कविता : भानुभक्त

हिमालय टाइम्स
Read Time = 1 min

खोला र खोल्सा अनि खेतबारी
बोकी अनौठो जलको भकारी
डटेर आफैँ शुभ दृष्टि पार्न
आषाढ आयो जग यो सिँगार्न

रोजेर नौलो जगमा बिहानी
बर्सिन्छ वर्षा नव जिन्दगानी
अनन्त उत्पत्ति दिएर धर्ती
उर्लन्छ यो दिव्य सुकर्म शक्ति

रोपार लाठे पिरती सजाई
भाका कलाको लयमा रमाई
टिपेर वाणी मनले सशक्त
बोकेर दिन्छौ युग भानुभक्त

साहित्य रोप्ने कवि भानु यौटा
लिएर लाठे सम देवकोटा
आषाढ हो खेत तथापि एक
उम्रिन्छ भाषा र कथा अनेक !

-पीपलमणि सिग्देल

छन्द : उपजाती
सिन्धुपाल्चोक, हाल– न्यूयोर्क

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?