हुन्छ ।

असार-साउन महिनामा हलुका, सजिलोसँग पच्ने, पाचनमा सहयोग गर्ने, शरीरलाई बल दिने खानपिनको प्रयोग गर्नुपर्दछ । यी महिनाहरूमा पानी तताएर सेलाएको पिउने, पुरानो चामल, गहुँ, मकै सेवन गर्नुपर्दछ । सफा कपडा लगाउने, हलुका व्यायाम गर्ने, मनलाई स्थिर राख्ने प्रयत्न गर्नुपर्दछ ।

असार-साउनमा आकाशबाट परेको पानी, घामको तापले गर्दा अधिक तातेको हुन्छ र जमिनको पानी वाष्प बनेर आकाशमै जानेक्रम पनि चलिरहेको हुन्छ । यस वातावरणीय प्रक्रियाले गर्दा मानिसको दुर्बल शरीर अझै क्षीण हुन्छ । खाना पचाउने शक्ति धेरै कम हुन्छ, पानी अधिक पर्नाले मानिसले प्रयोग गर्दै आएको स्वच्छ पानी पनि धमिलिन गई फोहोर हुन्छ र कमजोर शक्ति भएको मानिसको शरीरमा फोहोर पानीकै कारण अनेक रोगहरू उत्पन्न भई बिरामी हुन सक्दछन् । पानीबाट फैलने संक्रामक रोगले संक्रमित हुने सम्भावना अधिक हुन्छ । मानिसले आफूले खाएको अन्न नै पचाउन नसक्ने हुनाले शरीरमा रोग उत्पन्न हुन्छ ।

तसर्थ, पाचन शक्ति बढाई शरीरको बल बढाउनु अति आवश्यक हुन्छ । पाचन शक्ति बढाउनका लागि हरेक गाउँ-गाउँमा मानिसहरूले औषधिको प्रयोग गर्न पाउँदैनन् । उनीहरूले औषधि प्रयोगको कल्पना गर्नु बाहेक अन्य उपाय हुन्न । शरीरलाई आवश्यक पर्ने तत्वको पूर्ति आहारबाट नै हुन्छ । असार-साउन महिनामा आहार त्यस्तो हुनुपर्छ जसले शरीरलाई बल दिनुका साथै अन्न पचाउन पनि सजिलो होस् । तसर्थ मध्य असारमा दहीचिउरा खाने प्रचलन छ, जसले शरीरमा आवश्यक पर्ने पाचन शक्तिको निर्माण गर्नुका साथै बल प्रदान गर्छ र साउन मध्यमा खाइने खिरले शरीरमा बल प्रदान गर्छ साथै पाचन कार्यमा पनि सहयोग गर्छ । यो संस्कारले असार-साउन महिनामा खानयोग्य आहारहरूलाई दर्शाउँछ ।

हामीले सेवन गर्ने दही अनेक स्वादयुक्त हुन्छ- अमिलो, गुलियो, गुलियो-अमिलो, धेरै अमिलो, धेरै गुलियो र कुनै स्वाद नै नभएको । दहीले पाचन शक्ति बढाउने, खानामा रुचि लगाउने र शरीरमा बल बढाउने हुन्छ । दही प्रयोग गर्दा गुलियो दही उत्तम हुन्छ । यो दहीले पाचन शक्ति ठीक राख्ने, पच्नमा सहज हुने, शरीरको रक्षा गर्ने हुन्छ ।

धेरै अमिलो दही र ठीक प्रकारले नजमेको दही खानु हुन्न, यसले शरीरमा हुने रगत र वायुलाई दूषित गर्दछ । दही गाई, भैंसी, बाख्राको दूधबाट तयार गरिन्छ । गाईको दूधबाट तयार गरिएको दही सेवन गर्नु राम्रो हुन्छ । यसले खानामा रुचि उत्पन्न गर्नुका साथै सुपाच्य हुन्छ । दही मिश्रीको साथ प्रयोग गरेर खाँदा राम्रो फाइदा हुन्छ, शरीरमा यसरी प्रयोग गर्दा शीतलता प्रदान गर्छ । रातमा दही खानुहुँदैन । रातीमा दही खाएमा शरीरलाई आलस्य बनाउने हुन्छ र शिर, घाँटी, जोर्नीहरूको रोग उत्पन्न गर्नमा सहयोग गर्दछ । चिउराले शरीरमा उत्पन्न विकृत वायुको नाश गरी बल बर्धक, दिसापिसाबलाई शरीरबाट बाहिर फाल्न सहजता उत्पन्न गर्छ । दहीचिउराले शरीरमा बल बढाउने हितकारी काम गर्छ । असार महिनामा यस्तै प्रकारको अन्नपान गरेमा शरीरको रक्षा हुन्छ ।

खिर दूध, घ्यू, घ्यूमा भुटेको चामल, चिनी, किस्मिस, छोकडा, नरिवलका स-साना टुक्राहरू जस्ता पोषिला अन्नहरू मिलाई पकाएर तयार गरिन्छ । यसले शरीरलाई बल दिने हुन्छ । असार महिनामा दहीचिउरा खाएर पाचन शक्तिलाई जोगाउँदै साउन महिनामा खिर खानाले निश्चय नै शरीरको वृद्धि विकास हुन्छ ।

यसरी असार-साउन महिनामा हलुका, सजिलोसँग पच्ने, पाचनमा सहयोग गर्ने, शरीरलाई बल दिने खानपिनको प्रयोग गर्नुपर्दछ । यी महिनाहरूमा पानी तताएर सेलाएको पिउने, पुरानो चामल, गहुँ, मकै सेवन गर्नुपर्दछ । सफा कपडा लगाउने, हलुका व्यायाम गर्ने, मनलाई स्थिर राख्ने प्रयत्न गर्नुपर्दछ । यी महिनाहरूमा दिनमा सुत्ने, पानी सफा नगरी पिउने, अधिक पानीमा रुझ्ने, स्त्री सहवास धेरै गर्ने, मैथुन धेरै गर्ने, धेरै व्यायाम गर्ने जस्ता हानिकारक कामहरू गर्नुहुँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?