गौरिकासहित चार खेलाडीले वल्र्ड च्याम्पियनसिप खेल्ने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । जापानको फुकुओका शहरमा आयोजना हुने वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डासहित बिदाइ गर्नुभयो ।

ओलम्पिकको छनोट प्रतियोगितासमेत रहेको च्याम्पियनसिपमा गौरिका सिंह, एलेक्जेण्डर गादेगाद शाह, डुवाना लामा र नासिर याहृया हुसेनले प्रतिस्पर्धा गर्नुहुनेछ । नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यको नेतृत्वमा जापान जाने टोलीको टिम प्रशिक्षकमा ओलम्पियन नयना शाक्य, टिम व्यवस्थापकमा नरेश वैद्य र अफिसियलमा सञ्जय शाह रहनुभएको छ ।

अध्यक्ष अशोक बज्राचार्यले साउन ७ देखि १३ गते (जुलाई २३ देखि २९ तारिख २०२३) सम्म आयोजना हुने च्याम्पियनसिपका दौरान हुने वल्र्ड एक्वाटिक कंग्रेसमा सहभागिता जनाउनुहुनेछ ।

यस्तै, उक्त च्याम्पियनसिपमा २३ तारिख नासिरले ४०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ भने २४ मा गौरिकाले १०० मिटर ब्याकस्ट्रोक र नासिरले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

२५ तारिख डुवानाले २०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ । २६ तारिख गौरिकाले ५० मिटर ब्याकस्ट्रोक र एलेक्जेण्डरले १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ । २७ तारिख डुवानाले १०० मिटर फ्रिस्टायलमा र २८ तारिख एलेक्जेण्डरले ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

सदस्य-सचिव घिसिङले टिमलाई राष्ट्रिय झण्डा प्रदान गर्दै खेलाडीहरूलाई उच्चस्तरको प्रदर्शनका साथ ओलम्पिकमा छनोट हुन सफलताको शुभकामना प्रदान गर्नुभयो । टोली बुधबार जापानतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?