आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 7 mins

बागलुङ । जिल्ला सदरमुकाम बागलुङदेखि पश्चिमा रहेका नागरिकलाई सहज रुपमा प्रशासनिक सेवा दिने बुर्तिबाङ बजारमा वि.सं. २०५४ सालमा इकाला प्रशासन, मालपात र नापी कार्यालय स्थापना भए । कार्यालय स्थापनापछि यस क्षेत्रका नागरिकले नजिकैबाट सेवा लिन पाए । त्यसभन्दा अगाडिसम्म सामान्य सरकारी कामकाजका लागि बागलुङ बजार धाउनु पर्ने बाध्यता थियो । तर वि.सं. २०५८ मा शसस्त्र द्वन्द्वका कारण तीन वटै कार्यालय विस्थापित भए । कार्यालय विस्थापित भएर बागलुङ बजारमा आएपछि पश्चिम बागलुङवासीलाई सास्ती हुन थाल्यो ।

विस्थापितको इकाला प्रशासन कार्यालय पुनः वि.सं. २०६३ सालमा पुर्नस्थापित भयो र सेवा प्रवाह गर्न थाल्यो । सुरुमा सरकारले प्रशासन कार्यालयलाई एकीकृत सेवा केन्द्रको नाम दियो । एकीकृत सेवा केन्द्र २०६९ सालदेखि २०७५ सम्म कायम रहेको थियो भने पुनः २०७५ सालमा इलाका प्रशासन कार्यालयमै रुपान्तरित भएको थियो । इलाका प्रशासन २०६३ मै पुनःस्थापन भए पनि मालपोत र नापी कार्यालय विं.सं. २०७१ चैत १ गतेदेखि पुनःस्थापना भएर संचालनमा आए । अहिलेसम्म तीन वटै कार्यालयको आफ्नो भवन छैन । हाल भाडाकै घरबाट सेवा संचालन हुँदै आएका छन् ।

यहाँका हजारौँ नागरिकलाई लक्षित गरि २६ वर्ष अगाडि संचालनमा आएका कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दैनिक सयौँ सेवाग्राही कार्यालयमा सेवा लिन आउने हुँदा सेवा प्रवाहलाई प्रभावकारी बनाउन समस्या भएको इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुवँरले बताउनुभयो । कुवँरले निजी घर भाडा लिएर कार्यालय संचालन गर्दा साँघुरा कोठामा बसेर काम गर्दा गाह्रो भएको उहाँको भनाई छ । कार्यालयले अहिले स्थानीय शान्ति छन्त्यालको घर भाडामा लिएर सेवा प्रदान गरिरहेको कुवँरले जानकारी दिनुभयो । यस अघि बुर्तिबाङको उपल्लो बजार, फाँट बजारमा कार्यालय संचालन गरेको थियो ।

अरुको घरमा बस्दा समय-समयमा घर सर्नु पर्दा ठूलो समस्या पर्ने गरेको कुवँर बताउनुहुन्छ । कार्यालयका लागि १२ वटा कोठा भाडामा लिएर सेवा दिई राखेको कुवँरको भनाई छ । घरको मासिक रुपमा ३३ हजार रुपैडाँ भाडा तिर्दै आएको उहाँ बताउनुहुन्छ । उहाँले हरेक २/२ वर्षमा १० प्रतिशत घर भाडा बढाउने सहमति भएको समेत जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो - “अहिलेसम्म हाम्रो आफ्नै भवन छैन, आफ्नो भवन नहुँदा सेवा प्रवाहदेखि अन्य काम गर्न समस्या हुँदो रहेछ, केही समय अगाडि इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्न सूचना आह्वान गर्‍यौँ, एक जनाले कुत्थाप्लामा निःशुल्क दिन्छु भन्नु भएको थियो, कुत्थाप्ला भयो भने सेवाग्राहीलाई आवतजावतमा समस्या हुन्छ, अहिले बजारवासीले बजार क्षेत्रमै जग्गा व्यवस्थापन गर्नु पर्छ भनेर लाग्नु भएको छ ।”

अहिलेसम्म प्रशासन कार्यालय ४/५ ठाउँ सरिसकेको छ । मालपोत कार्यालय बुर्तिबाङका प्रमुख सूर्यप्रसाद शर्माले भाडाका घर निकै साँघुरा र सेवाग्राहीमैत्री नभएको बताउनुभयो । घरबेटीले आफु अनुकुल बनाएको घर कार्यालय प्रयोजनका लागि उपयुक्त नभएको भन्दै आफ्नै भवन नहुँदा जसोतसो काम गर्नु परेको बताउनुभयो । कार्यालयले हाल स्थानीय तमबहादुर विकको घरमा १७ वटा कोठा भाडामा लिएको छ । कोठाको भाडा मासिक ५० हजार तिर्दै आएको शर्मा बताउनुहुन्छ ।

“सेवाग्राही कहिले बिरामी, कहिले वृद्धवृद्धा र कहिले सुत्केरी आमाहरु पनि आउनु हुन्छ, उहाँहरुलाई राख्ने विश्रामस्थल छैन, खानेपानीको व्यवस्थापन पनि गर्न सकेका छैनौँ,” उहाँले भन्नुभयो - “आफ्नो भवन हुन्थ्यो भने सेवाग्राहीमैत्री बनाउने थियौँ, दैनिक दर्जनौँ सेवाग्राही आउनुहुन्छ, उहाँहरुलाई बाहिरै लाइनमा राख्नुको विकल्प छैन, पानी पर्दा, हावाहुरी चल्दा अझ पनि समस्या हुन्छ ।”

नापी कार्यालय बुर्तिबाङकी प्रमुख पायल श्रेष्ठले भाडाको घरबाट चाहे अनुसारको सेवा प्रवाह गर्न नसकिने बताउनुभयो । कार्यालय संचालन गर्न खास्सै समस्या नभए पनि सेवाग्राही बढी मर्कामा पर्ने उहाँको भनाइ छ । कार्यालयले ११ वटा कोठा भाडामा लिएर कार्यालय संचालन गरेको भन्दै मासिक ३० हजार रुपैयाँ भाडा तिर्ने गरेको श्रेष्ठले बताउनुभयो ।

२६ वर्ष अगाडि स्थापना भएर विभिन्न समयमा विस्थापित भए पनि अहिले भने तीन वटै कार्यालय निरन्तर संचालनमा छन् । यी कार्यालयबाट पश्चिम बागलुङको निसीखाला गाउँपालिका, तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाका ३२ वडाका जनताले नागरिकता, राहदानी, जग्गा सम्बन्धित काम यहीबाट गर्दै आएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?