तीन दिनदेखि हराएका ‘रकी’ हरिनाशको जङ्गलमा झुण्डिएको अवस्थामा फेला

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 2 mins

स्याङ्जा । आँधीखोला गाउँपालिका वडा नं २ मा बस्ने वेदप्रसाद पौडेल ‘रकी पौडेल’ असार २१ गते बिहान ६ बजेदेखि हराएका थिए । उनी दिदीको घरमा हरिनास गाउपालिका वडा नं ३ स्थित चिसापानीमा राति बसेर बिहान उठेपछि हिँडेका थिए । दिदीको घरबाट हराएपछि उनको व्यापक खोजी भइरहेको थियो ।

पौडेल हराएपछि परिवारका सदस्यहरुले विभिन्न ठाउँमा खोजबिन गरेका थिए । ३ दिन लगातार खोजि गर्दा पनि नभेटिएका पौडेल हरिनाश गाउँपालिका वडा नं ३ स्थित खैरिकोटमा सलको पासो जङ्गलमा आत्महत्या गरेको अवस्थामा आइतबार करिब दिउसो १ बजेतिर भेटिएका छन् ।

उनी वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा बस्दै आएका थिए भने केही हप्ता अगाडिमात्र घरमा आएका थिए । उनको स्थायी घर आँधीखोला २ मडुवा भए तापनि उनका श्रीमती र छोरी नवलपरासी बस्दै आएको पारिवारिक श्रोतले बताएको छ ।

तिन भाइमध्ये जेठा उनी तिन दिनदेखि हराएको भन्दै सामाजिक सञ्जालमा खोजिदिन आग्रहसहित परिवार आफन्त तथा गाउँलेहरुले आग्रह गरिरहेका थिए । खोज्दै जाँदा हरिनास गाउँपलिकाको सालडाँडास्थित खरिबोट भन्ने ठाउँमा बाटोबाट अन्दाजी २०० मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।

झुण्डिएको समाचार थाहा पाउने बित्तिकै पदमराज थापाको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोली घटनास्थलमा पुगेको थियो । आज नै उनको शव जिल्ला अस्पताल स्याङ्जामा लगेर पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि शव दाहसंस्कारको लागि लगिएको आँधीखोला वडा नं ५ का अध्यक्ष कृष्ण पनेरुले बताउनुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?