गठबन्धनको सरकार र प्रतिपक्षीको भूमिका

हिमालय टाइम्स
Read Time = 7 mins

अहिले गठबन्धनको सरकार छ । सरकारमा रहेका दलहरूमध्ये सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो भने संसद्को तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र सरकारमा संलग्न दलहरूमा दोस्रो ठूलो दलका रूपमा रहेको छ । तर, सरकारको नेतृत्व भने माओवादीले नै गरिरहेको छ । सरकार काम गर्नका लागि हो । सरकारले यो-यो काम गरेँ भनेर कामको फेहरिस्त पेश गर्ने र प्रतिपक्षीहरूले सरकारले केही पनि गरेन भनेर आ–आफ्नो विचार प्रवाह गर्ने परम्परा पुरानै हो । यो परम्परामा सुधार हुन ती दलहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नुपर्छ । हाम्रोमा यस्तो परिस्थितिमा छिट्टै सुधार हुनसक्ला भन्ने अपेक्षा अहिले नै गर्न सकिँदैन । दलहरू आफ्नो निजी तथा दलगत स्वार्थमा लिप्त छन् ।

अहिले पनि त्यस्ता गतिविधि दोहोरी रहेका छन् । प्रतिपक्षले विरोध गर्नु त स्वाभाविक नै हो तर वर्तमान सरकारको त कहिलेकाहीँ गठबन्धनभित्रैबाट समेत विरोध हुने गरेको देखिन्छ । केही दिन पहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा पुस्तक विमोचन कार्यक्रममा भारतले नेपालको प्रधानमन्त्री बनाइदिन्छ र आपूmलाई पनि प्रधानमन्त्री बन्न भारतले नै सहयोग गरेको हो भन्ने आशयको जुन अभिव्यक्ति दिनुभयो त्यसलाई लिएर उहाँको चौतर्फी विरोध भयो । प्रतिपक्षी दलहरूले उहाँको राजीनामा माग गरेर संसद् अवरुद्धसमेत गरे । राजीनामा नआएसम्म कुनै हालतमा पनि संसद् चल्न नदिने उनीहरूको अडान थियो । अर्कातर्फ संसद्मा आत्मालोचना गर्नका लागि पनि संसद् चल्न त दिनैपर्छ र यसरी राजीनामालाई नै अन्तिम सर्त बनाइनु हुँदैन भनेर सत्तापक्षले तर्क राखेको थियो ।

सत्तापक्षमै भएर पनि कांग्रेसका महामन्त्रीहरूबाट प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध भयो । यसबाट सत्तामा रहेकाहरूबाट जे-जस्तो अभिव्यक्ति आउँछ त्यसको समर्थन नै गर्नुपर्छ भन्ने छैन, सहीलाई सही र गलतलाई गलत भन्नुपर्छ भन्ने मान्यता उनीहरूले लिएको देखिन आयो । प्रधानमन्त्री दाहालको पार्टीका केही नेताहरूले उहाँको त्यस्तो अभिव्यक्ति वर्तमान अवस्थालाई लिएर होइन पहिलेको स्थितिमा यस्तो हुन्थ्यो भनेर देखाउनका लागि दिइएको दृष्टान्तमात्र हो भनेर आयो, तर वास्तविकता त्यस्तो थिएन । वर्तमान सन्दर्भमै उहाँले त्यसो भन्नुभएको थियो भनेर उहाँको आल्मालोचनाबाट प्रष्ट हुन आएको छ । प्रधानमन्त्री उहाँको अभिव्यक्तिबारे प्रष्टीकरण दिन तयार हुनुभयो, प्रतिपक्षी दलहरूले पनि त्यसो गर्न दिए ।

उहाँले बेला-बेलामा आफू भावुक व्यक्ति भएको बताउने गर्नुभएको छ । संसद्मा आफ्नो प्रष्टीकरण दिँदा पनि उहाँले यस्तै केही भावुक कुराहरू बताउनुभयो । तर, सरकार गठन भएकै दिनदेखि सरकार ढल्छ भन्ने हल्ला चलाइन्छ । मनोवैज्ञानिक रूपमा फैलाइएका हल्लाले सरकार सधैं थाप्लामाथि जाँतो लिएर बाँच्न विवश हुन्छ । त्यस कारण सरकारमा बस्नेहरू आफ्नो सरकार टिकाउनेतर्फ मात्र सोच्न बाध्य बन्छन् । विकास निर्माणका कामतिर तिनको ध्यान कम मात्र जाने गर्छ । अहिले पनि सरकारको विरोध भइरहेको छ । विरोध गरिनुको कारण चाहिँ के हो ? किन विरोध भइरहेको छ ?

यसको उत्तर सरकारले राम्रो काम नगरेकाले हो वा सरकारको विरोध गरेर चर्चामा आउन हो । सरकारलाई पाइलापाइलामा विरोध गरेर असफल बनाएपछि आफू सत्तामा जान पाइन्छ भनेर पनि हुनसक्छ । कारण जे होस् हाम्रोमा सरकारमा बस्नेलाई प्रतिपक्षमा बस्नेहरूले रचनात्मक समर्थन र सहयोग गरेको पाइएको छैन । विकसित देशहरूमा कानुन कार्यान्वयनमा कडाइ हुन्छ । सरकारमा जाने चाहना त सबैको हुन्छ तर बहुमत सावित गर्न नसकेर सरकारमा जान नपाई प्रतिपक्षमै बस्न बाध्य भएका पार्टीहरूले पनि सरकारका कामलाई रचनात्मक सहयोग गरिरहेका हुन्छन् । हामी त्यस्तो अभ्यासको चरणमा पुगेका छैनौं । त्यसैले सरकार विपक्षीको विरोधको सामना कसरी गर्ने भन्ने ध्याउन्नमै हुन्छ भने प्रतिपक्षी कसरी सरकारको विरोध गर्ने भन्ने सोचाइमै तल्लीन रहन्छ ।

यसो भएपछि देश विकासका कामहरू ओझेलमा पर्छन् । अहिले भइरहेको त्यस्तै छ । सरकारका मन्त्रीहरू प्रतिरक्षात्मक अवस्थामा छन् र प्रतिपक्षलाई आफूले गरेका कामका विवरण सुनाइरहेका छन् । यसो गर्दा जनताले पनि सरकारले धेरै काम गरेको देखून् भन्ने मन्त्रीहरूको अपेक्षा हुनसक्छ । तर, प्रतिपक्षहरू भने विरोधका स्वरमाथि स्वर चढाइरहेका छन् । जनताले भने तिनको जुवारी हेरेर बस्नु परिरहेको छ । यस्तो बेलामा निर्वाचनका बेला तिनलाई मत दिनु केवल नागरिक अधिकारको उपयोग गर्नुमात्र हो, देशका लागि राजनेता चयन गर्नु होइन भन्ने देखिन आएको छ । यो नै नेपालको विडम्बना हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?