ढोलीमारा किसानको पौरख : मकै खेती छोडेर व्यावसायिक किवी

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 8 mins

पाल्पा । वर्षमा दुई सिजन मकै,गहुँ/जौं मात्र खेती हुन्थ्यो । त्यही खेती पनि बाँदरबाट बचाउन किसानलाई महाभारत । केही वर्षसम्म मकै, गहुँ/जौं खेती भए पनि बाँदर र रोगले सबै सखाप हुन्थ्यो । ओसिलो बारीमा अरु खेती केही पनि फस्टाएन । धेरै बारी त्यतिकै खेर गए । पाल्पाको पूर्वखोला गाउँपालिका –२ जल्पाको ढोलीमारा क्षेत्रका बारीमा केही वर्ष अघिसम्म यस्तै थियो । अहिले ति बारी किवी खेतीले हराभरा भएका छन् । परम्परागत प्रणालीबाट हुने खेतीबाट नाफा नहुने र लगानी अनुसारको प्रतिफल नभएपछि यहाँका कृषकले वैकल्पिक खेतीको रुपमा व्यवसायिक किवी खेती गर्न थालेका छन् ।

७ वर्षअघिसम्म बाँदरबाट मकैबारी जोगाउन मुस्किल पर्ने ढोलीमाराका बारीहरु यतिबेला किवीले हराभरा देख्न सकिन्छ । अहिले व्यवसायिक रुपमा किवी खेती गर्न थालेपछि एकातिर बाँदरबाट बाली जोगिएको छ भने अर्कोतिर किसानले सामूहिक रुपमा थालेको व्यवसायिक किवीबाट सफलता पाउन थालेका छन् । यहाँका स्थानीय मिलेर सामुहिक रुपमा २५ रोपनी क्षेत्रफलमा व्यवसायिक किवी खेती गरेका छन् । चिसो हावापानी रहेको ढोलीमाराको घोर्ले खर्कका बारीमा ५ हजार बोट किवी रहेका छन् । जहाँ लटरम्म किवी फलेको छ । यहाँका ढोलीमारा कबुलियत वन समूह र बेन्डाँडा कबुलियत वन समूहमा आवद्ध कृषकहरुले २०७३/०७४ बाट किवी खेती थालेका हुन् । यहाँका ६० घर परिवार समूहमा आवद्ध रहेका छन् । उनीहरुले सुरुमा ५/६ बोटबाट खेती सुरु गरेका थिए । त्यसबाट राम्रो उत्पादन हुन थालेपछि अहिले ५ हजार विरुवा लगाएका छन् । यहाँ ५ वर्षको लागि जग्गा भाडामा लिएर सामूूहिक खेती गरिएको छ । विस्तारै किवीले उत्पादन दिन थालेको बेण्डाँडा कबुलियत वन समूहका अध्यक्ष चित्रबहादुर कुंवरले बताउनुभयो ।

उहाँका अनुसार गत वर्ष एक क्विन्टर किवी उत्पादन भएको थियो । यहाँ एलिसन र हेवार्ड प्रजातीको किवी लगाइएको छ । किवीका लागि यहाँको जमिन र हावा पानी उपयुक्त रहेकाले उत्पादन पनि राम्रै हुनेमा विश्वास लिइएको ढोलीमारा कबुलियत वन समूहका अध्यक्ष पहलसिं घर्ती मगरले बताउनुभयो । किवी खेतीका लागि गोठको प्राङ्गारिक मल मात्र प्रयोग गरिने र अन्य रासायनीक मल तथा विषादी नहालिने भएका कारण यहाँ अग्रानिक किवी उत्पादन हुने गरेको छ । यहाँ उत्पादन किवी स्थानीय बजारमै विक्री हुने गरेको छ । प्रतिकिलो ३ सय देखि ५ सय सम्म मूल्य पर्ने गरेको जनाइएको छ ।

किवी खेतीका लागि डिभिजन वन कार्यालय पाल्पा र पूर्वखोला गाउँपालिकाले सहयोग गरेका छन् । वन कार्यालयले व्यवसायिक खेतीका लागि विरुवा सहयोग गरेको छ भने गाउँपालिकाले तार, जाली, ट्रस सहयोग गरेको छ । गाउँपालिकाले ढोलीमारालाई गत वर्ष किवी पकेट क्षेत्र समेत घोषणा गरेको थियो । केही दिन अघि डिभिजन वन कार्यालयले पत्रकारसहितको टोलीबाट किवी खेतीको अवलोकन समेत गरेको थियो । अवलोकनमा पुगेका डिभिजन वन अधिकृत नारायणदेव भट्टराईले गरे के हुन्न भन्ने उदाहरण ढोलीरामका कृषक बनेको बताउनुभयो ।

उहाँले बाँदरबाट हैरानी भएका कृषकले परम्परागत खेती छोडेर व्यवसायिक किवीतर्फ लागेर आयआर्जजनको माध्यम बनाएको बताउनुभयो । ‘हामीले व्यवसायिक रुपमा किवी खेती गर्न चाहानेहरुलाई आवश्यक परेमा विरुवा उपलब्ध गराउने छौं’ अधिकृत भट्टराईले भन्नुभयो । कृषकलाई विरुवा र रोप्नका लागि मल वनले सहयोग गरेको उहाँले बताउनुभयो ।

ढोलीमारा किवीको लागि उपयुक्त रहेकाले व्यवसायिक रुपमा लाग्न यहाँका कृषकहरुलाई आग्रह गरेकोमा सोही अनुसार काम भएकोमा डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले खुसी व्यक्त गर्नुभयो । उहाँले परम्परागत मकै खेती गर्दै आएका बारीमा किवी लगाएर कृषकले आर्यआर्जन गर्न थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विपन्न घर परिवारको लागि कबुलियती वन गतिलो आयआर्जनको माध्यम बन्ने गरेको छ ।’ पोखरेलले भन्नुभयो, ‘आर्थिक समृद्धिका लागि व्यवसायिक किवी खेतीले महत्वपूर्ण टेवा पुग्नेछ ।’ किवी र कबुलियति वन कार्यक्रमले यस क्षेत्रका स्थानीयको जीवनशैलीमा समेत सुधार आएको उहाँले बताउनुभयो । यहाँका कृषकले किवी खेतीसँगै घुसुवा खेती पनि लगाउँदै आएका छन् । उनीहरुले मौसम अनुसार खुर्सानी, टमाटर, बण्डा, गोपी लगायतका तरकारी समेत लगाउने गरेका छन् । यस खेतीबाट भएको आम्दानी जग्गाको भाडामा खर्च गर्ने गरेका छन् ।

किवीलाई बहुउपयोगी फल मानिन्छ । किवीका विभिन्न ७६ प्रजाति छन् । एक हजार २ सय फिटदेखि माथिको उचाइमा यसको खेती हुने गर्दछ । यसको बजार मूल्य प्रतिकिलो ५ सयदेखि १२ सय रुपैयाँसम्म पर्छ । विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किवीको विरुवा पुस महिनामा रोपिन्छ । यसको फल कात्तिकदेखि मंसिर महिनासम्म पाक्छ । रोपेको ३ वर्षबाट उत्पादन दिन सुरु गर्ने सो बिरुवाले लगातार ५० वर्षम्म राम्रो उत्पादन दिने बताइएको छ ।

चीनबाट उत्पादन सुरु भएको किवीको अहिले विश्वका विभिन्न देशमा व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । किवीमा सुन्तलामा भन्दा बढी भिटामीन ‘सी’ र केरामा भन्दा पनि बढी भिटामीन ‘ई’ पाइन्छ । किबी निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग विश्वभर बढेको छ । किवी नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पूर्ति गर्ने अधिक्तम रुपमा खनिज तत्व पाइन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?