घट्टेखोला सिँचाइ आयोजनाले कुहूँको फाँट हराभरा

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-१ कुहूँमा घट्टेखोला सिँचाइ योजना निर्माण भएपछि सिंचाइको अभावमा वर्षौंदेखि बाँझिएर रहेको यहाँको फाँट हराभरा भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा रु २५लाखको लागतमा सिंचाइका लागि पूर्वाधार निर्माण गरेपछि कुहूमा सिंचाइ सुविधा विस्तार भएको हो ।

गत पाँच वर्षदेखि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सिँचाइका लागि पूर्वाधार निर्माणको काम थालेको थियो, यस वर्ष अपुग भएको ठाउँमा सिँचाइ सुविधा विस्तार गरिएको घट्टेखोला सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष गोविन्द खत्रीले जानकारी दिनुभयो । उहाँकाअनुसार यस वर्ष २५ ठाउँमा चेम्बर निर्माण गरी तीनहजार तीन सय मिटर पाइपलाइन विस्तार गरिएको छ ।

घट्टेखोला सिँचाइ आयोजनाबाट कुहूँको भलाबोट, अनबाङ, रातमाटा, सिरानचौर, मजुवा, खोर, ओढारमुनि, बाटुले, काप्रा, हिलेटाउका, पातलेगरा, धाप, बाइसआनालगायतको फाँटमा सिँचाइको सुविधा पुगेको छ ।

सिंचाइ आयोजना निर्माण भएपछि यहाँका कृषकलाई खेतीगर्न सहज भएको छ । सिंचाइको अभावमा आफ्ना खेतीयोग्य जमिनलाई बाँझै राख्न वाध्य भएका यहाँका स्थानीय वासीलाई सिँचाइ आयोजना निर्माण भएपछि हरेकको खेतबारीमै पानीको सुविधा पुगेको उपभोक्ता समितिका अध्यक्ष खत्रीले बताउनुभयो ।

आयोजना निर्माण भएपछि बर्खायाममा धान रोपाइँ र हिउँद याममा फलफूल र हिउँदे खेतीमा सिँचाइगर्न सुविधा पुगेको स्थानीय प्रितम पुनले बताउनुभयो । “सिँचाइ नहुँदा व्यावसायिक कृषि खेतीगर्न सम्भव थिएन, अहिले परम्परागत खेतीबाट व्यावसायिक उन्मुख बन्न सिँचाइ सुविधाले ठुलो राहत दिएको छ, कृषकका खेतबारीमै पानी आउने भएकाले बर्खा र हिउँदमा बोटबिरुवा र खेतीमा सिँचाइ गर्न सजिलो भएको छ”, पुनले भन्नुभयो ।

घट्टेखोला सिँचाइ आयोजनाबाट २५ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो ।

यता जिल्लाको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा सिंचाइ कुलो मर्मत नहुँदा किसानहरुलाई सास्ती भएको छ । २०४२ सालमा रु २० लाखको लागतमा निर्माण भएको दुधेखोला बगरफाँट सिंचाइ कुलो जीर्ण भएर ठाउँठाउँमा भत्किएकोले बगरफाँटवासीलाई हिउँदमा सिंचाइगर्न र वर्षामा खेत रोप्न समेत समस्या भएको बगरफाँटका स्थानीय वासिन्दाहरुले गुनासो गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?