प्राणी : च्याङ्ग्रो

विनोद दाहाल वत्स
Read Time = 3 mins

म च्याङ्ग्रो हुँ । म हिमाली क्षेत्रमा मात्र बस्न सक्छु । वास्तवमा म चिसो ठाउँमा बस्ने एक प्रकारको बाख्रो नै हुँ । मलाई अंग्रेजीमा पनि अर्को कुनै छुट्टै शब्द दिइएको छैन र हिमाली बाख्रो (Mountain Goat) नै भन्ने गरिन्छ । म शुद्ध शाकाहारी प्राणी हुँ । म घाँसपात र अन्न खान्छु ।

म घरपालुवा प्राणी हुँ । मेरा वर्गका केही प्रजातिहरू अहिलेसम्म पनि जंगली अवस्थामै छन् । तर, म हजारौं वर्षदेखि नै मानिसको पाल्तु साथी हुँदै आइरहेको छु । मैले मानिसलाई धेरै सहयोग गरिरहेको छु । म दूध दिन्छु । मेरो दूध निकै पोषिलो हुन्छ । मानिसले मलाई मासुका लागि पनि प्रयोग गर्छन् । प्रत्येक दशैँमा चीनको तिब्बत र नेपालको हिमाली क्षेत्रबाट नेपालको राजधानी काठमाडौंमा ल्याएर हामीलाई नेपाल सरकारले बेच्ने गरेको छ । यसरी हामी मानिसको आवश्यकता परिपूर्तिको वस्तु बन्दै आइरहेका छौं ।

म मासिका लागि ऊन पनि दिन्छु । मेरा शरीरमा भेडाका जस्ता लामा लामा रौं हुन्छन् र ती राडीपाखीलगायत विभिन्न सामग्री निर्माणमा काम लाग्छन् । म नुन, तेल, खाद्यान्न आदि बोकेर पनि मानिसलाई सहयोग पुर्‍याइरहेको छु ।

म स्तनपायी प्राणी हुँ । म बच्चा जन्माउँछु र त्यसलाई दूध चुसाउँछु । मेरो पोथीले गर्भाधारणको छ महिनापछि एक वा दुईवटा बच्चा जन्माउँछ । मेरा बच्चालाई पाठापाठी भनिन्छ । मेरा दुईवटा थुन हुन्छन् । स्थानीय जातको बाख्रोभन्दा म अलिक ठूलो हुन्छु । म सामान्यतया बीस वर्षसम्म बाँच्छु ।

यसरी मैले मानिसको सहयोगी भएर लामो समयदेखि उनीहरूलाई प्रत्यक्ष सहयोग पु¥याइरहेको छु । म अझै पनि उनीहरूलाई लामो समयसम्म फाइदा दिइरहनेछु ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?