डेंगु‘ब्रेक आउट’हुने खतरा :

अबको चार महिनामा संक्रमण जोखिम उच्च, नियन्त्रणमा सरकार चनाखो हुनुपर्ने

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । वर्षा सुरु भएसँगै डेंगु संक्रमित दिनप्रतिदिन थपिन थालेका छन् । यस वर्ष अहिलेसम्म ६६ जिल्लामा डेंगुका बिरामी पुष्टि भएका छन् । डेंगु पुष्टि भएका जिल्लामध्ये सबैभन्दा धेरै दार्चुला जिल्लामा १८८ जनामा संक्रमण भएको सरकारी तथ्यांक छ । दोस्रोमा धादिङमा १७५ र सुनसरीमा १३४ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा हाल डेंगुका ९५ केस पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा ४६, भक्तपुरमा ३६ र ललितपुरमा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म देशभर ११ सय ९२ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगु संक्रमणबाट एकजनाको मृत्यु भएको छ । डेंगु संक्रमितको यो सार्वजनिक आँकडा अस्पताल भर्ना भएकाहरूको मात्र हो । संक्रमित भई घरमै बसेर लक्षण अनुसारको उपचार गर्ने धेरै हुन सक्ने महाशाखाको भनाइ छ । गत वर्ष ५४ हजार ७८४ जनामा संक्रमण देखिएको थियो ।

यो वर्ष पनि जोखिम बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हालसम्मकै धेरै संक्रमण फैलिएको सन् २०२२ मा मात्रै संक्रमणबाट ८८ जनाको मृत्यु भएको थियो । यता, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट डा.विमल चालिसेले डेंगु संक्रमितमध्ये २० प्रतिशतलाई लक्षण देखिने र ८० प्रतिशत लक्षणमा कुनै/कुनै लक्षण देखिने वा नदेखिने जानकारी दिनुभयो । लक्षण देखिएका २० प्रतिशतले अस्पतालमै पुगेर उपचार गराउनुपर्ने उहाँको सुझाव छ । लक्षण एउटा–दुईटा वा नदेखिने संक्रमित आफैँ निको हुने उहाँको दाबी छ ।

डेंगुको उपचार छैन भन्ने भ्रमका कारण संक्रमित स्वास्थ्यमा गम्भीर समस्या आउन्जेल घरमा बस्ने प्रवृत्तिका कारण झन् समस्या भइरहेको सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनको भनाइ छ । डेंगु रोग विरुद्धको औषधि नभए पनि लक्षणका आधारमा उपचार सम्भव रहेको उहाँको भनाइ छ । डेंगु संक्रमितलाई दुःखाइ तथा लक्षणहरूको व्यवस्थापन गर्न स्वास्थ्यकर्मी तथा चिकित्सकको सल्लाहबिना औषधिहरूको प्रयोग नगर्न डा.पुनको आग्रह छ । डेंगुबाट संक्रमित एक जना बिरामी हुँदा सोही बिरामीलाई हेरचार गर्ने वरिपरि बस्ने चार जनासम्म संक्रमित भएको पाइएको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ ।

काठमाडौं उपत्यकामा बढी जोखिम

डेंगु संक्रमणको जोखिम काठमाडौं उपत्यकामा बढी देखिएको चिकित्सकले बताएका छन् । गत वर्षसमेत कुल संक्रमणको ५६ प्रतिशत काठमाडौं उपत्यकामा देखिएको थियो । उपत्यकामा पछिल्लो ६ महिनामा ९३ जनामा संक्रमण देखिएको छ । महाशाखाका अनुसार काठमाडौंमा ४६, ललितपुरमा १२ र भक्तपुरमा ३५ जना डेंगुका बिरामी भेटिएका छन् ।

गत वर्ष काठमाडौंमा १४ हजार ३८८ जना, भक्तपुरमा ६ हजार १५४ जना र ललितपुरमा नौ हजार ६२१ जनामा संक्रमण देखिएको थियो । उपत्यकामा गमला, टायर, फोहोरको थुप्रो आदि ठाउँमा पानी जमेर बस्नु, पानीका ट्यांकीहरू खुला रहनु, खाल्डाखुल्डीमा पानी जम्नु र निर्माणाधीन संरचनामा पानी जम्नुले तुलनात्मक रूपमा संक्रमणको जोखिम बढी भएको डा.मरासिनीले जानकारी दिनुभयो । बागमती प्रदेशमा यो वर्ष पनि डेंगुको संक्रमण देखिन थालेको छ ।

यस वर्ष जेठ १५ देखि असार १५ सम्म बागमती प्रदेशमा ११७ जनामा डेंगुको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालय, बागमती प्रदेशका सूचना अधिकारी डा.रविन भुसालले जानकारी दिनुभयो । यस अवधिमा सबैभन्दा धेरै धादिङमा ७८ जनामा डेंगु संक्रमण देखिएको छ । कोशी प्रदेशका प्रदेशका सुनसरी, मोरङ र झापा जिल्लामा दैनिक डेंगु संक्रमितहरू बढिरहेका छन् । सुनसरीको धरानमा डेंगुका सबैभन्दा धेरै बिरामी देखिएका छन् ।

गण्डकी प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा धेरै कास्की जिल्लामा डेंगु संक्रमण देखिएको छ । कास्कीमा अहिलेसम्म ८२ जनालाई डेंगु संक्रमण देखिएको छ । मधेश प्रदेशमा डेंगु संक्रमण छिटफुट रूपमा मात्र देखिएको प्रदेशको स्वास्थ निर्देशनालयले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि डेंगु संक्रमणको जोखिम उत्तिकै रहेको चिकित्सकको भनाइ छ ।

डेंगु संक्रमणको जोखिम र सरकारको तयारी

डेंगु सार्ने लामखुट्टेबाट समयमै सावधानी नअपनाएमा सन् २०२२ मा आउट ब्रेक भएका स्थानमा भन्दा अन्य ठाउँमा आउट ब्रेक हुनसक्ने विज्ञहरूको चेतावनी छ । अघिल्लो वर्षको तुलनामा कम संक्रमित देखिएका छन् । तर, संक्रमित एउटा लामखुट्टेले एक पटकमा १० जनालाई डेंगु सार्नसक्ने भएकाले खोज र नष्ट गर अभियानलाई तीव्रता दिनुपर्ने महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीको भनाइ छ ।

लामखुट्टे फैलिने मौसमको सुरुवातसँगै संक्रमण फैलिन सक्ने भन्दै सजग रहन आग्रह गरिएको छ । डेंगु फैलाउने एडिज जातको लामखुट्टे हो । यसले एकपटकमा आठ सयदेखि हजारवटासम्म फुल पार्न सक्छ । संक्रमित लामखुट्टेले पारेको फुलबाट जन्मिने लामखुट्टेमा पनि डेंगु संक्रमण हुने भएकाले सजग रहन आवश्यक रहेको बताउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्रप्रसाद मरासिनीले भन्नुभयो, ‘जमेको पानीमा डेंगु संक्रमित लामखुट्टेका फुल रहेको हुन सक्ने भएकाले यस्ता ठाउँ सुक्खा राख्न आवश्यक छ ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.मरासिनीले एकीकृत भेक्टर सर्भिलेन्स औलो, कालाजार, हात्तीपाइले, डेंगु जेई एकीकृत भेक्टर सर्भिलेन्सको एसओपी कार्यान्वयनको चरणमा रहेको जानकारी दिनुभयो । यस्तै, सातै प्रदेशमा इन्टोमोलोजिकल ल्याबको स्थापना सर्भिलेन्स टोली गठन गरिएको छ ।

प्रत्येक प्रदेशमा कम्तीमा एकवटा सेन्टिनेल साइडको छनोट गरिएको छ । प्रत्येक सेन्टिनेल साइडमा वर्षमा चारपटक मौसमअनुसार सर्भिलेन्स गरिनेछ । संक्रमण उच्च रहेका जिल्लाहरूमा डेंगु रोग सार्ने बाहक भेक्टरको आनीबानीको अध्ययन, निगरानी गरी रोकथाम तथा नियन्त्रणको रणनीति परिमार्जन गरिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.मरासिनीले जानकारी दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दीपेन्द्ररमण सिंहले डेंगु नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह र सबै सरोकारवालासँग सहकार्य भइरहेको जानकारी दिनुभयो ।

पहाडी जिल्लामा पनि बढ्दै डेंगुका बिरामी

केही वर्ष अघिसम्म तराईका क्षेत्रमा मात्रै हुने लामखुट्टेले पछिल्लो समय पहाडमा पनि सताउँदै छ । गर्मी उभो सर्दै जाँदा लामखुट्टेले पनि आफ्नो थातथलो फैलाउँदै लगेको छ । जलवायु परिवर्तनका कारण तापक्रम वृद्धि हुँदा लामखुट्टे उच्च क्षेत्रमा विस्तार हुने दर बढेको विज्ञहरूको भनाइ छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनका अनुसार नेपालमा सबैभन्दा पहिला सन् २००४ मा डेंगु देखिएको थियो । त्यसपछी डेंगु अत्यधिक मात्रामा फैलिएको छ । पुनका अनुसार काठमाडौंको सवालमा सन् २०१० भन्दा पहिला डेंगु गराउने लामखुट्टे थिएन । तर, अहिले काठमाडौं नै डेंगुको जोखिममा परेको छ । जहाँ ३५ डिग्रीभन्दा बढी तापक्रम हुन्छ त्यस्ता ठाउँमा लामखुट्टे मर्छन् । पछिल्लो समय चिसो ठाउँमा पनि लामखुट्टे फस्टाएका छन् ।

काठमाडौं उपत्यका तथा पहाडी भू–भागमा न्यूनतम तापक्रम लगभग १२ डिग्रीभन्दा माथि हुनेबित्तिकै लामखुट्टे बाँच्न सक्छ । विगतमा मलेरिया मुक्त मानिएका ठाउँहरूमा समेत लामखुट्टे पुगेको अध्ययनले फेला पारेको छ । नेपालमा डेंगुका भाइरस चार प्रकारका छन् । पहिलोपटक संक्रमित व्यक्ति दोस्रोपटक संक्रमित हुँदा नयाँ खालको भाइरसले भेटेमा अत्यधिक गाह्रो हुन्छ ।

त्यस्तै, अवस्थामा बिरामीको मृत्यु हुन्छ । फरक भाइरस शरीरमा प्रवेश गरेमा बढी जटिलता हुन्छ । एउटै व्यक्तिमा दुई, तीन खालको भाइरस पनि पाइएको छ । अबको चार महिना डेंगु संक्रमण जोखिम उच्च हुने सम्बद्ध अधिकारीहरूको अनुमान छ । डेंगु संक्रमणको जोखिम जुलाईदेखि सेप्टेम्बरसम्म धेरै हुन्छ । देशका अधिकांश जिल्लामा अहिले नै डेंगुको संक्रमण देखिइसकेकाले चार महिनामा संक्रमण जोखिम उच्च हुने देखिएको हो ।

डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । यो लामखुट्टेले विशेष गरी बिहान र साँझमा मात्र टोक्ने गर्दछ । सुरुमा ज्वरो आउने, शरीरमा दादुराजस्ता फोका आउने, टाउको दुख्ने, पखाला लाग्ने, जोर्नी दुख्ने र शरीर कमजोर हुने डेंगु संक्रमणका लक्षण हुन् । डेंगु संक्रमणका कारण बिरामीको रगतमा प्लेटलेट्स कमी हुने भएकाले बिरामीले पोसिलो र झोलिलो पदार्थ बढी मात्रामा खानुपर्ने चिकित्सकको सुझाव छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?