स्वर्णधारी सुमन सम्मानित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल बादोरियो कराँते डो संघले अमेरिकामा भएको युएस ओपन वल्र्ड मार्सल आर्ट्स च्याम्पियनसिपका स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ । सिनियर पुरुष एकल कातामा स्वर्ण जित्नुभएका सुमनलाई बादोरियो कराँते संघको तेस्रो केन्द्रीय महाधिवेशनको उद्घाटन अवसरमा सम्मान गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सुमनलाई प्रशंसापत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गर्नुभयो । सोही अवसरमा श्रीलंकामा भएको तेस्रो अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिताका पदक विजेता कमरुद्दिन अली (स्वर्ण), संयम कँडेल (स्वर्ण), शोभाकर पन्त (रजत) र पुरुषोत्तम पोखरेल (रजत) सम्मानित हुनुभयो ।

१९औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी ओपन कराँतेका स्वर्ण विजेता देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समीक्षा कार्की, रजत विजेता आकृति कँडेल र कांस्य विजेता वैष्णवी शर्मालाई पनि सम्मान गरियो ।

त्यस्तै, भारतमा भएको प्रथम इण्डो–नेपाल खुला कराँते प्रतियोगितामा स्वर्ण जितेका सागर काफ्ले, शरद कुँवर, अर्पण भण्डारी, विवेक विक, रजत जितेका सावित्री भण्डारी र मनिष रोका मगर तथा कांस्य विजेता युगन बस्याल र विसन थापा मगर पनि सम्मानित हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?